
काठमाडौं । भ्याली पेलेट फिडको व्यापार १५ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १५ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले सन् २०२४ मा ३ अर्ब ५४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा भने ४ अर्ब ६ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ९२ करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा ४ अर्ब ५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले गत आवमा २.६४ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा कम्पनीले १.२३ प्रतिशत नाफा कमाएको थियो । कम्पनीको कुल नगद सञ्चय पनि बढेको छ । सन् २०२४ मा ६ करोड ७० लाख रुपैयाँ रहेको कुल नगद सञ्चय सन् २०२५ मा बढेर १२ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीका अनुसार गत आवमा दानाको उच्च बिक्रीका कारण व्यापार उल्लेख्य रूपमा बढेको हो ।
सन् २००८ मा स्थापना भएको कम्पनीले पोल्ट्री दाना उत्पादन गर्दै आएको छ । पोल्ट्री दानासँगै कम्पनीले माछाका लागि पनि दाना उत्पादन गर्दै आएको छ । भ्याली ग्रुपद्वारा सञ्चालित कम्पनीले वार्षिक ७० हजार मेट्रिक टन दाना उत्पादन गर्दै आएको जनाएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल २ अर्ब १० करोड ३५ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । जसअनुसार दीर्घकालीन कर्जाका लागि ३९ करोड ३५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ७१ करोड रुपैयाँको रेटिङ गरिएको छ ।








प्रतिक्रिया