
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई हालै सम्पन्न निर्वाचनले दुई तिहाइ बहुमत दिएसँगै कोशीका उद्योगी व्यवसायीले स्थिर सरकार बन्ने र राजनीतिक अस्थिरताको अन्त्य भई लगानीको वातावरण सिर्जना हुने अपेक्षा गरेका छन् ।
विगतका आलोपालो सरकारका कारण बनेको अस्थिर राजनीति र सङ्क्रमणकालीन अवस्थाले पुँजी पलायन र उद्योगी व्यवसायी विस्थापित हुने खतरा बढेको थियो । अब बन्ने दुई तिहाइ बहुमतको सरकारले त्यसलाई रोकेर स्वदेशमा लगानी गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने बाटो खोज्नुपर्ने कोशीका उद्योगी व्यवसायीको अपेक्षा छ।
निर्वाचनको परिणामले निजी क्षेत्रमा सकारात्मक सञ्चार गराएको छ । आलोपालो र अस्थिर सरकारका कारण पीडित बनेको निजी क्षेत्रले दुई तिहाइ बहुमतसहितको पाँचवर्षे स्थिर सरकार पाउनु नै खुसीको कुरा भएको उल्लेख गर्दै उद्योगी व्यवसायीले भनेका छन्, ‘कानुन मात्र होइन, संविधानसमेत संशोधन गरेर निजी क्षेत्रका माग अब बन्ने सरकारले पूरा गर्ने र थला परेको मुलुकको अर्थतन्त्र लयमा फर्कने आशा गरिएको छ ।’
विगतका आलोपालो अनि अस्थिर सरकारहरूको कारण काम गर्ने, लगानी गर्ने वातावरण थिएन । ‘अब कम्तीमा पाँच वर्ष स्थिर सरकार बन्ने र लगानीको वातावरण बन्ने अपेक्षा गरिएको छ,’ उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीको प्रतिक्रिया छ । राजनीतिक अस्थिरताको शिकार हुँदै आएको निजी क्षेत्र रास्वपाले दुई तिहाइ बहुमत पाएसँगै उत्साहित बनेको छ । ‘नयाँ बन्ने सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर पाँच वर्षमा नयाँ लगानी र रोजगारीको वातावरण सिर्जना गर्न सक्छ,’ राठीले भने, ‘निजी क्षेत्रलाई कस्ने कानुनहरू संशोधन गरी लगानी र रोजगारमैत्री कानुनको व्यवस्था गरेर लगानीको वातावरण बनाउनु जरुरी छ ।’
राजनीतिक अस्थिरताले मुलुकका सबै अङ्गहरूमा नकारात्मक असर परिरहेको बेला पुँजी पलायन र उद्योगी व्यवसायी पलायन हुने खतरा बढेको थियो । राठीले थपे, ‘रास्वपाप्रति देखिएको जनलहरले त्यो खतरालाई टार्ने, लगानीको वातावरण निर्माण हुने र मुलुकको अर्थतन्त्रमा सुधार आउने निजी क्षेत्रले अपेक्षा गरेको छ ।’
नीतिगत स्थिरताको खाँचो भएको उल्लेख गर्दै उनले भने, ‘उद्योगमैत्री नीतिगत स्थिरता भए उद्योग, व्यापार र रोजगार बढ्नुका साथै आयातलाई प्रतिस्थापन गर्न सकिन्छ ।’
दुई तिहाइ बहुमतको सरकार गठन हुने पक्का देखिँदा राजनीतिक अस्थिरता र सङ्क्रमणकालीन समयको अन्त्य हुनेमा निजी क्षेत्र आशावादी रहेको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतको प्रतिक्रिया छ । राजनीतिक र नीतिगत अस्थिरताले निजी क्षेत्र प्रताडित हुँदै आएको अवस्थामा अबको सरकारले राजनीतिक र नीतिगत अस्थिरताको अन्त्य गर्ने निजी क्षेत्रको अपेक्षा रहेको उनको भनाइ छ ।
‘अबको सरकार राजस्वमुखी नभई निजी क्षेत्रको मनोबल बढाउने नीतिमा केन्द्रित हुनुपर्छ,’ राउतको सुझाव छ । सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आयातलाई प्रतिस्थापन गर्ने नीति अवलम्बन गर्नुपर्छ । सरकारले दीर्घकालका लागि नीति अवलम्बन गरेर वित्तीय र मौद्रिक नीतिमा सुधार गर्दै लगानीको वातावरण सिर्जना गर्नुपर्ने राउतको अपेक्षा छ ।
नेपाल उद्योग परिसङ्घ कोशी प्रदेश अध्यक्ष पवन सारडाले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाइ बहुमत दिनु राजनीतिक अस्थिरताको अन्त्यको सङ्केत भएको बताए । राजनीतिक अस्थिरताले विगतमा मुलुकको आर्थिक समृद्धि ठप्प थियो ।
‘त्यही अस्थिरताले जेनजी विद्रोहसमेत निम्त्यायो,’ सारडाले भने, ‘जेन-जी विद्रोहपछि भएको निर्वाचनले रास्वपालाई दुई तिहाइ बहुमत दिएको छ । अब कम्तीमा पाँच वर्षका लागि राजनीतिक स्थिरता र मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार हुने अपेक्षा निजी क्षेत्रले गरेको छ ।’
दैनिक उपभोग्य वस्तुको राजस्व अत्यधिक भएको कारण सीमानाकाबाट चोरी-पैठारी बढ्दा राज्यको राजस्व गुम्नुका साथै स्थानीय उद्योगहरू प्रभावित छन् । त्यसैले दैनिक उपभोग्य वस्तुको राजस्व घटाएर भन्सार नाकाबाट भित्रने वातावरण बनाई स्वदेशी उद्योग सञ्चालन हुने वातावरण निर्माण गर्नु जरुरी भएको उनको भनाइ छ ।
निजी क्षेत्रलाई ढुक्क हुने कानुन ल्याउनुपर्ने र लगानीको वातावरण बनाउनुपर्ने दायित्व अब बन्ने नयाँ सरकारको रहेको उल्लेख गर्दै सारडाले करलाई लचिलो र बहुदरमा लैजानुपर्ने, त्यसो गरेमा मात्र लगानीको वातावरण बन्ने र रोजगारी सिर्जना हुने बताए ।
रोजगारी सिर्जना भएमा मात्र युवाहरू विदेशिनबाट रोकिने र मुलुक बिस्तारै समृद्धितर्फ जाने उनको प्रतिक्रिया छ ।
मोरङ उद्योग व्यापार सङ्घ उपाध्यक्ष विकास वेगवानीले निर्वाचनपछि देखिएको परिणामले निजी क्षेत्रमा सकारात्मक ऊर्जा बढाएको बताए । ‘आलोपालो र अस्थिर सरकारको कारण पीडित बनेको निजी क्षेत्रका लागि दुई तिहाइ बहुमतसहितको स्थिर सरकार पाउनु नै खुसीको कुरा हो,’ वेगवानीले भने, ‘कानुन मात्र होइन, संविधानसमेत संशोधन गरेर निजी क्षेत्रको माग अब बन्ने सरकारले सुन्न सक्ने र मुलुकको थलिएको अर्थतन्त्र लयमा फर्कने अपेक्षा निजी क्षेत्रले गरेको छ ।’
विराट व्यापार सङ्घका अध्यक्ष अंशु बञ्जराले हालै सम्पन्न निर्वाचनले राजनीतिक नेतृत्व परिवर्तन गरे जस्तै मुलुकको अर्थतन्त्र पनि त्यसरी नै परिवर्तन होस् भन्ने चाहना उद्योगी व्यवसायीको रहेको बताए । विगतमा जस्तो सरकार फेरिनेबित्तिकै आर्थिक-वित्तीय नीति फेरिने, बैंक ब्याज बढ्ने जस्ता समस्याले गर्दा थलिएको निजी क्षेत्रलाई कम्तीमा पाँच वर्ष परिवर्तन नहुने अर्थनीति आउने नयाँ सरकारले दिन सकेमा मुलुकको अर्थतन्त्र माथि उठ्न समय नलाग्ने उनको बुझाइ छ ।







प्रतिक्रिया