
काठमाडौं । घरायसी सामग्री बिक्री गर्ने त्रिवेणी व्यापार कम्पनीले एकै वर्ष सवा ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब २८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा ३ अर्ब ४२ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा ३ अर्ब ६७ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २००८ मा स्थापना भएको यस कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सामग्री आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले सामसुङ, पानासोनिक र सानसुई ब्रान्डका घरायसी सामग्री आयात गरी बिक्री गर्दै आएको छ । साथै, कम्पनीले चीनको ओईएममार्फत घरायसी सामग्री उत्पादन गरी नेपाली बजारमा ‘यसुदा’ ब्रान्डमा बिक्री वितरण गरिरहेको छ ।
कम्पनीका अनुसार गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा व्यापार उत्साहजनक (रोबस्ट) रहेको छ । सन् २०२१ देखि २०२५ सम्ममा कम्पनीको समग्र व्यापार १२ प्रतिशतले बढेको उल्लेख गरिएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ३.१५ प्रतिशत खुद नाफा कमाएको छ । त्यस्तै, चालु आर्थिक वर्षको पहिलो ६ महिनामै कम्पनीले २ अर्ब १९ करोड २० लाख रुपैयाँको व्यापार गरिसकेको छ । यस अवधिमा कम्पनीको नाफा मार्जिन ४.५१ प्रतिशत रहेको छ ।
संघाई बिजनेस परिवारद्वारा सञ्चालित यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब २७ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४३ करोड ३१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ८३ करोड ६८ लाख रुपैयाँको रेटिङ गराएको हो । कम्पनीका प्रबन्ध निर्देशक शैलेश संघाई हुन् ।








प्रतिक्रिया