सम्पूर्ण अपडेट

‘नयाँबाट केही हुन्छ कि’ भन्ने आशा जनताले गरे, जिन्दगी हो-हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छः पोखरेल

147
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आम निर्वाचन २०८२ को जनादेश नयाँबाट केही हुन्छ कि’ भन्ने आशाले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ गएको बताएका छन् । सबैतर्फ रास्वपाका उम्मेदवारले वर्चस्व कायम गर्दै गर्दा शनिबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै पोखरेलले जनताले ‘नयाँबाट केही हुन्छ कि’ भन्ने विश्वासका साथ उक्त पार्टीलाई अभिमत दिएको उनले उल्लेख गरे ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले जनविश्वास अनुरूप अघि बढ्न रास्वपाका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन सहित विजयी भएका सम्पूर्ण प्रतिनिधिहरूलाई कार्यकाल सफलताको शुभकामना दिएका छन्।

पोखरेलले आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गरेको उल्लेख गर्दै शुभेच्छुक र आफन्तजनबाट पनि उल्लेखनीय साथ र सहयोग प्राप्त भएको बताएका छन् । तर ‘परिवर्तन’ को लहरका कारण आफूहरूको प्रयास सफल हुन नसकेको उनले बताएका छन् ।

उनले आफू उम्मेदवार रहेको प्रतिनिधिसभा–२ निर्वाचन क्षेत्रबाट रास्वपाका बिपिन आचार्य निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हुने उल्लेख गर्दै पोखरेलले निराश नभई सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन सबैमा आग्रह गरेका छन् । उनले “जिन्दगी हो—हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ” भन्ने गीतको भाव स्मरण गर्दै लोकतान्त्रिक अभ्यासमा हार–जितलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् ।