
एजेन्सी । भारतीय चलचित्र संगीतकी प्रख्यात गायिका आशा भोसलेको आइतबार ब्रीच क्यान्डी अस्पतालमा निधन भएको छ ।
९२ वर्षीया भोसलेले आफ्नो ८० वर्ष लामो सांगीतिक यात्रामा सम्पूर्ण राष्ट्र र विश्वभरका प्रशंसकहरूको मन जितेकी थिइन् ।
मुटु र श्वासप्रश्वास सम्बन्धी समस्याका कारण शरीरका विभिन्न अंगहरूले काम गर्न छाडेपछि भोसलेलाई शनिबार अस्पताल भर्ना गरिएको थियो ।
सन् १९३३ सेप्टेम्बर ८ मा सांगलीमा जन्मिएकी आशा भोसले पण्डित दीनानाथ मंगेशकरकी तेस्रो छोरी थिइन् । उनले सन् १९४३ मा १० वर्षको उमेरमा माझा बाल चलचित्रका लागि आफ्नो पहिलो गीत चला चला नव बाला गाएकी थिइन् ।
सन् १९४८ मा रिलिज भएका सावन आया (चुनरिया) र अन्धों की दुनिया का गीतहरू उनका सुरुवाती कोरस हिन्दी चलचित्रका गीतहरू थिए । उनको पहिलो एकल हिन्दी चलचित्रको गीत सन् १९४९ को रातकी रानीको लागि थियो ।
संगीतकार ओ.पी. नय्यरसँग आशाको ऐतिहासिक साङ्गीतिक सहकार्य सन् १९५७ को नयाँ दौरबाट सुरु भएको थियो। नय्यरसँग उनको अन्तिम गीत चैन से हमको कभी आपने जीने ना दिया (प्राण जाए पर वचन ना जाए, १९७४) थियो । यस गीतले उनलाई फिल्मफेयर अवार्ड दिलाएको थियो, यद्यपि यो गीत चलचित्रमा कहिल्यै समावेश गरिएको थिएन ।
संगीत निर्देशक आरडी बर्मनसँगको उनको साझेदारी पछि विवाहमा परिणत भएको थियो । सन् १९६६ को तीसरी मञ्जिलबाट यो सम्बन्ध अझै झांगिएको थियो ।
आशाले एकपटक रमाइलो घटना सम्झिएकी थिइन् । उनी आफ्नो कारको पछाडि बसेर आ आ आजा ! गीतको कठिन धुन रियाज गर्दै थिइन् । तब उनको आवाज सुनेर आत्तिएका चालकले उनी बिरामी त छैनन् भनेर सोध्न पछाडि फर्केका थिए !
आरडी बर्मन र गुलजारसँगको उनको सहकार्यले खुशबू, इजाजत, नमकिन, खूबसूरत र दिल पडोसी है जस्ता चलचित्र र गैर–चलचित्रका क्लासिक गीतहरू सिर्जना गर्यो ।
आशा भोसलेले सन् १९८१ मा खय्यामको सर्वोत्कृष्ट कृति उमराव जान को दिल चीज क्या है गीतका लागि आफ्नो पहिलो राष्ट्रिय पुरस्कार जितेकी थिइन् । उनले सन् १९८६ को इजाजत चलचित्रको मेरा कुछ सामान गीतका लागि दोस्रो राष्ट्रिय पुरस्कार प्राप्त गरिन् ।
बोय जर्ज, माइकल स्टाइप, क्रोनोस क्वार्टेट, नेली फर्टाडो र कोड रेड जस्ता अन्तर्राष्ट्रिय कलाकारहरूसँगको उनको सहकार्य सन् १९८० को दशकमा वेस्ट इन्डिया कम्पनी नामक समूहबाट सुरु भएको थियो ।
सन् १९९७ मा बेलायती ब्यान्ड कर्नरशपले ब्रिमफुल अफ आशा गीत मार्फत उनलाई श्रद्धाञ्जली अर्पण गरेको थियो । सन् २००५ मा ब्ल्याक–आइड पिजको हिट गीत डन्ट फंक विथ माइ हार्ट आशाका दुईवटा गीतहरूबाट लिइएको थियो ।
सन् १९९७ मा उनी ग्रामी अवार्डका लागि मनोनयन हुने पहिलो भारतीय गायिका बनिन् । उनलाई सन् २००१ मा दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित गरिएको थियो ।
सन् २०११ मा गिनिज वर्ल्ड रेकड्र्सले आशा भोसलेलाई संगीतको इतिहासमा सबैभन्दा धेरै गीत रेकर्ड गर्ने कलाकारको रूपमा मान्यता दियो । त्यसमा विभिन्न भाषाहरूमा गाइएका एकल, युगल र कोरस गरी ११ हजार गीतहरू समावेश छन् । उनका नेपाली गीतहरू पहाडको माथि माथि, तिम्रो आँखाको सागरमा, तिम्रो मनमा लुकेको कुरा, गैह्री खेतको सिरै हान्यो लगायत लोकप्रिय छन् ।
उमेरले उनलाई आफ्नो प्रतिभाका विभिन्न पक्षहरूमा प्रयोग गर्नबाट रोकेन। सन् २००२ मा आशाले एक मौलिक एल्बम आपकी आशाका लागि संगीत सिर्जना गरिन् । सन् २०१३ मा ७९ वर्षको उमेरमा उनले मराठी चलचित्र माईबाट अभिनेत्रीको रूपमा क्यामेरा अगाडि पाइला टेकिन् जसमा उनकी भतिजी पद्मिनी कोल्हापुरे सह–कलाकार थिइन् ।
आशा भोसले चलचित्र उद्योगमा एक उत्कृष्ट भान्सेको रूपमा पनि प्रसिद्ध थिइन् । उनका साथी र सहकर्मीहरू उनको निम्तोको प्रतीक्षा गर्थे, विशेषगरी जब मेनुमा मांसाहारी परिकारहरू हुन्थे ।
सन् २००२ मा, यही सोखले गर्दा उनले आशाज रेस्टुरेन्ट चेनको स्थापना गरिन् जसले हाल यूएई (दुबई, अबु धाबी), बहराइन, कुवेत, कतार र बेलायत (बर्मिंघम र म्यानचेस्टर) गरी पाँच देशका १४ स्थानहरूमा सेवा प्रदान गर्दै आएको छ । उक्त मेनुमा उनका व्यक्तिगत मनपर्ने परिकारहरू, विशेष गरी मुम्बईका स्ट्रिट फुड, हरू समावेश छन् ।








प्रतिक्रिया