वेदालय ट्रेडिङले एकै वर्ष गर्यो १ अर्बको कारोबार, आफ्नै ग्रुपका कम्पनीलाई सामान बेच्दा नाफा निकै कम

105
Shares

काठमाडौं । वेदालय ट्रेडिङले एकै वर्ष १ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०२५ १ अर्ब ४ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको हो ।

वर्षदिनमै कम्पनीको व्यापारमा उच्च वृद्धि देखिएको छ । सन् २०२४ मा ५३ करोड ३० लाख र सन् २०२३ मा ५२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको यस कम्पनीले गत आवमा व्यापार दोब्बर बनाएको छ ।

व्यापार बढे पनि नाफाको दर भने घटेको छ। कम्पनीको सञ्चालन मुनाफा सन् २०२४ को ३.५५ प्रतिशतबाट घटेर गत आवमा १.४० प्रतिशतमा खुम्चिएको छ । खुद नाफा भने केवल ०.२५ प्रतिशत मात्र छ । कम्पनीको कुल नगद मौज्दात ७० लाख रुपैयाँ देखिन्छ।

सन् २०२१ मा स्थापना भएको यस कम्पनीले विभिन्न निर्माण सामग्रीहरूको कारोबार गर्दै आएको छ । कम्पनीको पोर्टफोलियोमा युपीभीसी झ्याल-ढोका, डण्डी, सिमेन्ट, हार्डवेयर, पाइप र फिटिङ तथा स्यानिटरी सामानहरू रहेका छन् । वेदालय ग्रुपद्वारा प्रवर्द्धित यस कम्पनीमा जयराम अर्यालको ४० प्रतिशत र ‘स्ट्रिम इन्भेष्टमेन्ट कम्पनी’को ६० प्रतिशत सेयर स्वामित्व छ । कम्पनीले हालै ६० करोड रुपैयाँको अल्पकालीन बैंकिङ कर्जाका लागि एफोर रेटिङ प्राप्त गरेको छ ।

कम्पनीको नाफा घट्नुको मुख्य कारण आफ्नै ग्रुपका कम्पनीहरूलाई सामान बेच्नु हो, जहाँ थोरै मात्र नाफा राखेर कारोबार गरिएको छ । कम्पनीको तरलता अवस्था कमजोर देखिएको इन्फोमेरिक्स गरेको क्रेडिट रेटिङ रिपोर्टमा उल्लेख छ । उधारो उठाउनुपर्ने समय लामो हुनु र कार्यगत पूँजीको सघनता ४१% हुनुले कम्पनीमा नगदको अभाव हुनसक्ने देखान्छ । कम्पनीको ऋण र पुँजीको अनुपात बढेर १.२९ गुणा पुगेको छ, जुन अघिल्लो वर्ष ०.५३ गुणा मात्र थियो । व्यवसाय विस्तारका लागि लिइएको कर्जाका कारण ऋणको भार बढेको हो ।