
फिक्कल । इलाममा आज भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५६ दशमलव ५३ प्रतिशत मत खसेको छ । सबै मतदान केन्द्रको विवरण आइसक्दा दुई लाख ३१ हजार ८०९ मध्ये एक लाख ३१ हजार ३९ अर्थात् ५६ दशमलव ५३ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।
प्रजिअ ढकालका अनुसार जिल्लामा ६२ हजार ७७७ महिला, ६८ हजार २६१ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा क्षेत्र नं १ मा २९ हजार ७२८ महिला र ३४ हजार ३७६ पुरुष मतदाताले मतदान गरेका छन् । सो क्षेत्रमा ५३ हजार ६४६ महिला, ५८ हजार ६७३ पुरुष र एकजना अन्यसहित एक लाख १२ हजार ३२० मतदाता थिए ।
त्यस्तै, क्षेत्र नं २ मा ३३ हजार ४९ महिला, ३३ हजार ८८५ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका छन् । सो क्षेत्रमा ५८ हजार ५१२ महिला, ६० हजार ९७५ पुरुष र दुई तेस्रो अन्यसहित एक लाख १९ हजार ४८९ मतदाता थिए । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५७ दशमलव ४४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय इलामको तथ्याङ्कमा उल्लेख छ ।
इलाममा १५० मतदानस्थलमा २९० मतदान केन्द्रमा विहान ७:०० देखि साँझ ५:०० बजेसम्म मतदान भएको थियो । निर्वाचन जिल्लाभर शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न प्रजिअ ढकालले बताए । यो समाचार तयार पार्दासम्म मतपेटिका सङ्कलनको क्रम जारी रहेको छ ।
मतगणना शुक्रबार बिहानदेखि मात्र सुरु गर्ने तयारी छ । सबैतिरबाट मतपेटिका ल्याइसक्न समय लाग्ने भएकाले मतगणना सुरु गर्न केही ढिला हुने प्रजिअ ढकालले बताए । सदरमुकामबाट टाढाका पालिका चुलाचुली, माङसेबुङ, फाकफोकथुम गाउँपालिकाबाट मतपेटिका ल्याउन समय लाग्नेछ ।
‘दुर्गम क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका ल्याइपुर्याउन बिहान १:०० देखि २:०० बजेसम्म लाग्नसक्छ’, प्रजिअ ढकालले रासससँग भने, ‘बिहान ८:०० देखि ९:०० बजेभित्र सर्वदलीय बैठक राख्ने तयारी छ । सो बैठकले निर्णय गरेबमोजिम मतगणना सुरु हुनेछ ।’
मतगणनाका लागि क्षेत्र नं १ का लागि इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल) मा र क्षेत्र नं २ का लागि सूर्योदय नगरपालिकाको सभाहल तयार गरिएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए । दुवै हलमा तार जाली लगाएर गणकमात्र भित्र बस्न मिल्ने बनाइएको गजुरेलले जनकारी दिए ।
यस्तै प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ । मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको छ । यहाँको क्षेत्र नं १ मा १३ दल र २ मा एक स्वतन्त्रसहित १४ गरी २७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।








प्रतिक्रिया