
दमक । नेपाली कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईँले पार्टीको जिम्मेवारी र साधारण सदस्यता दुवैबाट राजीनामा दिएका छन्।
उनले कांग्रेस परित्याग गरी झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहलाई सघाउने घोषणा गरेका हुन्।
मनोनयन दर्ता स्थलमै बालेन शाहले प्रसाईँलाई खादा लगाएर स्वागत गरेका थिए ।
लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहेका प्रसाईँले आफ्नो राजीनामा घोषणा गर्दै अबको यात्रा पद, कुर्सी वा झण्डाका लागि नभई देशमा परिवर्तन ल्याउनका लागि हुने बताएका छन् ।
उनले काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाहलाई विजयको अग्रिम शुभकामना दिँदै चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
प्रसाईँकी श्रीमती रेगिना भट्टराई दमक नगरपालिकाकी उपमेयर हुन् । उनी २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट विजयी भएकी थिइन् ।
प्रसाईँको पार्टी परिवर्तन र बालेन शाहसँगको सहकार्यले झापा–५ को चुनावी माहोल थप रोचक बनेको छ भने यसलाई दमकको स्थानीय राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
पछिल्लो समय स्थापित दलका पुराना नेता तथा कार्यकर्ताहरूलाई आकर्षित गर्दै रास्वपाले आफ्नो संगठन विस्तारलाई तीव्रता दिइरहेको देखिन्छ ।








प्रतिक्रिया