भेनेजुएलाकी अन्तरिम राष्ट्रपति रोड्रिगेज सत्ता सुदृढ गर्दै


एजेन्सी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई कब्जामा लिएको १२ दिनयता अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले तेल उत्पादन बढाउने अमेरिकी मागहरू पूरा गर्दै आन्तरिक खतराहरूबाट आफूलाई जोगाउन प्रमुख पदहरूमा आफ्ना वफादारलाई नियुक्त गरी आफ्नो सत्ता सुदृढ गर्ने काम गरिरहेकी छन् ।

५६ वर्षीया रोड्रिगेज शान्त तर कडा नेत्री हुन् । उनी पहिले उपराष्ट्रपति र तेलमन्त्री थिइन् । उनले अर्थतन्त्र चलाउनका लागि सहयोग गर्न केन्द्रीय बैंकर, राष्ट्रपतिको प्रमुख स्वकीय सचिव र मुख्य रूपमा भेनेजुएलाको डरलाग्दो सैन्य प्रतिगुप्तचरी निकाय डीजीसीआईएम (जुन दशकौंदेखि क्युबाली सहायतामा निर्माण गरिएको थियो) को नयाँ प्रमुख नियुक्त गरेकी छन् ।

६५ वर्षीय मेजर जनरल गुस्ताभो गोन्जालेजले अब यस निकायको नेतृत्व गर्नेछन् । सरकारको जानकारी राख्ने तीन स्रोतहरूले यस कदमलाई रोड्रिगेजको एक प्रारम्भिक चालको रूपमा वर्णन गरेका छन् जसको उद्देश्य उनको नेतृत्वका लागि सबैभन्दा ठूलो खतरा मानिने डियोस्डाडो काबेलोको सामना गर्नु हो । काबेलो भेनेजुएलाका कट्टरपन्थी गृहमन्त्री हुन् जसको सुरक्षा निकायहरू र विपक्षी समर्थकहरूको हत्या गर्ने डरलाग्दो कोलेक्टिभोस भनिने मोटरसाइकल गिरोहहरूसँग नजिकको सम्बन्ध छ ।

‘अमेरिकीहरूको सहमति बिना बाँच्ने उनीसँग क्षमता छैन भन्ने कुरामा उनी प्रस्ट छिन्,’ सरकार निकट एक स्रोतले रोयटर्सलाई बतायो, ‘उनले सशस्त्र बललाई सुधार गर्न थालिसकेकी छन् । मानिसहरूलाई हटाउँदै उनी नयाँ अधिकारीहरू नियुक्त गर्दैछिन् ।’

कूटनीतिकर्मी, व्यवसायी र राजनीतिकर्मीहरू सहित भेनेजुएलाका सात स्रोतहरूसँगको अन्तर्वार्ताले भेनेजुएला सरकारको केन्द्रमा रहेको दरार र यसले रोड्रिगेजका लागि निम्त्याउने जोखिमहरूलाई पहिले नखुलिएका विवरणहरू सहित रोयटर्सले उजागर गरेको छ । रोड्रिगेज तेल बिक्रीमा ट्रम्प प्रशासनको निर्देशनहरू पालना गर्दै आन्तरिक नियन्त्रण सुदृढ गर्ने प्रयासमा छिन् । स्रोतहरूले प्रतिशोधको डरले नाम नछाप्ने शर्तमा कुरा गरेका छन् ।

पदभार ग्रहण गरेदेखि रोड्रिगेजले हिँड्न खोजिरहेको कठिन यात्रा उनको पहिलो प्रमुख भाषणमा स्पष्ट देखिन्थ्यो । बिहीबार राष्ट्रिय वार्षिक सम्बोधनमा संसद्लाई सम्बोधन गर्दै उनले एकताका लागि आह्वान गरिन् । त्यससँगै मदुरोको वफादार प्रतिनिधिको रूपमा आफ्नो निष्ठामा जोड दिइन् र बढ्दो तेल लगानीसँगै भेनेजुएलाको राजनीतिमा नयाँ अध्याय सुरु गर्ने कसम खाइन् ।

भेनेजुएलाको सञ्चार मन्त्रालयले सरकार र व्यक्तिगत अधिकारीहरूका लागि सबै प्रेस सोधपुछहरू हेर्ने गर्छ । उसले यस विषयमा टिप्पणीका लागि गरिएको अनुरोधको जवाफ दिएन ।

ह्वाइट हाउसले रोयटर्सको इमेल प्रश्नहरूको जवाफमा ट्रम्पले हालै गरेका टिप्पणीहरू हेर्न भन्यो । बुधबार रोयटर्ससँगको अन्तर्वार्तामा ट्रम्पले रोड्रिगेजसँग कुराकानी गर्न धेरै सजिलो भएको र कुनै बेला उनी वाशिङटन आउने अपेक्षा गरेको बताए ।
आफ्नो व्यापारिक सम्बन्धका कारण द सारिना उपनाम पाएकी रोड्रिगेजको महत्त्वपूर्ण तेल उद्योग लगायत देशको नागरिक सत्तामा व्यापक प्रभाव छ । अहिले उनले अमेरिकाको समर्थन पनि पाएकी छन् । रोड्रिगेजले काराकासमा सीआईए निर्देशक जोन र्याटक्लिफसँग भेट बिहीबार गरेपछि त्यो पुनः पुष्टि भयो ।

अर्को मुख्य गुटको नेतृत्व काबेलोले गरेका छन् ।

सत्तारूढ पीएसयूभी समाजवादी पार्टीको नेतृत्व गर्ने काबेलो पूर्व सैनिक हुन् । उनको सरकारी टेलिभीजनमा साप्ताहिक रूपमा चार घण्टाको कार्यक्रम आउँछ जुन विगत १२ वर्षदेखि चलिरहेको छ । मदुरोको पक्राउपछिको उनी टेलिभिजनमा फ्ल्याक ज्याकेट लगाएर र हतियारधारी गार्डहरूले घेरिएर देखा परेका थिए । त्यहाँ उनले शंका गर्नु भनेको धोका दिनु हो भन्दै नारा लगाउनेहरूको नेतृत्व गरेका थिए ।

ट्रम्प प्रशासनका अधिकारीहरूले मदुरोलाई कब्जा गर्ने अपरेसनभन्दा महिनौंअघि काबेलोलाई सम्पर्क गरेका थिए र त्यसपछि पनि उनीसँग संवादमा रहेको कुरा यस मामिलाका जानकार चार स्रोतहरूले रोयटर्सलाई बताएका छन् । उनीहरूले उनलाई सुरक्षा निकाय वा कोलेक्टिभोस प्रयोग गरेर विपक्षीलाई निशाना नबनाउन चेतावनी दिएका थिए ।

सन् १९९२ को असफल विद्रोहमा समाजवादी राष्ट्रपति ह्युगो चाभेजलाई समर्थन गरेका कारण भेनेजुएलामा जेल परेका काबेलोमाथि अमेरिकामा अभियोग लगाइएको छ र उनलाई समात्नका लागि २.५ करोड डलरको इनाम राखिएको छ ।

अहिलेसम्म काबेलो रोड्रिगेजप्रति नरम देखिएका छन् । उनले उनीहरू एकताबद्ध रहेको बताएका छन् र बिहीबारको राष्ट्रिय सम्बोधनमा उनी रोड्रिगेज र उनका भाइ जोर्गे (जो राष्ट्रिय सभाका प्रमुख हुन्) सँगै आएका थिए । तर, उनीहरूको सम्बन्धको बारेमा जानकारी राख्ने स्रोतहरूले रोयटर्सलाई बताएअनुसार काबेलो नै उनको शासन गर्ने क्षमताका लागि सबैभन्दा ठूलो खतरा बनेका छन् ।

काराकासमा सुरक्षाबलहरू त्रसित छन् । रोड्रिगेजले शपथ लिएको केही घण्टापछि राष्ट्रपति भवनबाहिर विमानभेदी तोपको आवाज सुनिएको थियो । त्यसले कतिपयलाई यो अर्को अमेरिकी आक्रमण हुन सक्ने डर पैदा गराएको थियो । तर रिपोर्टहरूका अनुसार, यो प्रहरी र राष्ट्रपतिको सुरक्षाबल बीचको गलत सञ्चार थियो । उनीहरूले प्रहरीका ड्रोनहरू खसालेका थिए ।

सरकारले ती ड्रोनहरू जासुसी ड्रोन भएको बताएको छ । तर, ती कसका थिए भन्ने खुलाएको छैन ।

देशभरका मानिस मदुरोको पक्राउले दिएको झट्काबाट स्तब्ध छन् र उनीहरू आशावादी हुने कि डराउने भन्नेमा अनिश्चित छन् । केही ठाउँहरूमा स्थानीय समाजवादी पार्टीका शाखाहरूले आफ्ना सदस्यलाई छिमेकीहरूको जासुसी गर्न र मदुरोको पतनको खुसी मनाउने कसैको पनि रिपोर्ट गर्न भनेका छन् । नाम नछाप्ने शर्तमा तीन पार्टी सदस्यहरूले रोयटर्सलाई यो कुरा बताएका हुन् ।

यस तनावपूर्ण वातावरणमा रोड्रिगेजले पार्टीका वफादारहरूलाई आफू मदुरोलाई धोका दिने अमेरिकी कठपुतली नभएको विश्वास दिलाउनुपर्नेछ । उनले अमेरिकी आक्रमणपछिका दिनहरूमा आधारभूत वस्तुहरूको मूल्य आकाशिएको अर्थतन्त्रलाई स्थिर बनाउनुका साथै दशकौंदेखिको चाभेजवादी शासनमा विकसित भएका सेनासँग सम्बन्धित व्यापक संरक्षण सञ्जालहरूमाथि केही हदसम्म नियन्त्रण कायम गर्नुपर्नेछ ।

भेनेजुएलासँग करिब २ हजार जनरल र एडमिरलहरू छन् जुन सैन्य महाशक्ति अमेरिकाको भन्दा दोब्बर बढी हो ।

अमेरिकासँग २० गुणा बढी सक्रिय र जगेडा सैनिकहरू छन् । वरिष्ठ र सेवानिवृत्त अधिकारीहरूले खाद्यान्न वितरण, कच्चा पदार्थ र सरकारी तेल कम्पनी पीडीभीएसए नियन्त्रण गर्छन् जबकि दर्जनौं जनरलहरू निजी कम्पनीका बोर्डहरूमा बस्छन् ।

आफ्नो कमान्डमा रहेका सैनिकहरूलाई गस्ती वा चेकपोइन्ट राख्न लगाएर धेरै अधिकारीहरूले आफ्ना क्षेत्रहरूलाई आफू अनुकूल चलाउन सक्छन् । र मदुरोको पक्राउपछि देशका केही भाग र राजधानी काराकासमा सुरक्षा निकायहरूको गतिविधि बढेको देखिएको छ ।

सैन्य प्रतिगुप्तचरी निकाय डीजीसीआईएमका नयाँ प्रमुख गोन्जालेजले भेनेजुएला सरकारमा आफ्नो लामो करियरमा काबेलोसँग नजिक रहेर काम गरेका छन् । विशेषगरी, दुईपटक छुट्टै नागरिक जासुसी निकायको प्रमुख हुँदा उनी काबेलो निकट थिए ।

तैपनि, गोन्जालेज आफ्ना हालका पदहरूका लागि रोड्रिगेजप्रति ऋणी छन् । सन् २०२४ मा रोड्रिगेजले गोन्जालेजलाई सरकारी तेल कम्पनीमा उच्च पदका लागि छनोट गरेकी थिइन् । त्यो भेनेजुएलाको सबैभन्दा महत्त्वपूर्ण कम्पनी र देशको अर्थतन्त्रको इन्जिन हो ।

गोन्जालेजले डीजीसीआईएममाथि कति नियन्त्रण कायम गर्न सक्छन् भन्ने प्रश्न अझै बाँकी छ । निकायभित्र रहेका काबेलोका सहयोगीहरूले उनलाई कमजोर बनाउन सक्छन् भन्ने कुरा सरकारबारे जानकार तीन स्रोतहरूले बताएका छन् । सुरक्षा निकायको आन्तरिक कार्य प्रणालीबारे जानकार एक स्रोतले गोन्जालेजका पूर्ववर्ती जनरल हाभियर मार्कानोले यस निकायलाई नियन्त्रण गर्न संघर्ष गर्नुपरेको बताएका छन् ।

‘प्रमुख दमनकर्ताको भूमिका पहिलेदेखि नै डियोस्डाडोले खेलिरहेका छन्,’ ती व्यक्तिले भने, ‘मार्कानोले नागरिक मिलिसिया र कोलेक्टिभोससँग समन्वय गरिरहेका थिए तर उनलाई डीजीसीआईएम नियन्त्रण गर्न गाह्रो भएको थियो किनभने उनको नियुक्ति नाम मात्रको थियो ।’

रोयटर्सले मार्कानोसँग सिधा सम्पर्क गर्न सकेन र भेनेजुएलाका अधिकारीहरूसँगका सबै औपचारिक सञ्चार सञ्चार मन्त्रालय मार्फत हुने गर्दछ । उसले यस विषयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिएन ।

काबेलोसँग नजिकको सम्बन्ध भएका कोलेक्टिभोसले अराजकताको रणनीति अपनाएर देशलाई शासन गर्न नसकिने बनाउन सक्छ । यो रणनीति सुरुमा अमेरिकी हस्तक्षेपलाई रोक्न बनाइएको थियो तर अब रोड्रिगेजको विरुद्धमा प्रयोग हुन सक्ने कुरा सरकारनिकट स्रोतले रोयटर्सलाई बताएको छ । त्यस रणनीतिले काराकासलाई अव्यवस्था र अराजकतामा धकेल्नका लागि गुप्तचर निकाय र कोलेक्टिभोसलाई परिचालन गर्नेछ ।

काबेलोले ट्रम्पद्वारा प्रशंसा गरिएका कैदीहरूको रिहाइको गतिलाई पनि सुस्त बनाउन सक्छन् । परिवार र मानवअधिकार समूहहरूले माग गरेभन्दा निकै सुस्त गतिमा रिहाइ भइरहेको छ जसले रोड्रिगेजका लागि सम्भावित दबाब सिर्जना गरेको छ ।
यद्यपि, भेनेजुएला बाहिर भने काबेलोमाथि दबाब बढ्दै गएको छ ।

‘ट्रम्प प्रशासनले भेनेजुएलामा वास्तविक संक्रमण हासिल गर्नका लागि ढिलो वा चाँडो डियोस्डाडो काबेलोले अमेरिकी न्यायको सामना गर्नुपर्नेछ,’ अमेरिकी प्रतिनिधि मारिया एल्भिरा सालाजारले यसै महिना सामाजिक सञ्जाल एक्समा लेखिन्, ‘डियोस्डाडोलाई न्यायको कठघरामा ल्याइएमा भेनेजुएलामा लोकतान्त्रिक संक्रमण र सबै राजनीतिक बन्धकहरूको रिहाइका लागि निर्णायक कदम हुनेछ ।’