किन लगातार बढिरहेको छ तामाको मूल्य ?


एजेन्सी । तपाईंले पछिल्लो समय तामाको मूल्य बढेको देखिरहनुभएको छ भने तपाईंलाई लाग्न सक्छ, तामामा त्यस्तो के विशेष कुरा छ र ?

तामाको सबैभन्दा राम्रो गुण भनेको यसले बिजुलीलाई कुशलतापूर्वक प्रवाह गर्छ र यसमा सजिलै खिया लाग्दैन । यो प्रभावकारी र लामो समयसम्म टिक्ने खालको हुन्छ । शायद त्यसैले नै आज उज्यालो दिने बत्तीदेखि टोस्टर र स्मार्टफोनसम्मका हरेक आधुनिक विद्युतीय उपकरणहरूमा यसको प्रयोग गरिन्छ ।

तर त्यसभन्दा बाहिर तामा धेरै नयाँ प्रविधिहरूका लागि एक आधारभूत धातु पनि बनेको छ । जस्तै, विद्युतीय सवारीसाधन (ईभी), हावाबाट चल्ने टर्बाइन, सौर्य प्यानल, पावर ग्रिड, डाटा सेन्टरहरू आदि । उदाहरणका लागि, एउटा ईभीले औसतमा ८०–९० किलो तामा उपयोग गर्छ जुन सामान्य कारको तुलनामा ४ गुणा बढी हो ।

विश्वका हरेक देश यातायातलाई विद्युतीकरण गर्न, ऊर्जालाई कार्बनमुक्त बनाउन र आफ्नो अर्थतन्त्रलाई डिजिटलाइज गर्न खोजिरहेका छन् । त्यसले गर्दा तामाको माग बढ्दै गएको छ । यसको कुनै सजिलो विकल्प छैन । कतिपयले तामालाई आल्मुनियमले प्रतिस्थापन गर्न सक्छ भन्ने तर्क गर्छन् तर त्यो गाह्रो छ ।

उच्च प्रदर्शन गर्ने विद्युतीय प्रणालीहरूमा दक्षता र तातो प्रतिरोध महत्त्वपूर्ण हुन्छ । त्यहाँ आल्मुनियमले तामाले जस्तो काम गर्न सक्दैन । चाँदी यसको सबैभन्दा राम्रो विकल्प हुन सक्छ, तर दैनिक प्रयोगका लागि यो धेरै महँगो छ । त्यसमाथि, चाँदीको मूल्य पनि आफैंमा उच्च विन्दुमा पुगिरहेको छ ।

तामाको यो बढ्दो माग यसको आकाशिएको मूल्यमा देखिन्छ । तामाको विश्वव्यापी बेन्चमार्क मूल्य लन्डन मेटल एक्सचेन्जमा निर्धारण गरिन्छ जसलाई सामान्यतया एलएमई तामा भनिन्छ ।

विगत एक वर्षमा तामाको मूल्य तीव्र रूपमा बढेको छ र यसले प्रतिटन १३ हजार डलरको सीमा समेत पार गरेको छ ।

जनवरी २३ सम्मको तथ्यांकअनुसार, मूल्य प्रतिटन १२ हजार ८०० डलरको आसपास छ जुन स्तरलाई कुनै समय चरम मानिन्थ्यो । र, यी मूल्यहरू अड्कलबाजीले मात्र बढेका होइनन् । यसले विश्वलाई कति तामा चाहिन्छ र थप उत्पादन गर्न कति गाह्रो छ भन्ने बीचको गहिरो संरचनात्मक तनावलाई प्रतिबिम्बित गर्दछ ।

यो तनाव किन छ भनेर बुझ्नका लागि तामा पृथ्वीको गहिराइबाट हामीले दैनिक प्रयोग गर्ने वस्तुहरूमा कसरी पुग्छ भन्ने कुरालाई नजिकबाट हेर्नु उपयोगी हुन्छ ।

तामाको जीवन पृथ्वीको धेरै गहिराइमा चट्टानको एक भागको रूपमा सुरु हुन्छ ।

तामा सामान्यतया ठूलो परिमाणमा रहेको धाउ (ओर) मा पातलो रूपमा फैलिएको हुन्छ । यस चट्टानमा तामाको एकाग्रतालाई ओर ग्रेड भनिन्छ ।

दशकौंअघि, विश्वका केही उत्कृष्ट तामा खानीहरू १.५ प्रतिशत वा त्यसभन्दा बढीको ओर ग्रेडमा सञ्चालित थिए । यसको अर्थ, प्रत्येक १०० किलो चट्टानमा १.५ किलो तामा हुन्थ्यो । अहिले धेरै नयाँ खानीहरू ०.६ प्रतिशत वा त्यसभन्दा कम ग्रेडमा सञ्चालित छन् । उत्ति नै परिमाणमा तामा निकाल्नका लागि अहिले धेरै बढी चट्टान खन्नुपर्ने र प्रशोधन गर्नुपर्ने हुन्छ ।

तामाको भण्डार फेला परेपछि धाउको सबैभन्दा धनी र केन्द्रित भागहरू सामान्यतया सतहको नजिक हुन्छन् र त्यहाँ पुग्न सजिलो हुन्छ । यी उच्च–ग्रेडका क्षेत्रहरू पहिले खनिन्छन् किनभने तिनीहरूले कम प्रयासमा बढी तामा दिन्छन् । समयसँगै ती क्षेत्रहरू रित्तिँदै जान्छन् । त्यसैले नयाँ ओर ग्रेडहरूमा तामाको मात्रा घट्दै गएको छ । जति गहिराइमा गयो, तामाको एकाग्रता उति नै कम हुँदै गएको देखिन्छ ।

खानी जति गहिरो हुँदै जान्छ, वरपरका खेर जाने चट्टानहरूको मात्रा, जसलाई अक्सर ओभरबर्डन भनिन्छ, पनि बढ्दै जान्छ । निकालिने प्रत्येक टन तामाका लागि खानी कामदारहरूले धेरै ठूलो परिमाणमा चट्टान ड्रिल गर्ने, विस्फोट गर्ने, ओसार्ने र प्रशोधन गर्ने गर्नुपर्छ । यसको प्रत्यक्ष नतिजा भनेको धेरै फोहोर, ठूला फोहोरका डम्पहरू र ठूला पोखरीहरू हुन् जबकि अन्तिम तामा उत्पादन उस्तै रहन सक्छ ।

विश्वव्यापी रूपमा, तामाको भण्डार केही क्षेत्रहरूमा केन्द्रित छ । चिली निर्विवाद रूपमा अगाडि छ । त्यसपछि पेरु, प्रजातान्त्रिक गणतन्त्र कंगो, चीन र अमेरिका आउँछन् ।

यी देशहरूका धेरै खानीहरू पुराना हुँदैछन् । खानीहरू गहिरो हुँदै जाँदा र ओर ग्रेड घट्दै जाँदा लागत बढ्छ र वातावरणीय चुनौतीहरू थपिन्छन् । पानीको अभाव, वातावरणीय विरोध, श्रम विवाद वा सरकारी नीतिमा हुने परिवर्तनका कारण पनि खानीहरू बन्द हुने वा ढिलाइ हुने क्रम बढ्दो छ । यसले तामाको आपूर्तिलाई कागजमा देखिएभन्दा धेरै कमजोर बनाएको छ ।

एकपटक तामाको धाउ खनेपछि त्यसलाई साना टुक्राहरूमा फुटाएर चट्टानबाट तामायुक्त पदार्थ अलग गर्न प्रशोधन गरिन्छ । धेरैजसो ठूला भण्डारहरूमा तामा सल्फाइड खनिजको रूपमा रहेको हुन्छ ।

यो पदार्थ फ्लोटेशन भनिने प्रक्रियाबाट गुज्रिन्छ जसमा पानी, रसायन र हावा प्रयोग गरेर बाँकी चट्टानबाट तामाको कन्सन्ट्रेट अलग गरिन्छ । यस चरणमा अत्यधिक पानी खपत हुन्छ । चिली जस्ता सुक्खा क्षेत्रहरूमा पानीको अभावले तामा उत्पादनलाई निकै सीमित बनाएको छ ।

यस चरणको उत्पादन तामाको कन्सन्ट्रेट हो जसमा सामान्यतया २५–३० प्रतिशत तामा हुन्छ । यो अझै प्रयोगयोग्य धातु होइन । यसलाई प्रशोधन गर्नका लागि अक्सर महादेशहरू पार गरेर स्मल्टरसम्म ढुवानी गर्नुपर्छ ।

स्मल्टरमा कन्सन्ट्रेटलाई सल्फर र अन्य अशुद्धताहरू हटाउन धेरै उच्च तापक्रममा तताइन्छ । यस प्रक्रियाले ब्लिस्टर कपर उत्पादन गर्छ जुन करिब ९८ प्रतिशत शुद्ध हुन्छ । ब्लिस्टर कपरलाई त्यसपछि परिष्कृत गरिन्छ ।

सामान्यतया इलेक्ट्रोलाइसिस प्रयोग गरेर लगभग पूर्ण शुद्धता भएको कपर क्याथोड उत्पादन हुन्छ । यी क्याथोडहरू रातो रंगका धातुका प्लेटहरू हुन् जसको तौल ५० देखि ८० किलो हुन्छ । यो तामाको त्यस्तो रूप हो जसलाई विश्वव्यापी रूपमा व्यापार गरिन्छ र एलएमई जस्ता एक्सचेन्जहरूमा मूल्य निर्धारण गरिन्छ ।

क्याथोडहरूबाट तामालाई रड, तार, ट्युब र पानाहरूमा ढालिन्छ र अन्ततः यो घर, कारखाना, सवारीसाधन र विद्युतीय पूर्वाधारहरूभित्र पुग्छ ।

तामा खानी उत्खनन विश्वकै सबैभन्दा बढी पुँजी लाग्ने र धेरै समय खपत हुने औद्योगिक गतिविधिहरूमध्ये एक हो । भण्डार पत्ता लगाउनेदेखि पहिलो टन तामा उत्पादन गर्नेसम्मको सम्पूर्ण प्रक्रियामा २० वर्षसम्म लाग्न सक्छ ।

ठूलो परिमाणमा पुँजीका अतिरिक्त यसमा भूगर्भ सर्वेक्षण, वातावरणीय स्वीकृति, जग्गा प्राप्ति, ड्रिलिङ आदि समावेश हुन्छन् । एक खानी सञ्चालकले एक रुपैयाँ कमाउनुअघि वर्षौं वा दशकौंसम्म अर्बौं डलर खर्च गर्नुपर्ने हुन सक्छ ।

शायद यी ठूला जोखिमहरूका कारण धेरैजसो कम्पनीहरू तामाको मूल्य उच्च हुँदा मात्र खानीमा रुचि राख्छन् । त्यस विन्दुमा अर्थशास्त्र कागजमा आकर्षक देखिन्छ । तर, खानी परियोजनाहरू निर्माण गर्न धेरै वर्ष लाग्छ ।

नयाँ आपूर्ति बजारमा आइपुग्दा तामाको मूल्य अक्सर कम भइसकेको हुन्छ जसले गर्दा कम्पनीहरूले ढिलो गरी ठूलो लगानी भित्र्याएको अवस्था सिर्जना हुन्छ ।

अर्कोतर्फ, तामा प्रशोधनको अर्थशास्त्रले तामाको उच्च मूल्यबाट त्यति धेरै फाइदा उठाउँदैन । तिनीहरूको मुनाफा ट्रीटमेन्ट चार्जेज र रिफाइनिङ चार्जेजमा निर्भर गर्छ जसलाई सामूहिक रूपमा टीसी÷आरसी भनिन्छ ।

खानीले तामाको कन्सन्ट्रेट उत्पादन गरेपछि कन्सन्ट्रेट स्मल्टरलाई बेच्छ । स्मल्टरले कन्सन्ट्रेटलाई परिष्कृत तामामा प्रशोधन गरेबापत खानी सञ्चालकसँग शुल्क लिन्छ । यो शुल्क नै टीसी÷आरसी हो । धेरै खानीहरू भएर प्रशोधन क्षमता सीमित हुँदा स्मल्टरहरूसँग बार्गेनिङ शक्ति हुन्छ र उनीहरूले उच्च टीसी÷आरसी लिन सक्छन् । तर, सीमित कन्सन्ट्रेटका लागि धेरै स्मल्टरहरूबीच प्रतिस्पर्धा हुँदा खानी सञ्चालकहरूको पल्ला भारी हुन्छ र उनीहरूले टीसी/आरसी घटाउँछन् ।

आजको विश्वमा खानी क्षमताको तुलनामा स्मल्टिङ (प्रशोधन) क्षमता छिटो विस्तार भएको छ । चीन, भारत र दक्षिणपूर्वी एसियाका केही मुलुकहरूले ठूला स्मल्टरहरू बनाएका छन् तर नयाँ खानीहरूको विकास सुस्त छ । परिणमस्वरूप, स्मल्टरहरू कन्सन्ट्रेटका लागि आक्रामक रूपमा प्रतिस्पर्धा गरिरहेका छन् ।

यसले टीसी÷आरसी दरलाई धेरै न्यून स्तरमा पुर्याएको छ जसले गर्दा तामाको मूल्य उच्च हुँदा पनि स्मल्टरहरूको नाफा खुम्चिएको छ । पछिल्लो १० वर्षमा, टीसी/आरसी दरहरू लगभग १०० डलरबाट २० डलरमा झरेका छन् ।

किन खानी कम्पनीहरूले स्मल्टरहरूको तुलनामा तामाको बढ्दो मूल्यबाट प्रत्यक्ष रूपमा बढी फाइदा उठाउँछन् भन्ने कुरा यस गतिशीलताले स्पष्ट पार्छ । यसले स्वदेशी तामा खानी नभएका देशहरू ठूलो प्रशोधन क्षमता भए पनि किन कमजोर रहन्छन् भन्ने कुरा पनि बुझाउँछ ।

यसको विपरीत, स्मल्टिङ छिटो र विस्तार गर्न सजिलो हुन्छ । एउटा स्मल्टर तीनदेखि चार वर्षमा निर्माण गर्न सकिन्छ । यसले भारतलगायत धेरै देशहरूलाई खानी उत्खननभन्दा प्रशोधनमा ध्यान केन्द्रित गर्न प्रेरित गरेको छ । तर कन्सन्ट्रेटमा सुरक्षित पहुँच नभएमा स्मल्टरहरू विश्वव्यापी आपूर्ति अवरोधको जोखिममा रहन्छन् ।

विश्वव्यापी तामा आपूर्ति शृंखलाले कसरी काम गर्छ भन्नेबारेको यो प्रारम्भिक जानकारी मात्र हो ।

विश्वव्यापी रूपमा, तामा उद्योग एकीकरण र रणनीतिक स्थिति परिवर्तनको अवधिमा प्रवेश गर्दैछ । ठूला खानी कम्पनीहरू मर्जर हुँदैछन्, सरकारहरूले स्रोत नीतिहरूको पुनर्मूल्यांकन गरिरहेका छन् र प्रविधि कम्पनीहरू समेत यसमा संलग्न भइरहेका छन् । अमेजन जस्ता ठूला कम्पनीहरूले तामाको अत्यधिक प्रयोग हुने उपकरणहरूले भरिएका विशाल डेटा सेन्टरहरू निर्माण गरेका छन् । उनीहरू दीर्घकालीन आपूर्ति सम्झौता र खानी सम्पत्तिहरूमा प्रत्यक्ष पहुँचको खोजी गरिरहेका छन् ।

साथै, रिसाइक्लिङको महत्त्व पनि बढ्दै गएको छ । तामालाई अनन्त पटक रिसाइकल गर्न सकिन्छ र रिसाइकल गरिएको तामालाई प्राथमिक उत्पादनको तुलनामा धेरै कम ऊर्जा चाहिन्छ । तर, भारत जस्ता देशहरूमा रिसाइक्लिङ अझै पनि छरिएको र अनौपचारिक छ जसले आयातमाथिको निर्भरतालाई अर्थपूर्ण रूपमा कम गर्ने यसको क्षमतालाई सीमित गरेको छ । विश्वलाई पहिलेभन्दा धेरै तामा चाहिएको छ र यसको उत्पादन कठिन, सुस्त र महँगो हुँदै गइरहेको छ ।