
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभाबाट नयाँ केन्द्रीय नेतृत्व चयनका लागि उद्योगी व्यवसायीहरू प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
महासंघको कोशी प्रदेशको नेतृत्व चयनका लागि कोशीका उद्योगी व्यवसायीमा गुटगत रूपमा चुनावी मैदानमा सरगर्मी बढाउँदै छन् ।
चैत २२ गते हुने प्रदेशको नेतृत्व चयनका लागि विराटनगरका उद्योगी राजेन्द्र राउत र नविन रिजाल आमनेसामने हुँदै छन् । राउत संघका हालका अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य अनि उद्योगी व्यवसायीको पुरानो संस्था मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष हुन् ।
राउत र रिजाल एक-आपसका चिरपरिचित प्रतिद्वन्द्वी हुन् । उनीहरूबीच ८ वर्षपछि व्यावसायिक चुनावी मैदानमा भेट हुँदै छ ।
२०७४ सालमा मोरङ व्यापार संघको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुवै आ-आफ्नो प्यानलबाट प्रतिस्पर्धा गर्दा राउतको प्यानल पराजित भएको थियो ।
यसपालि राउतको दाउ मोरङ व्यापार संघमा आफूले भोगेको पराजयको बदला लिने र रिजाल चाहिँ राउतविरुद्धको आफ्नो विजयी यात्रा कायम राख्दै नेतृत्व हत्याउने रणनीतिमा रहेका छन् ।
राउत महासंघका हालका अध्यक्ष चन्द्र ढकाल र रिजाल वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष अञ्जन श्रेष्ठ समूहबाट चुनावी मैदानमा खुलेका छन् ।
दुवैजनाले ८ वर्षपछि पुनः नेपाल उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्ष दाबी गर्दै उनीहरू प्यानलसहित चुनावी मैदानमा छन् । त्यसैले यो पटकको निर्वाचन अघिल्ला निर्वाचनभन्दा घतलाग्दो बनेको छ ।
मोरङ व्यापार संघको कार्यकारिणी समितिको निर्वाचनमा राउतको प्यानल पराजित भए पनि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको उपाध्यक्ष बन्दै अध्यक्षसम्मको यात्रा तय गर्दा उनले जिल्लाका उद्योग वाणिज्य संघहरूलाई जोड्ने काम गरे भने जिल्लाका संघहरूलाई चलायमान बनाउने काम गरे।
कोरोना कहरको बेला राउतले ग्रामीण क्षेत्रमा अक्सिजन र औषधि पठाउने काममा तल्लीन भए । अहिले बुढीगङ्गा गाउँपालिकामा नेउवामहासंघ कोशीको भवन निर्माणाधीन छ । राउत निर्माण समितिका संयोजक हुन् ।
रिजाल मोरङ व्यापार संघको अध्यक्ष हुँदा बढ्दो बैंक ब्याजविरुद्ध देखि तत्कालीन सरकारले फलाम उद्योगहरूलाई लगाएको अतिरिक्त भन्सार महसुल र अन्तःशुल्क खारेजीको माग गर्दै सडक आन्दोलन गरेर ब्याजदर घटाउने र अन्तःशुल्क फिर्ता हुने गरी नियम संशोधन गर्न आन्दोलनमा उत्रिएका थिए जसपछि सरकार फिर्ता गर्न बाध्य भएको थियो ।
जोगवनी नजिकको मिरगञ्जको पुल भासिएपछि बन्द भएको आयात-निर्यातलाई नयाँ पुल निर्माण गरी तत्काल सञ्चालन गर्न पहल गरी जोगवनी र विराटनगर नाकाबाट आयात-निर्यात खुलाउन रिजालले पहलकदमी लिएका थिए ।
राउत शिवम् अर्गनाइजेशनका अध्यक्ष तथा रिजाल रिजाल समूहका अध्यक्ष हुन् । अहिले रिजाल र राउत दुवै आफ्नो पक्षमा मतदातालाई रिझाउन जिल्ला दौडाहामा छन् ।
दुवै उम्मेदवार कोशी प्रदेशको औद्योगिक र व्यापारिक क्षेत्रमा संघर्ष गरेर स्थापित भएका हुन् । समाजसेवामा दुवै सक्रिय छन् । आफूले नेतृत्व गरेको संघमार्फत दुवैले उद्योगी र व्यवसायीका हितमा काम गरेको दुवैको विगत छ ।
सिमेन्ट, फुटवेयर, अस्पताल, होटल, पर्यटन र निर्माणको क्षेत्रमा अग्रणी रहेको शिवम् अर्गनाइजेशनका अध्यक्ष समेत रहेका राउत राजेन्द्र राई मुख्यमन्त्री हुँदा प्रदेश सरकारको आर्थिक सल्लाहकार समेत रहीसकेका छन् । उनकै नेतृत्वमा उद्योग वाणिज्य महासंघ कोशीको विराटनगरमा भवन निर्माण हुँदै छ । भाडाको घरबाट महासंघलाई आफ्नै भवनमा सारेर मात्र नेतृत्व छाड्ने मनस्थितिमा रहेको राउतको प्रतिक्रिया छ ।








प्रतिक्रिया