बिचौलियामाथि धरपकड गरेको विरोधमा लेखापढी व्यवसायीले सुरू गरे हड्ताल

0
Shares

वीरगञ्ज । सरकारी कार्यालयहरूमा बिचौलियामाथि भइरहेको कारबाहीको विरोध गर्दै पर्साका लेखापढी व्यवसायीहरूले जिल्लाभर अनिश्चितकालीन हड्ताल सुरु गरेका छन्।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा आजदेखि मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालयसँग सम्बन्धित सेवा प्रदान गर्दै आएका लेखापढी व्यवसायीहरूले सम्पूर्ण कामकाज ठप्प पारेका हुन्।

एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले पछिल्लो समय बिचौलियाको आरोपमा भइरहेको पक्राउ तथा कारबाहीप्रति असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरिएको जानकारी दिए । विशेषगरी पोखरिया मालपोत कार्यालयबाट तीन जना पक्राउ परेपछि व्यवसायीहरू थप आक्रोशित बनेका छन् ।

उनीहरूले कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनमा रहेका भू–सेवा केन्द्र तथा लेखापढी व्यवसायीमाथि अन्यायपूर्ण ढंगले कारबाही गरिएको आरोप लगाएका छन्। पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै व्यवसायीहरूले सरकार र प्रहरी प्रशासनको कदमप्रति कडा विरोध जनाएका छन्।

एसोसिएसनका अनुसार पर्सा जिल्लामा हाल १२१ वटा भू–सेवा केन्द्र र ४ सयभन्दा बढी लेखापढी व्यवसायी सक्रिय छन्। हड्तालका कारण सेवाग्राहीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने सरकारी कार्यालयहरूको कामकाजसमेत प्रभावित बनेको छ।