झापा २ : सभामुख र उपसभामुखको भिडन्त, कसले मार्ला बाजी ?

विजय गच्छदार आठौँ पटक उम्मेदवार


विराटनगर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण झापा क्षेत्र नं ५ ले मुलुकको ध्यान खिचिरहेको बेला झापाकै निर्वाचन क्षेत्र नं २ मा पनि चुनावी वातावरण चाखलाग्दो बनेको छ ।

यो क्षेत्रमा विघटित प्रतिनिधि सभाका निवर्तमान सभामुख, उपसभामुख, निवर्तमान प्रतिनिधि सभा सदस्य र पूर्वसंविधानसभा सदस्य चुनावी मैदानमा छन् । यहाँ तीन महिला नेतृको प्रतिस्पर्धाले पनि झापा २ ले चर्चा कमाएको छ ।

झापा ५ मा दुई भावी प्रधानमन्त्रीका उम्मेदवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहमध्ये एकको जित र एकको हार पक्का छ । यो निर्वाचन क्षेत्रले मुलुककै ध्यान केन्द्रित गरेको छ ।

ओली झापा ५ बाट आठौँ पटक उम्मेदवार बनेका छन् । यसअघिका सात निर्वाचनमध्ये ६ पटक विजयी बन्दै उनले एक पटक पराजय भोगेका छन् । उनी एमालेबाट भावी प्रधानमन्त्रीका उम्मेदवार हुन् ।

२०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ मा ओली विजयी हुँदा २०६४ मा भने माओवादी उम्मेदवार विश्वदीप लिङ्देनसँग १२ सय मतान्तरले पराजित भएका थिए ।

यस पटक ओलीको प्रतिस्पर्धा युवा पुस्ताका लोकप्रिय उम्मेदवार शाहसँग हुँदैछ । शाहको उम्मेदवारीसँगै यहाँ कांग्रेससहितका अन्य दलका उम्मेदवारको खासै चर्चा छैन । संघीय राजधानी काठमाडौँ जस्तो राजनीतिक केन्द्रमा स्वतन्त्रबाट महानगरको मेयरमा भारी मतले विजयी भएका र पछिल्लो जेनजी आन्दोलनपछि राजनीतिक कद ह्वात्तै बढेका बालेनको उम्मेदवारी ओलीका लागि भारी देखिन्छ ।

शाहलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा चुनावी मैदानमा उतारेको छ । युवा पुस्ता र भ्रष्टाचार अनि कुशासन विरोधीमाझ लोकप्रिय उनी काठमाडौँको सुरक्षित स्थान छाडेर झापा ५ मा ओलीसँगै प्रतिस्पर्धा गर्न आउनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

त्यस्तै, झापाकै निर्वाचन क्षेत्र नं २ मा विघटित प्रतिनिधि सभाका निवर्तमान सभामुख र उपसभामुख मात्र नभएर एक निवर्तमान प्रतिनिधि सभा सदस्यको चुनावी प्रतिस्पर्धाले रोचकता बढाएको छ । यहाँ एमालेका तर्फबाट निवर्तमान सभामुख देवराज घिमिरे, रास्वपाबाट उपसभामुख इन्दिरा राना र कांग्रेसबाट विघटित प्रतिनिधि सभा सदस्य सरिता प्रसाईं चुनावी मैदानमा छन् ।

उनीहरूसँगै संविधानसभा सदस्य रहिसकेकी माओवादी नेतृ धर्मशीला चापागाईं नेपाली कम्युनिस्ट पार्टीबाट र अघिल्लो निर्वाचनमा निवर्तमान सभामुख घिमिरेका प्रत्यासी स्वागत नेपाल पनि राप्रपाबाट चुनावी मैदानमा छन् । नेपाल २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर दोस्रो भएका थिए ।

विघटित प्रतिनिधि सभाका निवर्तमान सभामुख घिमिरे, उपसभामुख राना र प्रसाईंको उम्मेदवारीले मात्र नभई चर्चित तीन महिला नेतृको भिडन्तले पनि झापा २ चर्चामा आएको छ ।

विघटित संसद्‌मा उपसभामुख रहेकी राना र कांग्रेसकी प्रसाईं समानुपातिकबाट चुनिएका थिए । अनाथ बालबालिकाको क्षेत्रमा काम गरेर ख्याति बटुलेकी रानालाई रास्वपाले संसद्‌मा पुर्‍याएको थियो । नेविसंघबाट राजनीति गरेर कांग्रेसमा स्थापित भइसकेकी प्रसाईं पनि समानुपातिक सूचीबाटै सदनमा पुगेकी थिइन् । प्रसाईं कांग्रेस नेता चक्र बास्तोलाकी भान्जी हुन् । सभामुख देवराज घिमिरे एमाले अध्यक्ष ओलीका विश्वासपात्र मानिन्छन् ।

यसपालि झापा २ मा नेकपाबाट उम्मेदवार बनेकी धर्मशीला चापागाईंले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा झापा ४ मा कांग्रेस नेता चक्र बास्तोलालाई पराजित गरेकी थिइन् ।

२०७९ मा यही क्षेत्रबाट २८ हजार ७१६ मत पाएर घिमिरे विजयी हुँदा स्वतन्त्र उम्मेदवार बनेका स्वागत नेपालले २६ हजार ४५५ मत पाएको तथ्याङ्क छ ।

झापाको प्रमुख सहर बिर्तामोड र अर्जुनधारासहितको यो क्षेत्रमा यसपटक १ लाख ३४ हजार ९१ मतदाता छन् । यहाँ श्रम संस्कृति पार्टीले केशव भण्डारीलाई चुनावी मैदानमा पठाएको छ ।

२०७० को निर्वाचनमा झापा २ मा कांग्रेसका सुधीर सिवाकोटीले जितेका थिए । २०७४ मा एमालेकी पवित्रा खरेलले जितेकी थिइन् । २०७९ मा भने गठबन्धन गर्दा कांग्रेस उम्मेदवारविहीन रहँदा कांग्रेसले त्यसबेला माओवादीका हरि रानालाई सघाएको थियो ।

सुनसरी ३ मा विजय गच्छदार आठौँ पटक चुनावी मैदानमा

सुनसरी ३ बाट नेपाली कांग्रेसको तर्फबाट ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वमन्त्री विजयकुमार गच्छदारले आठौँ पटक उम्मेदवारी दर्ता गरेका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित पार्टी सभापति गगन थापाले हस्ताक्षर गरेको टिकट बोकेर नातामा भाइ पर्ने दुहवी नगर प्रमुख वेदनारायण गच्छदार निर्वाचन अधिकृतको कार्यालय पुगेपछि दिनभर अन्योल भएको थियो ।

दिनभरको छलफलपछि दुहबी नगरपालिकाका प्रमुख समेत रहेका वेद गच्छदार पछि हटेपछि अन्तिम समयमा विजयले उम्मेदवारी दर्ता गराएका थिए ।

सुनसरी ३ मा एमालेबाट निवर्तमान सांसद भगवती चौधरी, नेकपाबाट दुर्गेश चौधरी र रास्वपाबाट अशोक चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।

२०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरी १८ पटक मन्त्री भइसकेका गच्छदार सुनसरीबाट यो सहित आठौँ पटक चुनावी मैदानमा होमिएका छन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीसँग ५ हजारभन्दा बढी मतान्तरले पराजित भएबाहेक उनी अरू सबै निर्वाचनमा विजयी हुँदै आएका छन् । उनलाई ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका आरोपी हुन् ।

विजय कुनै बेला कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको ‘किचेन क्याबिनेट’ का शक्तिशाली पात्र थिए । गिरिजासँग खटपट सुरु भएसँगै शेरबहादुर देउवाले पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गर्दा उनी शेरबहादुरका पनि विश्वासपात्र बनेका थिए ।

शेरबहादुरसँग पनि दूरी बढेपछि उनी तत्कालीन मधेसी जनअधिकार फोरममा पुगे । फोरमका तत्कालीन अध्यक्ष उपेन्द्र यादवसँग पनि दूरी बढेपछि गच्छदारले फोरम लोकतान्त्रिक गठन गरे र पछिल्लो समय उनले फोरम लोकतान्त्रिकलाई कांग्रेसमै विलय गराएका थिए ।