
सिराहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ ।
उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । सिराहा सदरमुकाम वडा नम्बर १, २, ३ लगायतका स्थानका विभिन्न ग्यास बिक्रेताले ग्यास अभावको बहानामा प्रति सिलिण्डर २ हजार ६ सयदेखि ३ हजार रुपैयाँमा बिक्री गर्न सुरु गरेका छन् ।
सिराहा वडा नम्बर ३ का उमेश साहका अनुसार सरकारले तोकेको मूल्यमा बिक्रेताले ग्यास सिलिण्डर बिक्री गर्न रोकेका छन् । २ हजार ६ सयदेखि ३ हजार रुपैयाँ तिरेको अवस्थामा मात्रै बिक्रेताले सिलिण्डर उपलब्ध गराउँदै आएका छन् ।
लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् ।
‘दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो’, उहाँले भने, ‘निर्धारित मूल्यमा दुई सिलिन्डरको तीन हजार ८२० रुपैयाँ पर्नुपर्ने हो । नौ हजार रुपैयाँ भनेपछि कसरी तिर्नु ? त्यसपछि रित्तै हात फर्किनुप¥यो ।’
सिरहा नगरपालिका–६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएका प्रमोद यादवले पनि निर्धारण गरिएको मूल्यमा ग्यास नपाउँदा व्यवसाय चलाउन कठिन भएको बताए ।
‘सिलिन्डर किन्दा चार हजार ५०० रुपैयाँ तिर्नुपर्छ’, उनले भने, ‘त्यति महँगोमा किनेर कसरी खर्च धान्नु रु अब खाना पनि खान नसकिने अवस्था आउला कि भन्ने चिन्ता बढेको छ ।’
खाना पकाउने ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर एक हजार ९१० रुपैयाँ रहेको छ । तर बजारमा भने त्यसको दोब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको उपभोक्ताको गुनासो छ ।
उपभोक्ता अधिकारकर्मीले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको हुनसक्ने भन्दै सम्बन्धित निकायलाई तुरुन्त अनुगमन गर्न आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाले कालोबजारी गर्नेविरुद्ध कारबाही गरिने चेतावनी दिएको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।
कालोबजारी कानुनविपरीत काम भएकाले कोही दोषी पाइए कारबाही हुने उनले बताए ।
उनले भने, ‘हामी वाणिज्य कार्यालय र सम्बन्धित निकायसँग समन्वय गरेर बजार अनुगमन गर्नेछौँ, कालोबजारी गरेको पाइए कानुनबमोजिम कारबाही हुन्छ ।’
नेपाल आयल निगमका स्थानीय वितरकहरूले ढुवानी र आपूर्ति व्यवस्थापनमा समस्या हुनुका साथै निर्वाचनका कारण तीन दिन सिमाना बन्द गरिनु उपभोक्ताहरूले पनि ग्यास भण्डारण गरेर राख्नुलगायत कारणले बजारमा अभाव देखिएको बताएका छन् ।








प्रतिक्रिया