फागुनको तथ्यांक भन्छः महँगी बढ्यो, तर अझै देखिएन पश्चिम एसिया युद्धको असर

77
Shares

काठमाडौं । पश्चिम एसियामा भएको युद्धका कारण इन्धन आपूर्तिमा देखिएको अवरोधसँगै महँगी बढ्न थालेको छ । २०८२ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत पुगेको हो ।

माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत रहेकामा फागुनमा बढेको हो । अमेरिका र इजरायलले फागुनको मध्यबाट इरानमा संयुक्त आक्रमण सुरु गरेका थिए । इरानले त्यसको प्रतिकार स्वरूप पेट्रोलियम पदार्थ आपूर्ति हुने प्रमुख मार्ग हर्मुजमा आक्रमण सुरु गर्‍यो भने मध्यपूर्वका देशहरू पनि युद्धको चपेटामा परेका छन्।

जसले गर्दा इन्धन अभाव बढ्दै गएको छ भने मूल्यसमेत बढेर अन्तर्राष्ट्रिय व्यापार र सप्लाई चेनमा समेत असर पर्दै गएको छ । इन्धनको मूल्य बढ्दा ढुवानी लागतदेखि सम्पूर्ण लागत बढ्ने हुँदा मूल्यमा चाप पर्न जान्छ । पश्चिम एसियाको उक्त युद्धको प्रभाव फागुनसम्म मूल्यवृद्धिमा ठूलो देखिएको छैन । तर, युद्ध लम्बिँदै जाँदा बढेको इन्धनको मूल्य र विभिन्न कच्चा पदार्थको आपूर्तिमा परेको प्रभाव औद्योगिक उत्पादन र उपभोग्य वस्तुमा पनि पर्दै गएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत थियो । गत वर्षको फागुनको तुलनामा महँगी दर केही कम भए तापनि यही माघको तुलनामा बढेको हो । कात्तिकमा १.११ प्रतिशत रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पुसमा २.४२ प्रतिशत थियो । माघ र फागुनमा थप बढेको देखिन्छ । माघमा १०६.५० रहेको उपभोक्ता मूल्य सूचकांक फागुनमा बढेर १०६.९६ पुगेको छ । यसले महँगी दर उचालिँदै गएको देखाउँछ ।

फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत थियो ।

आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको औसत मुद्रास्फीति २.१३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.७२ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा मुद्रास्फीति ५ प्रतिशतभित्र राख्ने लक्ष्य राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लिएको थियो । फागुनसम्म मुद्रास्फीतिमा चाप नदेखिए तापनि पश्चिम एसियामा सुरु भएको युद्धले पर्ने प्रभावका कारण भने मुद्रास्फीति लक्षित सीमाभित्र राख्न चुनौतीपूर्ण देखिएको छ ।

फागुनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.४९ प्रतिशत, घिउ तथा तेलको ९.८६ प्रतिशत र फलफूलको ९.६३ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.१८ प्रतिशत र मरमसलाको २.०३ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २२.८१ प्रतिशत, शिक्षाको ७.४६ प्रतिशत, मदिराजन्य पेय पदार्थको ४.७७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.७३ प्रतिशत र सुर्तीजन्य पदार्थको ३.५७ प्रतिशतले बढेको छ । बिमा तथा वित्तीय सेवाहरू उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.०३ प्रतिशतले घटेको छ ।

फागुनमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.०६ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.८२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९६ प्रतिशत, मधेश प्रदेशको ४.९५ प्रतिशत, बागमती प्रदेशको ३.३१ प्रतिशत, गण्डकी प्रदेशको २.८७ प्रतिशत, लुम्बिनी प्रदेशको ४.२१ प्रतिशत, कर्णाली प्रदेशको २.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको २.२५ प्रतिशत छ ।

यस्तै काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६४ प्रतिशत, तराईको ४.११ प्रतिशत, पहाडको ३.११ प्रतिशत र हिमालको २.८३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

२०८२ फागुनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.६४ प्रतिशत छ । २०८१ फागुनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.४३ प्रतिशत थियो । उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.४४ प्रतिशतले ऋणात्मक रहेको राष्ट्र बैंकले जनाएको छ ।

मध्यवर्ती वस्तु ८.५४ र पुँजीगत वस्तुको फागुनमा निर्माण सामग्रीको थोक मूल्य सूचकांक ०.२१ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । फागुनमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत हुँदा भारतको सन् २०२६ फेब्रुअरीको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।