‘म भोट माग्न होइन काम माग्न आएको हुँ, काम गरेर देखाउँछौं’

28
Shares

नमस्कार । के छ हालचाल ? निकै छौ कि नाइँ?

मेली छकालै एउटा सुइना देख्याथें । सुदूरपश्चिम बनेको, देश बनेको। त्यो सपना पूरा गर्ने हो र त्यो पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो।

खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा । खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा ।

दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन । डेढ वर्षमा बन्नुपर्यो, त्यो हो हाम्रो एजेन्डा । रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो ।

यहाँ त बाटो बनाउनलाई ‘यो भेगमा मेरो भोट छैन, यहाँको बाटो किन बनाउने ? यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने? भन्ने भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ । सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ।

मान्छेले देशलाई स्विट्जरल्याण्ड बनाउनुपर्छ भन्छन् । स्विट्जरल्याण्डको बाउ बढिमालिका यहीँ छ, किन बनाउनुपर्यो स्विट्जरल्याण्ड ? स्विट्जरल्याण्डको पराकाष्ठा रामारोशन यहीँ छ, किन बनाउनुपर्यो स्विट्जरल्याण्ड ? खप्तड नेसनल पार्क यहीँ छ, किन बनाउनुपर्यो स्विट्जरल्याण्ड ? हामी नेपालीहरू माल भएर चाल नपाएको मान्छेहरू पर्यौँ । भएको चिज देखाउनै सक्या छैन। सुदूरपश्चिमलाई जोड्नै सक्या छैन ।

सुदूरपश्चिममा एकदम धेरै कलाकार हुनुहुँदो रहेछ । ८ लाख सब्स्क्राइबर भएको १ मिलियन सब्स्क्राइबर भएको, तर त्यो गीत काठमाडौंको चोकचोकमा बज्दैन । जुन दिन सुदूरपश्चिमका गीतहरू काठमाडौंको चोकचोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौंसँग । सुरुमा त गीत बज्नुपर्यो, त्यसपछि आवाज बज्छ, त्यसपछि माग पूरा हुन्छ। सुन्दा सानो जस्तो लाग्छ तर त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा ।

सुदूरपश्चिमलाई सुनजिक पश्चिम बनाउनुपर्यो, राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो हो एजेन्डा।

तपाईँहरूलाई आज यहाँ आएर भेट्न पाइयो, धेरै खुसी लागेको छ। म धेरै बोल्ने मान्छे होइन । राष्ट्रिय स्वतन्त्र पार्टी तपाईँहरूसँग यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो, काम दिनुस् है!

तपाईँहरूले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो, के-के छ तपाईँहरूको काम हाम्रो उम्मेदवारहरूलाई हाम्रा पार्टीका मान्छेहरूलाई ‘हाम्रो काम यो हो’ भनेर लिस्ट दिनुस् । भोट नदिए पनि हुन्छ बरु कामको लिस्ट दिनुस्, काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले । आँखा हेर्नु पर्दैन काम हेर्नुहोला । म धेरै बोल्दिन । धेरै धेरै धन्यवाद । ‘सुदूर अब दूर नाइँ, झिक्कै झिक्कै माया तमुलाई’ ,’आइलभयू’ ।

(धनगढीमा रास्वपाले आयोजना गरेको ‍सभामा बालेन्द्र शाहले व्यक्त गरेको विचार ।)