सम्पूर्ण अपडेट

एक घण्टामै १० अर्ब ८९ करोडको सेयर कारोबार

105
Shares

काठमाडौं । मंगलबार बजार खुलेको एक घण्टामा नै करिब ११ अर्बको कारोबार भएको छ । सोमबार लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेर पूरा दिन कारोबार हुन पाउँदै बन्द भएको बजारमा मंगलबार भने सुरुवाती समयमा नै तीब्र उतारचढाव देखिरहेको छ ।

सोही क्रममा कारोबार खुलेको एक घण्टामा नै १० अर्ब ८९ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भइसकेको छ । बिहान १२ बजेसम्म सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.७१ अंक अर्थात् २ प्रतिशतले घटेर २८१७.७१ बिन्दुमा कायम छ ।

अघिल्लो कारोबार दिन सोमबार भने कारोबार खुल्नसाथ नेप्से चार प्रतिशत अर्थात् १०८ अंकले बढेर २८२१ बिन्दुमा पुगेको थियो । कारोबार खुल्नसाथ चार प्रतिशतको वृद्धिपछि २० मिनेट स्थगित भएर खुलेको बजार फेरि पाँच प्रतिशत अर्थात् १३५ अंकले बढ्दै दोस्रो सर्किट ब्रेक लाग्यो ।

दोस्रो सर्किट ब्रेक लागेर त्यसको ४० मिनेपछि खुलेको बजार पनि फेरि छ प्रतिशतको वृद्धि भएर सोमबारका लागि कारोबार बन्द भएको थियो । समग्रमा सोमबार नेप्से १६२.९३ अंकले बढ्दै २८७५.४३ बिन्दुमा उक्लिएको थियो ।

सोमबार नेप्सेमा कुल ५५ करोड ५९ लाखको कारोबार हुँदा २५२ कम्पनीको सेयर मूल्य बढेको थियो भने एक कम्पनीको सेयर मूल्य भने घटेको थियो ।