आठ महिनामा लक्ष्यको ५० प्रतिशत मात्रै राजस्व संकलन, पौने २ खर्बको बजेट घाटा


काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिना (साउन–फागुन)मा राजस्व संकलन जम्मा ५० प्रतिशत मात्रै भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार ८ महिनामा ७ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

यो राजस्व संकलन लक्ष्यको ५०.४९ प्रतिशत मात्रै हो । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ ।

यो अवधिमा कर राजस्व ६ खर्ब ७६ अर्ब रुपैयाँ छ भने गैरकर राजस्व ७० अर्ब रुपैयाँ छ । चालु आवकाे लागि सरकारले पाएको अनुदानको रकम १३ अर्ब रुपैयाँ छ ।

यो आर्थिक वर्षको पहिलो ८ महिनामा सरकारको कुल राजस्व संकलन ७ खर्ब ६५ अर्ब रुपैयाँ हुँदा सरकारले गरेको कुल खर्च ९ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ ।

सरकारको आम्दानी र खर्चको विवरण अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा बजेट घाटा २ खर्ब ७९ अर्ब रुपैयाँ रहेको छ । यो खर्चको तथ्यांकले सरकार दैनिक प्रशासनिक खर्चमै ऋणमा चल्नुपर्ने अवस्था देखाएको छ ।

चालु आवको फागुनसम्ममा सरकारले गरेको चालु खर्च ६ खर्ब ४२ अर्ब छ । यो खर्च कुल ११ खर्ब ५० अर्बको लक्ष्यको तुलनामा ५४.३७ प्रतिशत हो ।

यो अवधिमा विकास निर्माणको लागि भएको पुँजीगत खर्च ७८ अर्ब रुपैयाँ मात्रै छ । यस्तो खर्च यो चालू आवको ४ अर्ब ७ अर्ब रुपैयाँको लक्ष्यको तुलनामा हालसम्ममा जम्मा १९.२४ प्रतिशत मात्रै हो ।

यो अवधिमा सरकारले विकास निर्माणमा गर्ने खर्च ८ महिना वित्तिसक्दा पनि २० प्रतिशत पनि पुर्याउन सकेको छैन ।