
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती प्रशासनभित्र गठन भएका कुनै पनि समूह, अभियान वा युनियन जस्ता संयन्त्रसँग पार्टीको कुनै सम्बन्ध वा समर्थन नरहेको प्रष्ट पारेको छ ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै रास्वपा र नेतृत्वको नाम जोडेर कसैले आफ्नो स्वार्थ सिद्ध गर्न खोजेको भए त्यस्तो भ्रममा नपर्न कर्मचारी र सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘निजामती प्रशासनभित्र गठन भएका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि प्रकारको आबद्धता, समर्थन वा संलग्नता नरहेको र कसैले हाम्रो पार्टी र नेतृत्वको नाम जोडेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेको भए त्यस्ता भ्रममा नपर्न हामी आम कर्मचारी र सरोकारवालाहरूमा हार्दिक अपिल गर्दछौं ।’
रास्वपाले स्थापनाकालदेखि नै सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्ने मान्यता राख्दै आएको स्मरण गराएको छ । प
छिल्लो समय निजामती सेवाभित्र विभिन्न नामका समूह वा अभियानहरू सञ्चालन गर्ने र त्यस्ता गतिविधिमा पार्टीको नाम जोडेर भ्रम सिर्जना भइरहेको सूचना आएपछि रास्वपाले यस्तो स्पष्टीकरण दिएको हो ।
कर्मचारीको एक मात्र धर्म ‘जनसेवा’ र पहिचान ‘व्यावसायिकता’ हुनुपर्नेमा जोड दिँदै विज्ञप्तिमा लेखिएको छ, ‘कुनै पनि राजनीतिक दलको ओत लाग्ने वा शक्ति केन्द्रको नाममा प्रशासनिक संयन्त्रलाई प्रभाव पार्ने कार्य हाम्रो आदर्श र नीतिको विपरित छ ।’
रास्वपाले निजामती सेवालाई ‘मेरिटोक्रेसी’ (योग्यता प्रणाली) का आधारमा चलाउनुपर्ने र कर्मचारीहरू राज्य र जनताप्रति मात्र उत्तरदायी हुनुपर्ने अडान दोहोर्याएको छ । विगतको जस्तो प्रशासनलाई थर्काउने, डर वा त्रास सिर्जना गर्ने वा दलीय आडमा काम गर्ने संस्कृतिको अन्त्य हुनुपर्ने भन्दै रास्वपाले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई पूर्ण तटस्थ र निष्पक्ष भई जनताको सेवामा समर्पित हुन अपिल गरेको छ ।








प्रतिक्रिया