
काठमाडौं । चालु आर्थिक वर्षकाे ६ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) साढे १० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पुससम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै रेमिट्यानस ३९.१ प्रतिशतले बढेको जनाएको हाे ।
पुससम्म कुल १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स आउँदा पुस महिनामा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स आएको केन्द्रिय बैंककाे तथ्यांक छ । गत आर्थिक वर्षको पुसमा १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।
गत आर्थिक वर्षको पुससम्म अघिल्लो आर्थिक वर्षको तुलनामा रेमिट्यान्स ४.२ प्रतिशतले मात्रै बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ३२.३ प्रतिशतले बढेर ७ अर्ब ५० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा अमेरीकी डलरमा रेमिट्यान्स २.७ प्रतिशतले मात्रै बढेको थियो ।
यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड रहेको थियो ।
रेमिट्यान्स बढेपनि वैदेशीक रोजगारीके लागि श्रम स्वीकृति लिने नेपालकिो संख्या भने केही घटेको छ । तर, पुनः श्रम स्वीकृति लिने नेपाली भने बढेको देखिन्छ ।
चालु आवको पुससम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ६ हजार ८०७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ९४ हजार ७३३ छ ।
गत आवको पुससम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुन श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ६२ हजार ६२८ रहेको थियो ।








प्रतिक्रिया