इरानले अमेरिकाको एफ–३५ लडाकु विमान खसाएको दाबी

245
Shares

एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले अमेरिकको एफ–३५ लडाकु विमानलाई विमानभेदी आक्रमणमार्फत सफलतापूर्वक निशाना बनाएको दाबी गरेको छ । उसले विमानमा प्रहार भएको दृश्य देखिने एक भिडियो पनि सार्वजनिक गरेको छ ।

यस दाबीलाई सीएनएनले पनि पुष्टि गरेको छ । उसका अनुसार, उक्त विमानमा क्षति पुगेको थियो तर यस क्षेत्रको एक अमेरिकी सैन्य आधार शिविरमा आपतकालीन अवतरण गर्न सफल भयो ।

आईआरजीसीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘लडाकु विमानको अवस्था अस्पष्ट छ र यो अनुसन्धानको क्रममा छ । तर, यसको दुर्घटना हुने सम्भावना धेरै उच्च छ ।’

साथै, युद्धका क्रममा हालसम्म १२५ भन्दा बढी अमेरिकी र इजरायली लामो दूरीका ड्रोनहरू खसालिएको पनि उसले थपेको छ ।

आईआरजीसीद्वारा जारी गरिएको थर्मल फुटेजमा एउटा विमानको आकृति देखिन्छ जुन एफ–३५ सँग मिल्दोजुल्दो छ र यसलाई एउटा अज्ञात प्रक्षेपास्त्रले प्रहार गरेको देखिन्छ । प्रहार भएलगत्तै उक्त भिडियो अचानक काटिन्छ ।

अमेरिकी सेन्ट्रल कमान्डले यस घटनालाई स्वीकार गर्दै भनेको छ, ‘इरानमाथि युद्धकालीन मिसनमा उडिरहेका बेला उक्त विमान आपतकालीन अवतरण गर्न बाध्य भएको थियो ।’ कमान्डले विमान जमिनबाट गरिएको आक्रमणको निशानामा परेको हो वा होइन भन्ने कुराको पुष्टि वा खण्डन दुवै गरेको छैन ।

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले भनेका छन्, ‘विमान सुरक्षित रूपमा अवतरण भयो र पाइलटको अवस्था सामान्य छ । यस घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।’

यद्यपि, यस घटनाबारे जानकार दुई स्रोतहरूले सीएनएनलाई बताए अनुसार उक्त विमान इरानी आक्रमणबाट नै क्षतिग्रस्त भएको विश्वास गरिन्छ ।

अमेरिकी विमानलाई प्रहार गर्न प्रयोग गरिएको प्रक्षेपास्त्र मिसाइल ३५८ जस्तो देखिन्छ । यो इरानमै निर्मित जमिनबाट आकाशमा प्रहार गर्ने मिसाइल हो जुन सन् २०१० को दशकको अन्त्यतिर प्रचलनमा ल्याइएको थियो । यस मिसाइलमा परम्परागत विमानभेदी हतियार र लामो दूरीका ड्रोन दुवैका विशेषताहरू रहेको विश्वास गरिन्छ ।

यो मिसाइल लोइटरिङ मुनिसनका रूपमा लामो समयसम्म आकाशमा उडिरहन र आफ्नो लक्ष्य पर्खेर प्रहार गर्न सक्षम मानिन्छ ।

जारी युद्धका क्रममा एफ–३५ विमानलाई निशाना बनाइएको यो पहिलो पुष्टीकृत घटना हो । यी विमानहरूको औसत मूल्य प्रति विमान करिब १० करोड डलर पर्छ र इरानमाथि आक्रमण गर्न अमेरिका र इजरायल दुवैले यसको व्यापक प्रयोग गर्दै आएका छन् ।

Skip This