‘बले’ बलात्कार आरोपमा पक्राउ परेका होइनन्, अभद्रमा अनुसन्धान भइरहेको छ: प्रहरी

497
Shares

काठमाडौं । प्रहरीले कलाकार सागर लम्साल ‘बले’लाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

उनमाथि सामाजिक सञ्जालमा बलात्कारको आरोपमा पक्राउ गरिएको भन्दै फैलाइएको हल्लालाई प्रहरीले पूर्ण रूपमा अस्वीकार गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार जारी गरेको विज्ञप्तिमा लम्साललाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखिएको उल्लेख गरिएको छ।

प्रहरीले सामाजिक सञ्जाल तथा केही माध्यमबाट फैलाइएका अप्रमाणित र भ्रामक सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्ता हल्ला नफैलाउन आग्रह गरेको छ।

प्रहरीका अनुसार लम्सालविरुद्ध अभद्र व्यवहारसम्बन्धी उजुरीका आधारमा मात्रै अनुसन्धान भइरहेको हो। प्रवक्ता पवनकुमार भट्टराईले बलात्कारसम्बन्धी कुनै पनि उजुरी दर्ता नभएको स्पष्ट पारेका छन्।

घटनाको विस्तृत विवरण हाल सार्वजनिक नगरिएको र अनुसन्धान जारी रहेकाले आधिकारिक स्रोतबाट आउने सूचनामात्र विश्वास गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।