लिट्मस केबलको व्यापार घट्यो, ४ अर्ब खर्चेर क्षमता विस्तार हुँदै


काठमाडौं । लिट्मस इन्डष्ट्रिजको व्यापार १२ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १२ प्रतिशतले घटेको हो ।

सन् २०२४ मा ३ अर्ब ४४ करोड ५० लाखको व्यापार गरेको कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ४ करोड ८० लाख, सन् २०२३ मा ३ अर्ब ८५ करोड ५० लाख र सन् २०२२ मा २ अर्ब ३८ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले गत आवमा २ प्रतिशत खुद नाफा कमाएको छ । कम्पनीले सन् २०२४ मा २.२० प्रतिशत खुद नाफा कमाएको थियो।

कम्पनीको व्यापार पछिल्ला तीन वर्षमा लगातार घटेको पाइएको छ । सन् १९७८ मा लुम्बिनी विद्युत उद्योग प्रालिको नाममा दर्ता भएको कम्पनी सन् २०२२ मा लिट्मस इन्डष्ट्रिज लिमिटेडमा परिवर्तन भएको थियो ।

कम्पनीले एबीसी केबल, एसीएसआर कन्डक्टर, कन्सेन्ट्रिक केबल, हाउस वाइरिङको कोयल, इनामेल वायर/एसईसी, पेपर इन्सलेटेड स्ट्रिप, लो भोल्टेज केबल पावर र अल्मोनियम/एलो रोड आदि उत्पादन गर्दै आएको छ ।

कम्पनीले उत्पादन गरेको सामग्री लिट्मस केबल र लोटस वायर ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनी नेपालको विद्युतीय तार उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी हो । कम्पनीले हाल सञ्चालनमा रहेको उद्योगमा लगानी थप गरी क्षमता बढाउने भएको छ ।

कम्पनीले ४ अर्ब रुपैयाँ लगानीमा क्षमता विस्तार गर्ने भएको हो ।

कम्पनीले तीन चरणमा आयोजना निर्माण सम्पन्न गर्नेछ । कम्पनीले प्याकेज ए को निर्माण कार्य सम्पन्न गरी सन् २०२५ को अगस्टबाट सञ्चालनमा ल्याएको थियो । त्यस्तै, प्याकेज बीको कार्य हालसम्ममा ३९ प्रतिशत प्रगति भएको रेटिङमा उल्लेख छ ।

साथै, प्याकेज सीको भने सन् २०२६ को अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने जनाएको छ ।

सुशील गुप्ता र रोहित गुप्ताको ३९.८६/३९.८६ प्रतिशत हिस्सा रहेको कम्पनीमा एम/एस इक्विटी डाइभर्सड फन्ड २० प्रतिशत मुख्य ३ जना कम्पनीको स्वामित्व छ ।

रमेश ग्रुपद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८ अर्ब ६७ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २७ करोड ८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८ अर्ब ४० करोड रुपैयाँको रेटिङ गराएको हो ।

Skip This