किशोरहरूलाई लती बनाएको भन्दै सामाजिक सञ्जालहरूविरुद्ध दायर मुद्दामा सुनुवाइ सुरु


एजेन्सी । वर्षौंदेखि सामाजिक सञ्जालका दिग्गज कम्पनीहरूले आफ्ना प्लेटफर्महरूले युवाहरूको मानसिक स्वास्थ्यमा हानि पुर्याउँछन् भन्ने दाबीहरूको विरोध गर्दै आएका छन् ।

मंगलबारदेखि उनीहरूले पहिलोपटक अदालतमा निर्णायक मण्डल (जुरी) सामु ती दाबीहरूको विरुद्धमा आफ्नो बचाउ गर्नुपर्नेछ ।

केजीएमको रूपमा चिनिने १९ वर्षीया किशोरी र उनकी आमा करेन ग्लेनले टिकटक, मेटा, स्न्याप र गुगलको युट्युबविरुद्ध मुद्दा दायर गरेका छन् । कम्पनीहरूले जानीजानी लत लगाउने खालका सुविधाहरू बनाएको आरोप उनीहरूले लगाएका छन् ।

त्यसले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा हानि पुर्याउनुका साथै आत्म–हानि र आत्महत्याको सोचसम्म पुर्याएको थियो ।

निवेदकका वकिल मार्क लानियरका अनुसार, मुद्दाको सुनुवाइ सुरु हुनुभन्दा एक दिन अगाडि टिकटकले अप्रकाशित सर्तहरूमा यस मुद्दालाई सुल्झाउन सहमत भएको छ । स्न्यापले गत साता नै गोप्य सर्तहरूमा मुद्दा मिलाएको थियो ।

अभिभावक, अधिवक्ता, स्वास्थ्यविद्, प्रविधि क्षेत्रका सूचनादाता र स्वयं किशोरकिशोरीहरूले वर्षौंदेखि सामाजिक सञ्जालले युवाहरूलाई स्क्रोलिङमा बानी पार्ने, बुलिइङ (धम्काउने काम) लाई प्रश्रय दिने, निद्रामा बाधा पुर्याउने र हानिकारक सामग्रीहरूको दलदलमा धकेल्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रविधि क्षेत्रका कार्यकारीहरूलाई पटक–पटक अमेरिकी संसदमा उभ्याइएको छ र एकपटक उनीहरूले ती अभिभावकहरूसँग माफी समेत मागेका थिए जसले सामाजिक सञ्जालका कारण आफ्ना सन्तानले ज्यान गुमाएको वा हानि बेहोरेको बताएका थिए ।

यति हुँदाहुँदै पनि यी कम्पनीहरूले अमेरिकामा खासै कानुनी कारबाही वा नियमनको सामना गर्नुपरेको छैन ।

केजीएमको मुद्दाले मौद्रिक क्षतिपूर्तिको माग गरेको छ । यसको नतिजाले मेटा, स्न्याप, टिकटक र युट्युब विरुद्ध परेका १ हजारभन्दा बढी यस्तै प्रकारका व्यक्तिगत क्षतिका मुद्दाहरू कसरी सुल्झिन्छन् भन्ने कुरामा प्रभाव पार्न सक्छ । लानियरले सीएनएनलाई बताए अनुसार, केजीएमको मुद्दामा स्न्याप र टिकटकसँग भएको सहमतिले अन्य मुद्दाहरू सुल्झाउनका लागि पनि आधार तयार गर्ने उनलाई आशा छ ।

लस एन्जलसमा हुने र केही हप्तासम्म चल्ने यस सुनुवाइका क्रममा मेटा, टिकटक र युट्युबका उच्च कार्यकारीहरू साक्षीका रूपमा कठघरामा उभिने अपेक्षा गरिएको छ ।

हालका वर्षमा टिकटक, मेटा, युट्युब र स्न्यापले सुरक्षा सुविधाहरू, नीतिहरू र अभिभावकीय नियन्त्रण उपकरणहरू ल्याएका छन् जसले युवा प्रयोगकर्ताहरूलाई सुरक्षित राख्ने उनीहरूको दाबी छ ।

यी चार सामाजिक सञ्जाल कम्पनीहरू यस वर्ष अन्य मुद्दाहरूमा पनि संलग्न छन् जसमा केही जिल्ला र राज्यका महान्यायाधिवक्ताहरूले दायर गरेका मुद्दाहरू पनि छन् । मुद्दा हारेमा यी कम्पनीहरूले अर्बाैं डलर क्षतिपूर्ति तिर्नुपर्ने हुन सक्छ र आफ्ना प्लेटफर्महरू परिवर्तन गर्न बाध्य हुनुपर्नेछ ।

‘प्रविधिका ठूला प्लेटफर्महरूका कारण शोषणमा परेका वा ज्यान गुमाएका बालबालिकाका अभिभावकहरूका लागि आगामी ६ हप्ता यी कम्पनीहरूबाट वर्षौंसम्म उपेक्षित भएपछि जवाफदेही बनाउनतर्फको पहिलो कदम हुनेछ,’ अनलाइन बाल सुरक्षाको वकालत गर्ने गैरनाफामूलक संस्था हिट इनिसिएटिभकी सीईओ सारा गार्डनरले भनिन्, ‘यी हाम्रो पुस्ताका लागि सुर्तीजन्य उत्पादनविरुद्धका मुद्दाहरू जस्तै हुन् र पहिलोपटक देशभरका परिवारहरूले यी प्रविधि कम्पनीका सीईओहरूबाटै उनीहरूले आफ्ना उत्पादनहरू बालबालिकाहरूलाई लत लगाउन कसरी जानाजानी डिजाइन गरे भन्ने कुरा प्रत्यक्ष सुन्न पाउनेछन् ।’

सामाजिक सञ्जालका दिग्गजहरूले युवाहरूका लागि जोखिम छ भन्ने जान्दाजान्दै पनि आफ्ना प्लेटफर्महरूलाई जानीजानी लत लाग्ने गरी डिजाइन गरेको केजीएमको मुद्दाले आरोप लगाएको छ ।

अदालती कागजातका अनुसार, क्यालिफोर्नियाकी एक किशोरी केजीएमले १० वर्षको उमेरदेखि नै सामाजिक सञ्जाल प्रयोग गर्न थालेकी थिइन् जबकि उनकी आमाले ’थर्ड पार्टी सफ्टवेयर’ प्रयोग गरेर ती प्लेटफर्महरूमा पहुँच रोक्ने प्रयास गरेकी थिइन् ।

उजुरीमा भनिएको छ, ‘विपक्षीहरूले आफ्ना उत्पादनहरू यसरी डिजाइन गर्छन् जसले बालबालिकालाई अभिभावकको सहमति छल्न सक्षम बनाउँछ ।’

इन्स्टाग्राम, टिकटक र स्न्यापच्याटको लत लगाउने डिजाइन र बारम्बार आउने नोटिफिकेसनले उनलाई यी प्लेटफर्महरू प्रयोग गर्न बाध्य बनाएको मुद्दामा उल्लेख छ, जसले गर्दा उनको मानसिक स्वास्थ्यमा गिरावट आयो ।

स्न्यापच्याट र इन्स्टाग्राममा अन्य प्रयोगकर्ताहरूसँग जोडिन सिफारिस गर्ने सुविधाहरूले नाबालिग वादी केजीएम र अपरिचित व्यक्तिहरूबीचको सम्बन्ध बनाउन मद्दत पुर्यायो, जसमा हिंस्रक वयस्कहरू र अन्य व्यक्तिहरू थिए जसलाई उनले वास्तविक जीवनमा चिन्दिनथिन्, उजुरीमा भनिएको छ ।

इन्स्टाग्राम र टिकटकले कथित रूपमा केजीएमलाई निराशाजनक र हानिकारक सामाजिक तुलना र शारीरिक बनावट सम्बन्धी सामग्रीहरू देखाएर लक्षित गरेका थिए ।

इन्स्टाग्राममा के.जी.एम. ले आफू बुलिङ र सेक्स्टोर्सन (यौनजन्य फोटोको माध्यमबाट गरिने ठगी) मा परेको आरोप लगाएकी छन् । मेटाले यस समस्यालाई सम्बोधन गर्न दुई हप्ता लाग्यो र त्यसका लागि केजीएमका साथीभाइ र परिवारले अन्य इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई उनलाई लक्षित गर्ने व्यक्तिहरूका विरुद्ध रिपोर्ट गर्न आग्रह गर्नुपरेको थियो, उजुरीमा भनिएको छ ।

‘विपक्षीहरूको जानाजानी उत्पादन डिजाइन, मार्केटिङ, वितरण र सञ्चालन गर्ने निर्णयले केजीएम र उनको परिवारलाई गम्भीर भावनात्मक र मानसिक क्षति पुर्यायो,’ उजुरीमा भनिएको छ, ‘ती क्षतिहरूमा उत्पादनहरूमा खतरनाक निर्भरता (लत), चिन्ता, डिप्रेसन, आत्म–हानि, र बडी डिस्मोर्फिया (आफ्नो शरीरप्रति अनावश्यक हीनताबोध) समावेश छन् तर यतिमा मात्र सीमित छैनन् ।’

केजीएमको मुद्दा टिकटक, युट्युब, मेटा र स्न्यापका कारण भएका यस्तै हानिहरूको आरोप लगाउने करिब १५ सय व्यक्तिगत क्षतिका मुद्दाहरूमध्येको एक प्रमुख मुद्दा हो ।

सन् २०२४ मा तत्कालीन अमेरिकी सर्जन जनरल विवेक मूर्तिले युवाहरूमाझ बढ्दो मानसिक स्वास्थ्य संकटलाई ध्यानमा राख्दै सामाजिक सञ्जाल प्लेटफर्महरूमा सुर्तीजन्य पदार्थमा जस्तै चेतावनी लेबल अनिवार्य गर्न संसद्लाई आग्रह गरेका थिए । र गत वर्ष प्रकाशित प्यु रिसर्च सेन्टरको अध्ययनले झन्डै आधा अमेरिकी किशोरकिशोरीहरू सामाजिक सञ्जालको उनीहरूकै उमेरका मानिसहरूमा धेरैजसो नकारात्मक प्रभाव पर्ने विश्वास गर्छन् भन्ने देखाएको थियो।

तर, प्रविधि क्षेत्रका नेताहरूले वर्षौंदेखि सामाजिक सञ्जालले युवाहरूको मानसिक स्वास्थ्यमा हानि पुर्याउँछ भन्ने कुरालाई अस्वीकार गर्दै आएका छन् । उनीहरू यस विषयमा ठोस अनुसन्धानको अभाव रहेको तर्क गर्छन् र आफ्ना प्लेटफर्महरूले मनोरञ्जन र साथीभाइसँग जोडिने फाइदाहरू पुर्याउने दाबी गर्छन् ।

प्रविधि दिग्गजहरूले बारम्बार सेक्सन २३० को सहारा लिने गरेका छन्, जुन एक संघीय कानुन हो जसले उनीहरूलाई प्रयोगकर्ताहरूले पोस्ट गर्ने सामग्रीको दायित्वबाट बचाउँछ । केजीएम र सम्बन्धित मुद्दाहरूको हेरचाह गरिरहेकी लस एन्जलस सुपेरियर कोर्टकी न्यायाधीश क्यारोलिन कुलले गत वर्ष भनेकी थिइन् कि जुरीले सामग्री मात्र नभई कम्पनीहरूले लागू गरेका डिजाइन सुविधाहरू (जस्तै एन्डलेस स्क्रोलिङ) ले मानसिक स्वास्थ्यमा हानि पुर्याउन कत्तिको भूमिका खेलेको छ भन्ने कुरा विचार गर्नुपर्छ ।

स्न्यापले यसअघि नै स्न्यापच्याट परम्परागत सामाजिक सञ्जालभन्दा फरक रूपमा डिजाइन गरिएको जनाएको छ।

प्रतिक्रियाका लागि सोधिएको प्रश्नमा मेटाका प्रवक्ताले सीएनएनलाई युवा मानसिक स्वास्थ्य सम्बन्धी मुद्दाहरूको जवाफका लागि समर्पित एक वेबसाइट देखाए, जहाँ कम्पनीले दाबी गरेको छ कि यी मुद्दाहरूले हाम्रो कम्पनी र युवाहरूलाई अनलाइनमा सुरक्षित अनुभव प्रदान गर्न हामीले हरेक दिन गर्ने कामलाई गलत रूपमा चित्रण गर्छन् ।

‘हामीले अभिभावकहरूको कुरा सुनेका छौं, महत्त्वपूर्ण विषयहरूमा अनुसन्धान गरेका छौं र किशोरकिशोरीहरूलाई अनलाइनमा सुरक्षित राख्न वास्तविक परिवर्तनहरू गरेका छौं,’ मेटाले भनेको छ, ‘हामीले गरेको प्रगतिमा हामीलाई गर्व छ, हामी किशोरकिशोरीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने आफ्नो रेकर्डमा अडिग छौं र सुधारहरू गरिरहनेछौं ।’

युट्युबका प्रवक्ता जोसे कास्टानेडाले सीएनएनलाई दिएको विज्ञप्तिमा युवा मानसिक स्वास्थ्य मुद्दाहरूमा गरिएका आरोपहरू सिधै असत्य भएको बताएका छन् । उनले थपे, ‘युवाहरूलाई सुरक्षित र स्वस्थ अनुभव प्रदान गर्नु सधैं हाम्रो कामको केन्द्रमा रहेको छ ।’

टिकटकले यस विषयमा प्रतिक्रियाका लागि गरिएको अनुरोधको जवाफ दिएको छैन । हालका वर्षहरूमा टिकटकले ल्याएका सुरक्षा सुविधाहरूमा डिफल्ट गोपनीयता सेटिङहरू र अबेर राति आउने नोटिफिकेसनहरू बन्द गर्ने जस्ता कुराहरू समावेश छन् ।

यी प्रयासहरूका बाबजुद पनि धेरै अभिभावक र अधिवक्ताहरू सामाजिक सञ्जाल प्लेटफर्महरू अझै पनि युवा प्रयोगकर्ताहरूलाई सुरक्षित राख्न असफल भएको केजीएमको मुद्दाले आरोप लगाएको छ । अब चाँडै नै एउटा जुरीले यसमा आफ्नो निर्णय दिने मौका पाउनेछ ।