पर्यटकको नक्कली उद्धार प्रकरणमा थप एक पक्राउ, पक्राउ पर्नेको संख्या १० पुग्यो

182
Shares

काठमाडौं । पर्वतारोहणमा आएका विदेशी पर्यटकको नक्कली उद्धार गरी बिमा रकम ठगी गर्ने गिरोहका थप एक सदस्य पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार पानारोमा हिमालय ट्रेकिङ एन्ड एक्सपिडिसन प्रालिका सञ्चालक ५० वर्षीय पासाङ शेर्पालाई नियन्त्रणमा लिएको हो।

सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ। पक्राउ पर्नेहरूमा ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, हेलिकप्टर कम्पनीका सञ्चालक र विदेशी बिमाका नेपालस्थित एजेन्टहरू रहेका छन्।

अनुसन्धानका क्रममा यो गिरोहले पदयात्रामा गएका पर्यटकलाई सामान्य बिरामी पर्दा समेत ‘ज्यान जान सक्ने’ भन्दै अनावश्यक त्रास देखाएर सेटिङमा हेलिकप्टरमार्फत उद्धार गर्ने गरेको खुलेको छ।

काठमाडौँका निश्चित अस्पतालमा लगेर उपचार गराए जस्तो गरी उनीहरूले विदेशी बिमा कम्पनीहरूमा मोटो रकम दाबी गरी ठगी गर्ने गरेका थिए।

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत राष्ट्रहित प्रतिकूल काम गरेको र संगठित अपराधको कसुरमा थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।