फागुन २१ सँग जोडेर ओलीले स्मरण गरेका यी दुई संयोग

91
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जीवनका दुई संयोगको स्मरण गरेका छन् । उनले सुखानीका शहीदहरू र ६ वर्षअघि दोस्रो पटक गरेको मिर्गौला प्रत्यारोपण स्मरण गरेका हुन् ।

‘आज मेरो जीवनका दुई संयोगहरु भएको दिन हो । आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

झापा आन्दोलनले निरंकुश व्यवस्थाको विरूद्ध विद्रोहको बिगुल फुकेको उनले बताएका छन् । त्यही क्रममा आफूलाई जेल हालिएको उनले स्मरण गरेका छन् ।

‘झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो । जेल सार्ने बहानामा हत्या गरिनलाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ । देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले भनेका छन् । फागुन २१ कहिल्यै नबिर्सने दिन भएको पनि बताएका छन्।