राजेश हमाललाई ल्याएर फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

910
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछाम जिल्लाको ढकारी गाउँपालिकामा फिल्म निर्माणका नाममा सार्वजनिक बजेट दुरुपयोग भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ र

आयोगले गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा आरजे ट्वान्टी फोर मिडिया प्रालि र नव इन्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्सालसमेतको मिलेमतोमा अनियमितता गरिएको दाबी गरेको छ ।

गाउँपालिकाले राजेश हमालको निर्देशनमा ‘अन्धपथ’ नामक चलचित्र बनाउने भनी बजेट विनियोजन नै नगरी २०८१ भदौ १८ मा सम्झौता गरिएको, सार्वजनिक खरिद ऐन–२०६३ र नियमावली–२०६४ विपरीत प्रक्रिया अवलम्बन गरिएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ । प्रतिस्पर्धा बिना नै १५ लाख ५ हजार रुपैयाँ बराबरको सोझै खरिद गरिएको आयोगले जनाएको छ ।

त्यसैगरी, कानुनले तोकेको सीमाभन्दा बढी ३५ प्रतिशतभन्दा बढी पेश्की दिने सर्त राखी ५८ प्रतिशतसम्म पेश्की भुक्तानी गरिएको, बैंक जमानतसमेत नलिई रकम दिइएको तथा नक्कली बिलका आधारमा थप खर्च देखाइएको अनुसन्धानमा भेटिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार कुल १२ लाख ७७ हजार २५० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानि पुर्‍याइएको पुष्टि भएको छ। सोही आधारमा भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगले दोषीहरूलाई कैद, जरिवाना तथा बिगो असुल उपर गर्न मागदाबी लिएको जनाएको छ। साथै, सार्वजनिक पदमा रहेका व्यक्तिले पदको दुरुपयोग गरेको ठहर गर्दै थप सजायको मागसमेत गरिएको छ ।

Skip This