टर्कीका राष्ट्रपतिले दिए इजरायलमाथि आक्रमण गर्ने चेतावनी

0
Shares

एजेन्सी । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले इजरायलमाथि आक्रमण गर्ने धम्की दिएका छन् । यसले दुई देशबीचको वाकयुद्धलाई नाटकीय रूपमा बढाएको छ ।

अर्कोतर्फ, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले टर्कीमाथि आफ्नै नागरिकको नरसंहार गरेको आरोप लगाएका छन् ।
शनिबार एक राजनीतिक कार्यक्रममा एर्दोआनले भने, ‘अमेरिका र इरानबीचको युद्धमा पाकिस्तानले मध्यस्थता नगरेको भए हामीले इजरायललाई उसको हैसियत देखाइदिने थियौं ।’ उनले नेतन्याहू ‘रगत र घृणाले अन्धो भएको’ आरोप पनि लगाए ।

एर्दोआनले टिप्पणी गरे, ‘जसरी हामी लिबिया र काराबाखमा प्रवेश गर्याैं त्यसरी नै हामी इजरायलमा पनि प्रवेश गर्न सक्छौं ।’
उनको यो टिप्पणी यस्तो समयमा आएको हो जब रिपोर्टहरूका अनुसार टर्कीले अक्टोबर २०२५ को सुमुद गाजा फ्लटिला (जहाजको लस्कर) लाई समुद्री अवरोध गरेकोमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अन्य ३५ इजरायली अधिकारीहरू विरुद्ध शुक्रबार अभियोग दर्ता गरेको छ र सजाय स्वरूप ४५ सय ९६ वर्षसम्मको जेल सजाय माग गरेको छ ।

नेतन्याहूले टर्कीमाथि प्रहार गर्दै इजरायलले इरानको आतंककारी शासन र त्यसका प्रोक्सीहरू (सहयोगी समूह) विरुद्ध लडाइँ जारी राख्नेछ भने । ‘हामी एर्दोआन जस्ता होइनौं जसले तिनीहरूलाई आश्रय दिन्छन् र आफ्नै कुर्दिश नागरिकहरूको नरसंहार गर्छन् ।’

इजरायली रक्षामन्त्री इजरायल काट्जले पनि टर्कीमाथि यहूदी विरोधी भएको र इजरायली राजनीतिक तथा सैन्य नेतृत्व विरुद्ध नक्कली मुद्दा चलाएको आरोप लगाए ।

एर्दोआन विरुद्ध नेतन्याहूले गरेको टिप्पणीको जवाफमा टर्कीको परराष्ट्र मन्त्रालयले इजरायली प्रधानमन्त्रीलाई ‘हाम्रो समयको हिटलर’ को रूपमा वर्णन गरेको छ र उनको उद्देश्य इरान र अमेरिकाबीच भइरहेको शान्ति वार्तालाई बिथोल्नु रहेको बताएको छ ।

‘हाम्रो समयको हिटलर भनेर चिनिने नेतन्याहू यस्ता व्यक्तित्व हुन् जसको पहिचान र रेकर्ड सबैलाई थाहा छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युद्ध अपराध र मानवता विरुद्धको अपराधका लागि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
नेतन्याहूको नेतृत्वमा इजरायलमाथि अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) मा नरसंहारको आरोपमा मुद्दा चलिरहेको छ, मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

सत्ताधारी इस्लामिक जस्टिस एन्ड डेभलपमेन्ट पार्टीका प्रवक्ता ओमर सेलिकले इजरायलको टिप्पणीको उद्देश्य पाकिस्तानमा भइरहेको शान्ति वार्तालाई बिथोल्नु, कुर्दिश अल्पसंख्यकहरूबीच अशान्ति फैलाउनु र टर्कीलाई इरान विरुद्ध खडा गर्नु रहेको बताए । टर्कीको संसद्का सभामुख नुमान कुर्तुल्मुसले नेतन्याहूलाई २१औं शताब्दीको नरसंहार र आतंककारी संयन्त्रको मुख्य नाइके भनेका छन् ।

कुर्तुल्मुसले टिप्पणी गरे, ‘जसको हात बालबालिकाको रगतले लतपतिएको छ र जसलाई अन्तर्राष्ट्रिय कानुनले पछ्याइरहेको छ, त्यस्तो व्यक्तिले टर्कीलाई नैतिकताको पाठ सिकाउने धृष्टता गर्नु केवल मानवता विरुद्धको आफ्नै अपराध लुकाउने प्रयासको संकेत हो र यसको कुनै पनि वैधता छैन ।’

टर्कीका सञ्चार प्रमुख बुर्हानेट्टिन दुरानले नेतन्याहू पक्राउ पुर्जी जारी भएका र कुनै मित्र नभएका अपराधी भएको बताए । उनले भने, ‘आफ्नो राजनीतिक अस्तित्व बचाउने रणनीतिका रूपमा उनले यस क्षेत्रलाई अराजकता र द्वन्द्वतर्फ धकेलिरहेका छन् । कसैलाई अर्ती दिने उनीसँग कुनै नैतिक मूल्य र वैधानिकता छैन भन्ने कुरा सबैलाई थाहा छ ।’