चुनावको मुखमा उपभोग्य वस्तुको आफूखुसी मूल्यवृद्धि, डलरको प्रभाव भन्दै पन्छिन्छ सरकार

7
Shares

काठमाडौं । उद्योगी व्यवसायीले निर्वाचनको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका छन् ।

कुनै उद्योगी व्यवसायीले डलरको अन्तर्राष्ट्रिय मूल्य बढेको बहानामा निर्वाचनको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका छन् भने कुनै उद्योगी व्यवसायीले निर्वाचनको प्रभावका कारण मूल्य वृद्धि भएको बताएका छन् ।

पछिल्लो एक साताको अवधिमा सरकारको भनाइमा उत्पादनमा मुलुक आत्मनिर्भर रहेको ‘अण्डा’ देखि तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थमा निर्भर खानेतेलसम्मको आफूखुसी मूल्य वृद्धि गरिएको छ । यस्तै चामल, मुसुरो दाल, राजमा, बेसार पाउडरलगायतको पनि मूल्य वृद्धि भएको छ ।

एक उद्योगीका अनुसार खानेतेलतर्फ मूल्य वृद्धि हुनुमा उत्पादनको करिब ७५ प्रतिशत भारतमा निर्यात हुनु हो । स्वदेशी बजारमा मागअनुसार आपूर्ति नहुँदा खानेतेलतर्फ ह्वात्तै मूल्य वृद्धि भएको हो ।

‘निश्चय पनि निर्वाचनको प्रभाव बजारमा पर्छ नै, हामीकहाँ मात्रै होइन ? विश्वभर निर्वाचनको समयमा बजारमा ठूलो प्रभाव पर्छ, अहिले बजारमा देखिएको मूल्य वृद्धि डलर बढेको प्रभाव होइन,’ ती उद्योगीले भने, ‘विभिन्न राजनीतिक दलले उद्योगी व्यवसायीसँग चन्दा लिएका छन्, कतिपयले अहिले पनि चन्दाको लागि दिनहुँ उद्योगी व्यवसायीलाई फोन सम्पर्क गरिराखेका छन् । राजनीतिक दलले उद्योगी व्यवसायीबाट उठाउने चुनावी खर्च अन्ततः बजारमा जाने उत्पादनमै जोडिन्छ । यसले गर्दा बजारमा अहिले महँगी वृद्धि भएको हो ।’

उता नियमन गर्ने निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने अन्तर्राष्ट्रिय बजारमा अमेरिकन डलरको मूल्य बढेको कारण बजारमा प्रभाव परेको भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिँदै आएको छ ।

गत मंसिरको तुलनामा माघको दोस्रो सातादेखि सबै प्रकारका खानेतेलको मूल्य अत्यधिक बढेको छ । कतिपय उद्योगीले पुरानो उत्पादनमा बढेको नयाँ मूल्यको रिलेबलिङ गरी बजारमा ल्याएका छन् ।

नेपाल खुद्रा व्यापार संघका अनुसार भुटेको तोरीको तेल, भटमास तेल, सनफ्लावर तेललगायतमा अस्वाभाविक रूपमा मूल्य वृद्धि भएको छ । गत मंसिरमा प्रति लिटर ४३० रुपैयाँमा बिक्री भएको भुटेको तोरीको तेल अहिले ४४० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै मंसिरमा प्रतिलिटर २४५ रुपैयाँमा बिक्री भएको भटमासको तेल २९० र २५० रुपैयाँमा बिक्री भएको सनफ्लावर तेल २९० रुपैयाँमा अहिले बिक्री भइरहेको छ ।

संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार अमेरिकी डलरको प्रभाव तत्कालै स्वदेशी बजारको उत्पादनमा पर्दैन ।
‘कच्चा पदार्थ आयातदेखि स्वदेशी उद्योगबाट प्रशोधन भएर त्यस्ता उत्पादन बजारमा आउन झण्डै तीनदेखि चार महिनासम्म लाग्छ,’ तुलाधरले भने, ‘अमेरिकी डलरकै प्रभाव पर्ने हो भने करिब सम्पूर्ण दाल र गेडागुडी, मसलाजन्य वस्तु तेस्रो मुलुकबाटै डलरमै खरिद भएर नेपालमा भित्रिने हो, ती सबैको मूल्य बढ्थ्यो । तेस्रो मुलुकबाटै आयात भएका धेरै वस्तुको तुलनात्मक मूल्य अहिले घटेको छ, तर भटमास, सनफ्लावर, तोरीको तेल र चामलमै किन मूल्य बढ्यो ?, राज्यको उपस्थिति बलियो नहुँदा ठूला उद्योगी व्यवसायीले आफूखुसी मूल्य बढाए ।’

हुन पनि बजारमा डलरकै प्रभाव परेको भए ज्वानो, जिरा, चना दाल, रहर दाल, मुंग दाललगायतका अन्य दाल र मसलाको मूल्य पनि बढ्ने थियो । यस्ता वस्तु पनि करिब शतप्रतिशत आयात नै हुन्छन् । झन् मंसिरको तुलनामा माघमा यस्ता कतिपय वस्तुको मूल्य घटेर बजारमा बिक्री भइरहेका छन् ।

संघका महासचिव तुलाधरले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मुख्य स्रोत केन्द्र उद्योगमा अनुगमन नगरेका कारण ठूला उद्योगी व्यवसायीले विभिन्न बहानामा आफूखुसी मूल्य वृद्धि गरेको जानकारी दिए ।

‘नियमन गर्ने निकायहरूको के कुरा गर्नु । दैनिक हजार दुई हजार रुपैयाँको कारोबार गर्ने खुद्रा व्यवसायीमा मात्रै अनुगमन गर्छन्, तर मुख्य स्रोत उद्योगमा कहिले पनि अनुगमन गर्दैनन्, यसले गर्दा जसले जति पायो त्यति मूल्य वृद्धि गरेका छन्,’ तुलाधरले क्लिकमाण्डुसँग भने, ‘अहिले बजारमा देखिएको मूल्य वृद्धिको अर्को कारण पनि छ, निर्वाचन लागेको छ । सबैतिर चन्दा आतंक पनि फैलिएको छ । त्यसको प्रत्यक्ष प्रभाव उपभोक्ताको टाउकोमै पर्ने हो ।’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक नरहरि तिवारीले अमेरिकी डलरको मूल्यवृद्धिको असरको प्रभाव नेपाली बजारमा परेको ‘रेडिमेड’ जवाफ दिए ।

‘चामल, अण्डा, खानेतेललगायतमा मूल्य वृद्धि भएको गुनासोहरू आइरहेका छन्,’ निर्देशक तिवारीले भने, ‘हाम्रा उद्योगहरू आयातित कच्चा पदार्थको भरमा चल्ने गर्छन्, पछिल्लो समयमा अमेरिकी डलरको मूल्य निकै बढेकाले बजारमा त्यसैको प्रभाव परेको हाम्रो बुझाइ छ । यो विषयमा विभागले गहन रूपमा अनुगमन गरिरहेको छ ।’

नेपालमा उत्पादन हुने सनफ्लावर र भटमासको कुल तेलको परिमाणमध्ये झण्डै ७५ प्रतिशत भारतमा निर्यात हुँदै आएको छ ।
‘भारतको तुलनामा सनफ्लावर र भटमासको कच्चा पदार्थ र कच्चा तेल आयात गर्दा नेपालका उद्योगीलाई निकै सस्तो र ठूलो फाइदाजनक हुने भएकाले यहाँ उत्पादन गरेको कुल तेलमध्ये ७५ प्रतिशतसम्म भारतमा निर्यात गर्छन्,’ ती उद्योगीले भने, ‘भारतमा बिक्री गर्दा एक त ठूलो मार्जिनसहितको मुनाफा हुन्छ, अर्को क्यासमै बिक्री हुन्छ । नेपालमा बिक्री गर्दा उधारोमा बिक्री गर्नुपर्छ र नाफा पनि कम हुन्छ । स्वदेशी बजारको कुल मागको २५ देखि ३० प्रतिशत हाराहारीमा मात्रै स्वदेशी उद्योगबाट खानेतेल आपूर्ति भएकाले अभाव सिर्जना भएर पनि तेलको मूल्य बढेको हो ।’

चार सय ३० मा बिक्री भएको भुटेको तोरीको तेल प्रतिलिटर ४ सय ४० मा बिक्री भइरहेको छ । भुटेको तोरीको तेल नेपालमा ठूलो परिमाणमा चोरी तस्करी भएर भारतबाट भित्रिन्छ । यस्तै मंसिरमा प्रतिलिटर ३ सय ६० रुपैयाँमा बिक्री भएको काँचो तोरीको तेल माघमा ३ सय ८० देखि ३ सय ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

‘सरकारले तेल उत्पादन उद्योगहरूको हकमा कम्तिमा एउटा कोटाको प्रतिशत तोकिदिनुपर्छ, उत्पादनको कुल परिमाणमध्ये ५० प्रतिशत स्वदेशी बजारमा बिक्री गर्नुपर्छ भनेर एउटा बाध्यात्मक व्यवस्था गरिदिनुपर्छ,’ ती उद्योगीले भने, ‘तोकिएको कोटाबाहेक उसले जति परिमाणमा पनि निर्यात गर्न पायो । यसले गर्दा स्वदेशी बजारमा खानेतेलको अभाव हुन्न र कुनै पनि बहानामा मूल्य पनि वृद्धि हुँदैन ।’

चालु आर्थिक वर्षको ६ महिनामा ५७ अर्ब ४३ करोड ७१ लाख २८ हजार रुपैयाँ बराबरको ३६ करोड ६९ लाख ८४ हजार ११० लिटर–किलो क्रुड सोयाबिन तेल आयात भएको थियो । यो अवधिमा ५६ अर्ब ८ करोड २४ लाख २६ हजार रुपैयाँ बराबरको २७ करोड २२ लाख ७५ हजार ९ सय १८ किलो भारतमा निर्यात भएको थियो ।

यस्तै ६ महिनामा ६ अर्ब ९ करोड ७५ लाख ७३ हजार रुपैयाँ बराबरको ४ करोड ३ लाख २७ हजार १ सय ७६ लिटर क्रुड पाम आयल आयात भएको थियो । यो अवधिमा भारतमा ३ अर्ब १४ करोड ९ लाख २० हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ९८ हजार लिटर रिफाइन्ड पाम आयल निर्यात भएको थियो ।

त्यस्तै ८ अर्ब २९ करोड ४९ लाख २४ हजार रुपैयाँ बराबरको ५ करोड ५५ लाख ७२ हजार ९ सय ५६ लिटर क्रुड सनफ्लावर तेल आयात भएको थियो । यो अवधिमा नेपालबाट भारतमा भने ४ अर्ब ७८ करोड ४४ लाख ८८ हजार रुपैयाँ बराबरको २ करोड २२ लाख ६७ हजार १ सय ४८ लिटर निर्यात भएको छ ।

नेपाल चामल, तेल, दाल उद्योग संघका कार्यसमिति सदस्य विभोर अग्रवालका अनुसार मंसिरको तुलनामा हरेक प्रकारका चामलको मूल्य वृद्धि भएको छ ।

उद्योगलाई आवश्यकताअनुसार नेपालमा धानको उत्पादन नहुने भएकाले भारतबाट आयात गर्नुपर्छ । भारतमा यतिबेला प्रतिक्विन्टल २ हजार ३ सय ५० भारतीय रुपैयाँबाट मूल्य वृद्धि भएर प्रतिक्विन्टल २ हजार ५ सय ५० भारतीय रुपैयाँ पुगेको छ ।

भारतले बंगलादेशलाई २ लाख मेट्रिक टन चामल दिन लागेकाले स्थानीय व्यापारीहरूले धानको मूल्य वृद्धि गरेकाले नेपालमा पनि त्यसको प्रभाव परेको अग्रवालले भने ।

उनका अनुसार जिरा मसिनो (कतरनी), लङ ग्रेन बासमती, सोना मन्सुलीलगायतका चामलमा प्रतिबोरा (२५ किलो) मा एक सयदेखि एक सय ५० रुपैयाँसम्म वृद्धि भएको छ । प्रतिकिलोमा न्यूनतम ४ रुपैयाँदेखि ८ रुपैयाँसम्म वृद्धि भएको अग्रवालले जानकारी दिए ।

पछिल्लो ६ महिनाको अवधिमा विभिन्न मुलुकबाट नेपालमा ९ अर्ब ८७ करोड ३२ लाख ५७ हजार रुपैयाँ बराबरको २७ करोड ८ लाख २ हजार ७ सय ८१ किलो धान र १० अर्ब ५१ करोड २९ लाख ५ हजार रुपैयाँ बराबरको १३ करोड ८३ लाख १८ हजार ५ सय ९ किलो विभिन्न प्रकारका चामल नेपालमा भित्रिएको थियो ।

अग्रवालले डलरको मूल्य वृद्धिको प्रभाव तत्कालै बजारमा नदेखिने बताउँदै त्यसको असर तीन–चार महिनापछि मात्रै घरेलु बजारमा पर्ने जानकारी दिए ।

उपभोक्तावादी प्रेमलाल महर्जनले सरकारको गैरजिम्मेवारीपनका कारण उद्योगी व्यवसायीहरूले डलरको बहानामा आफूखुसी बजार मूल्य वृद्धि गरेको जानकारी दिए ।

बजार नियमन गर्ने जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक एक–दुई हजार रुपैयाँको व्यापार गर्ने व्यापारिक प्रतिष्ठानमा मात्रै अनुगमन गरी त्यस्ता व्यापारिक प्रतिष्ठानबाट ५० हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवाना गरे पनि कुलेश्वर, बल्खुलगायतका स्थानका थोक डिलरमा नियमन नगरेका कारण बजारमा अराजकता फैलिएको उपभोक्तावादी महर्जनले जानकारी दिए ।

‘महँगी किन बढ्यो भन्ने विषयमा तथ्यगत र वैज्ञानिक आधार खोज्न मूल स्रोत उद्योग र कुलेश्वर, बल्खुलगायतका मुख्य थोक डिलरमा विभागले नियमन गर्न आँट गर्नुपर्छ, त्यसो नगर्दासम्म महँगी बढेको वास्तविक जानकारी बाहिर आउँदैन,’ उनले भने, ‘राजनीतिक दलका नेता–कार्यकर्ताहरूले पनि चुनाव खर्च भनेर उद्योगी व्यवसायीसँग माग गरेकाले त्यसको प्रभाव पनि बजार मूल्यमा परेको हो ।’

उता नेपाल लेयर्स कुखुरापालक संघले प्रतिनिधिसभाको निर्वाचनको बहानामा कार्टेलिङ गरी अण्डाको मूल्य वृद्धि गरेको छ ।

संघका अध्यक्ष विनोद पोखरेलले निर्वाचनको कारण अण्डाको माग बढेको भन्दै अण्डाको मूल्य वृद्धि भएको बताएका छन् । सरकारले अण्डा उत्पादनमा मुलुक आत्मनिर्भर भएको बताइरहँदा व्यवसायीले भने निर्वाचनको नाममा कार्टेलिङ र सिन्डिकेट खडा गरी आफूखुसी मूल्य वृद्धि गरेका छन् ।

संघले सोमबारदेखि लागू हुने गरी ठूलो अण्डा एक क्रेट (३० वटा) को फार्म मूल्य चार सय ९५ रुपैयाँ तोकेको छ । यसअघि प्रतिक्रेट चार सय ६५ मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य ३० ले बढेको छ । यस्तै मझौला अण्डाको फार्म मूल्य चार सय ७५ कायम गरिएको छ । यसअघि यो अण्डा चार सय ४५ रुपैयाँमा बिक्री हुँदै आएको थियो ।

गत मंसिरमा अण्डाको मूल्य हालसम्मकै उच्च स्थानमा पुगेको थियो । तत्कालीन समयमा फार्ममा अति ठूलो अण्डा पाँच सय ८० प्रति क्रेटमा बिक्री भएको थियो । ठूलो ५६५ र मझौलाको मूल्य पाँच सय ५० सम्म पुगेको थियो । अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने संघको दाबी छ ।