
काठमाडौं । विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्ग ‘होर्मुज स्ट्रेट’ मा बढ्दो तनावका बीच २२ शक्तिशाली मुलुकहरूले इरानविरुद्ध एकबद्धता जाहेर गरेका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) को विदेश मन्त्रालयमार्फत सार्वजनिक गरिएको एक संयुक्त विज्ञप्तिमा इरानले व्यापारिक जहाज र नागरिक पूर्वाधारमाथि गरेको आक्रमणको कडा निन्दा गर्दै मार्ग सुरक्षाका लागि आवश्यक योगदान दिन तयार रहेको घोषणा गरिएको छ।
संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने २२ राष्ट्रहरूमा यूएई, बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, जापान, क्यानडा, दक्षिण कोरिया, न्युजिल्यान्ड, डेनमार्क, लाटभिया, स्लोभेनिया, इस्टोनिया, नर्वे, स्विडेन, फिनल्यान्ड, चेक रिपब्लिक, रोमानिया, बहराइन, लिथुआनिया र अस्ट्रेलिया छन्।
विज्ञप्तिमा भनिएको छ, ‘इरानी सेनाले होर्मुज स्ट्रेटलाई लगभग ठप्प पारेको छ, जुन अन्तर्राष्ट्रिय समुद्री कानुनको विरुद्धमा छ।निहत्था व्यापारिक जहाजहरूमाथिको आक्रमणले विश्वभरका नागरिकलाई असर गर्नेछ।’
विज्ञप्तिमा समुद्री मार्गको स्वतन्त्रतालाई ‘अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त’ भन्दै सुरक्षित मार्ग सुनिश्चित गर्न योजना बनाइरहेका देशहरूलाई स्वागत गरिने र त्यसमा आफूहरू पनि योगदान गर्न तयार रहेको उल्लेख गरिएको छ।
यसलाई कूटनीतिक वृत्तमा इरानविरुद्ध सम्भावित सैन्य वा सुरक्षा गठबन्धनको संकेतका रूपमा हेरिएको छ।
स्ट्रेट अफ होर्मुज एउटा यस्तो जलमार्ग हो, जहाँबाट विश्वभर खपत हुने तेलको २० प्रतिशत (पाँचौँ हिस्सा) र ठुलो मात्रामा तरल प्राकृतिक ग्यास ओसारपसार हुन्छ।
यो मार्गबाट एसियाली मुलुकहरु चीन, भारत, जापान र दक्षिण कोरियाले आयात गर्ने कच्चा तेलको झन्डै ७० प्रतिशत आपूर्ति हुन्छ । यस्तै युरोपमा आपूर्ति हुने जेट इन्धनको ३० प्रतिशत हिस्सा यही मार्गमा निर्भर छ।
उत्पादक राष्ट्रहरू इरान, इराक, कुवेत, कतार, साउदी अरब र यूएईका तेल ट्याङ्करहरू यही साँघुरो जलमार्ग भएर विश्व बजारमा पुग्छन्।
यो मार्ग पूर्ण रूपमा बन्द भएमा विश्व बजारमा तेलको मूल्य अनियन्त्रित हुने र विश्वव्यापी आर्थिक मन्दी आउन सक्ने खतरा विज्ञहरूले औंल्याएका छन्।
यो तनावको मुख्य जरो गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त हवाई हमलालाई मानिएको छ।
उक्त हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेतृत्वलाई निशाना बनाइएपछि इरान र पश्चिमा मुलुकहरूबीच प्रत्यक्ष युद्ध सुरु भएको हो।
ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) को तथ्याङ्कअनुसार यो युद्धमा हालसम्म इरानमा ३ हजार १८६ जनाको मृत्यु भइसकेको छ।
मारिनेमा इरानका प्रभावशाली नेता अली लारिजानी र आईआरजीसीका प्रवक्ता अली मोहम्मद नैनी जस्ता उच्च पदस्थ अधिकारीहरू पनि सामेल छन्।
निरन्तरको क्षति र नेतृत्वको हत्याका बाबजुद इरान पछि हट्ने संकेत देखिएको छैन।
इरानको कुड्स फोर्सका प्रमुख कमान्डर ब्रिगेडियर जनरल इस्माइल कानीले शनिबार पहिलोपटक सार्वजनिक रूपमा बोल्दै आफ्नो आन्दोलन कमजोर नहुने उद्घोष गरेका छन्।

शीर्ष नेताहरू मारिए पनि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आफ्नो प्रतिरोध जारी राख्ने उनको भनाइ छ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै होर्मुज स्ट्रेटको सुरक्षाका लागि मित्र राष्ट्रहरूलाई युद्धपोत पठाउन अपिल गरिसकेका छन्।
अहिले २२ राष्ट्रले जारी गरेको संयुक्त विज्ञप्तिले उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय सैन्य उपस्थितिको सम्भावनालाई झन् बलियो बनाएको छ।
इरानले जलमार्ग बन्द गर्ने प्रयास गरिरहँदा र विश्वका शक्तिशाली राष्ट्रहरूले त्यसलाई खुल्ला राख्न बल प्रयोग गर्ने चेतावनी दिइरहँदा मध्यपूर्वको यो तनावले विश्व युद्धकै रूप लिन सक्ने भय उत्पन्न भएको छ।
४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोल्न ट्रम्पको इरानलाई चेतावनी
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज पूर्ण रुपमा सुरक्षित बनाएर खोल्न चेतावनी दिएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै इरानलाई ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज पूर्णरूपमा सुरक्षित बनाई खोल्न आग्रह गरेका छन् ।
यदि इरानले समयसीमाभित्र होर्मुज जलडमरूमध्ये नखोले अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गर्ने चेतावनी ट्रम्पले दिएका छन् ।
ट्रम्पले भनेका छन्, ‘अमेरिका इरानको सबैभन्दा ठूलो पावर प्लान्टबाट आक्रमण सुरु गर्दै क्रमशः अन्य ऊर्जा संरचना पनि नष्ट गर्नेछ ।’








प्रतिक्रिया