हंगेरीमा भिक्टर ओर्बानको पराजय, पपुलिजमको छोटो आयुको संकेत ?

126
Shares


एजेन्सी । भिक्टर ओर्बानको हारको अर्थ हो, हंगेरीमा सन् २०१० पछि पहिलोपटक सरकार परिवर्तन हुनेछ ।

सर्वेक्षणहरूले विपक्षी तिस्जा पार्टीको निर्णायक जीत हुने संकेत गरेका थिए तर यसका धेरै समर्थकहरूले जीतको अनुभूति कस्तो होला भनेर कल्पना समेत गर्न डराइरहेका थिए । ओर्बानको अनुदारवादी फिडेज पार्टीले १६ वर्षसम्म शासन गरेपछि, चुनावी मैदान विपक्षीहरूको विरुद्धमा यति धेरै ढल्केको थियो कि कतिपयले विकल्प सम्भव छ कि छैन भनेर प्रश्न समेत उठाएका थिए ।

त्यसैले ओर्बानले आफ्ना प्रतिद्वन्द्वी पिटर मग्यारसँग हार स्वीकार गरेपछि केही मानिसहरूलाई यो शासन परिवर्तन जस्तै महसुस भयो । यस अनुभूतिले आफूलाई सोभियत संघको पतनको समयमा बुडापेस्टमा भएको सम्झना गराएको लेखक तथा कवि आन्द्रास पेटोजले बताए ।

‘कम्युनिस्ट शासन समाप्त हुँदा म ३० वर्षको थिएँ । यो ठ्याक्कै उस्तै अनुभूति हो, उस्तै,’ उनले ड्यान्युब नदीको किनारबाट सीएनएनलाई भने । त्यहाँ हजारौं फिडेज समर्थकहरू चुनावी नतिजा सुन्न भेला भएका थिए ।

नवनियुक्त प्रधानमन्त्री मग्यारले भीडलाई सम्बोधन गर्दै भने, ‘हामीले मिलेर ओर्बान शासनलाई विस्थापित गर्यौं । हामीले मिलेर हंगेरीलाई मुक्त गर्याैं । हामीले हाम्रो देश फिर्ता लियौं ।’

संसदमा तिस्जाको बहुमतको आकारदेखि लिएर फिडेजले बनाएको प्रणालीलाई कसरी भत्काउन सुरु गर्नेछन् भन्ने जस्ता धेरै कुराहरू अझै स्पष्ट हुन बाँकी भए पनि ओर्बानको हारले पपुलिजम (लोकप्रियतावाद) को अन्त्य देखाएको छ । उनको हारले उनी जस्तै बन्न चाहनेहरू र उनको बहिर्गमनमा खुसी हुनेहरू दुवैका लागि पाठ सिकाएको छ ।

पहिलो पाठ यो हो कि राष्ट्रवादलाई अन्तर्राष्ट्रियकरण गर्न गाह्रो हुन्छ । राष्ट्रिय सार्वभौमसत्ताको हिमायतीका रूपमा लामो समय शासन गरे पनि युरोपेली संघ र उदारवादी विचारधाराको कथित खतराबाट हंगेरीको रक्षा गर्ने वाचा गर्दै अन्ततः ओर्बानको चुनावी अभियान अमेरिका र रुसका आफ्ना शक्तिशाली अन्तर्राष्ट्रिय समर्थकहरूको सहयोगमा धेरै निर्भर थियो ।

ट्रम्प प्रशासनको युरोपस्थित सबैभन्दा नजिकको सहयोगीलाई मद्दत गर्न गत हप्ता बुडापेस्ट पठाइएका उपराष्ट्रपति जेडी भ्यान्सले ओर्बानलाई ‘म जे जति सक्छु, त्यति सहयोग गर्न तयार छु’ भनेका थिए । राष्ट्रपति डोनल्ड ट्रम्प अझ अगाडि बढे । ‘बाहिर निस्कनुहोस् र भिक्टर ओर्बानलाई भोट दिनुहोस्,’ उनले ट्रुथ सोसलमा लेखे । ‘उनी एक साँचो मित्र, लडाकु र विजेता हुन् ।’

ट्रम्प प्रशासनको यो प्रयासले काम गरेन । यद्यपि केही हंगेरियनहरू, जो मंगलबार भ्यान्सको भाषण सुन्न बुडापेस्टको एउटा हलमा खचाखच भरिएका थिए, महाशक्तिको ध्यान आकर्षित भएकोमा पक्कै पनि गौरवान्वित थिए । तर, विदेशी शक्तिको आग्रहमा मानिसहरूले राष्ट्रवादी राजनीतिकर्मीलाई भोट दिनेछन् भनेर सोच्नु आफैंमा विरोधाभासपूर्ण कुरा हो ।

ओर्बानको हार अगाडि सन् १९९० को दशकदेखि नै ओर्बानलाई चिन्ने बुल्गेरियाली राजनीतिक वैज्ञानिक इभान क्रास्तेभले सीएनएनलाई भने, ‘विडम्बना के हो भने उनी हार्दैछन् भने उनी एक भूमण्डलीकरणवादी झैं हार्नेछन् ।’

विदेशमा रहेका आफ्ना शक्तिशाली साथीहरूलाई गुहार माग्नु ओर्बानका लागि एक कट्टर अन्तर्राष्ट्रिय राजनीतिक नेताले गर्ने जस्तै काम थियो ।

ओर्बानको चुनावी अभियानले वैदेशिक नीतिमा यति धेरै जोड दिनुको एउटा कारण उनको घरेलु रेकर्ड अत्यन्तै खराब हुनु थियो । यो उनको हारको अर्को पाठ होः पपुलिजम भनेको केवल आजको दिन, हप्ता वा समाचारको चक्र जित्नु मात्र हो ।

काम गर्नका लागि यो एकपछि अर्को लडाइँ गर्ने शासन शैलीलाई शत्रुहरूको निरन्तर आपूर्ति चाहिन्छ । ओर्बानले धेरै शत्रुहरू भेट्टाएः एनजीओहरू, उदारवादी विश्वविद्यालयहरू, जर्ज सोरोस, एलजीबीटीक्यू आन्दोलन र युरोपेली संघ ।

तर, अन्ततः तपाईंसँग लड्नका लागि शत्रुहरू सकिन्छन् । ओर्बानको चुनावी अभियानको ठूलो हिस्साले छिमेकी युक्रेनलाई बदनाम गरेको थियो । बुडापेस्टका भित्ताहरू युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका पोस्टरहरूले भरिएका छन् । कसैमा ‘खतरा !’ लेखिएको छ भने कसैमा ‘उनलाई अन्तिम हाँसो हाँस्न नदिनुहोस्’ लेखिएको छ ।

फस्टाउँदो अर्थतन्त्र, राम्रो स्वास्थ्य सेवा प्रणाली वा अन्य नीतिगत उपलब्धिहरू देखाउन नसक्दा ओर्बानको अभियानले युक्रेनबाट हुन सक्ने कथित खतराहरूबाट हंगेरीलाई जोगाउन आफूलाई सुरक्षित विकल्पका रूपमा प्रस्तुत गर्दै हंगेरियनहरूलाई डराएर भोट माग्ने लक्ष्य राखेको थियो ।

‘उनी सधैं सार्वभौमसत्ताको कुरा गर्छन् तर हंगेरीको सार्वभौमसत्ताका लागि युक्रेन प्रमुख खतरा हो भन्ने कुरा पत्याउनु अब हास्यास्पद भइसकेको थियो,’ क्रास्तेभले भने ।

ओर्बानका अस्पष्ट चेतावनीहरूको सामना गर्न मग्यारले केवल उनको घरेलु रेकर्डतर्फ औंल्याए पुग्थ्यो जसबाट हंगेरियनहरू पटक्कै प्रभावित थिएनन् ।

पपुलिस्टहरूलाई हराउन चाहनेहरूका लागि पनि ओर्बानको हारले पाठ सिकाउँछ । उनको भारी जीतका बाबजुद धेरै वामपन्थी र उदारवादी हंगेरियनहरू मग्यारसँग पूर्ण रूपमा सन्तुष्ट छैनन् किनकि उनी कुनै समय फिडेजकै भित्री सदस्य थिए र अझै पनि गहिरो रूपमा रूढिवादी छन् ।

तैपनि, हंगेरियनहरू मग्यारको पक्षमा गोलबद्ध भए र ओर्बानलाई हराउनका लागि सबैभन्दा उत्तम विकल्पको रूपमा उनलाई सही ढंगले मूल्यांकन गरे ।

बुडापेस्टको पोलिटिकल क्यापिटल नामक थिंक–ट्यांक चलाउने राजनीतिक वैज्ञानिक पिटर क्रेकोले सीएनएनलाई बताए अनुसार, हंगेरीका उदारवादी मतदाताहरूले उत्तमको खोजीमा राम्रो अवसरलाई गुमाउन चाहेनन् (अर्थात् मग्यार पूर्ण रूपमा मन नपरे पनि ओर्बानलाई हटाउन उनलाई साथ दिए) ।

हंगेरीको संसद् अगाडि विजय भाषण दिँदै मग्यारले आफ्ना समर्थकहरूलाई आगामी चुनौतीहरूका बारेमा आफू प्रस्ट रहेको बताए । उनले ओर्बानलाई कार्यवाहकको रूपमा काम गर्न र नयाँ सरकारको काममा अवरोध नगर्न आग्रह गरे ।

तर, उनका समर्थकहरूका लागि तिस्जाले ओर्बानको मोडललाई भत्काउन र प्रभावकारी रूपमा शासन गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न अर्को रातका लागि छोडिदिएका छन् ।

‘हंगेरी अनुदारवाद, सत्यको अपव्याख्या र तानाशाहीको मोडलबाट लोकतान्त्रिक परिवर्तनको मोडलमा परिणत भयो भने यो पश्चिमी विश्वका लागि एक सुखद मोड हुनेछ,’ क्रेकोले भने । अब के हुन्छ, त्यो समयले बताउनेछ ।