सात महिनामा भित्रियो साढे १२ खर्ब रेमिट्यान्स, माघमा मात्रै २ खर्ब

70
Shares

काठमाडौं । पछिल्लो सात महिनामा रेमिट्यान्स साढे १२ खर्ब रुपैयाँ भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्मको तथ्यांक अनुसार रेमिट्यान्स १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ भित्रिएको छ ।

यो तथ्यांक अनुसार माघ महिनामा मात्रै रेमिट्यान्स करिब २ खर्ब रुपैयाँ भित्रिएको छ । आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो । २०८२ माघ महिनामा विप्रेषण आप्रवाह १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ४५ हजार १५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख २७ हजार ४२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ७४ हजार ६२२ र १ लाख ९० हजार ८८६ रहेको थियो ।