आजदेखि सूर्यकुण्ड हाइड्रोको आईपीओमा आवेदन दिन सकिने


काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा आवेदन खुला भएको छ । कम्पनीले आज माघ १८ गते (आइतबार) देखि सर्वसाधारणका लागि ५ लाख ७२ हजार ४३१ कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको हो । यो आईपीओमा मागभन्दा बढी आवेदन परेमा ५७ हजार २४३ जनालाई १० कित्ताका दरले सेयर पर्नेछ ।

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको थियो ।

जसमध्ये कम्पनीले पहिलो चरणमा ६ लाख ८९ हजार ६७५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ६८ हजार ९६७ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ । त्यस्तै कम्पनीमा कार्यरत कर्मचारीका लागि १३ हजार ७९३ कित्ता र धितोपत्र बोर्डबाट स्वीकृत सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता बाँडफाँड गरी बाँकी रहेको ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गरेको छ ।

कम्पनीले आजदेखि दोस्रो चरणमा प्रतिकित्ता १०० रुपैयाँका दरले ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गरेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

माघ १८ गतेदेखि खुला भएको आईपीओ निष्कासन तथा बिक्री छिटोमा माघ २१ गते बन्द हुनेछ । यद्यपि माग अनुसारको आवेदन नआएमा ढिलोमा फागुन ३ गतेसम्म आवेदनको म्याद थपिनेछ ।

Skip This