काठमाडौं १ मा प्रकाशमानले पाएनन् टिकट, लोकमानका ज्वाइँ कांग्रेसका उम्मेदवार


काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ मा यसअघि लगातार जित्दै आएका नेता प्रकाशमान सिंहको ठाउँमा प्रबल थापालाई उम्मेदवार बनाएको छ ।

२०६४ देखि सोही क्षेत्रबाट लगातार चुनाव जित्दै आएका पूर्वउपप्रधानमन्त्री तथा पूर्वमहामन्त्री सिंह यस पटक टिकटबाट वञ्चित भएका हुन् ।

पार्टी सभापति गगन थापाले प्रकाशमान सिंहलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लड्न प्रस्ताव गरेका थिए । तर, सिंहले आफ्नो पुरानो क्षेत्र नम्बर १ छाड्न नमानेपछि सभापति थापाले उनलाई टिकट नदिई आफ्नो निकट मानिने प्रबल थापालाई टिकट दिएका हुन् । प्रबल काठमाडौं–१ बाटै कांग्रेसका महासमिति सदस्य हुन् ।

को हुन् प्रबल थापा ?

पार्टी सभापति थापानिकट मानिने प्रबल थापाको पारिवारिक र राजनीतिक सम्बन्ध चर्चाको विषय बनेको छ । उनी सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीका छोरी–ज्वाइँ हुन् । साथै, उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता कमल थापाका भान्जा समेत हुन् ।

उम्मेदवार बनेका थापा यसअघि कानुनी विवादमा समेत तानिएका व्यक्ति हुन् । २०७३ सालमा सर्वोच्च अदालतले लोकमान सिंह कार्कीविरुद्धको मुद्दामा म्याद तामेल गर्ने क्रममा बाधा अवरोध पुर्‍याएको ठहर गर्दै उनलाई १ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

अदालती प्रक्रियामा असहयोग गरेको अभियोगमा उनीसँगै तामेलदार शम्भुबहादुर खत्री, काठमाडौं महानगरपालिका वडा नम्बर १० की तत्कालीन सचिव सरिता राई र सई नकुलराज गौतमलाई समेत जनही १ हजार रुपैयाँ जरिवाना गरिएको थियो ।