तत्कालका लागि टर्‍यो अमेरिका–इरान युद्ध, पाकिस्तानको भूमिका महत्त्वपूर्ण


एजेन्सी । विश्व भूराजनीतिको अहिले उच्च जोखिमयुक्त अवस्थामा छ । इरानमा इस्लामी शासकहरूले जनतामाथि चरम दमन गरेर हजारौंको ज्यान लिएपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हस्तक्षेप गर्ने वाचा गरेका छन् ।

तर, इरानमाथि सैन्य आक्रमण गर्दा इस्लामी शासनलाई नै फाइदा पुग्ने र पश्चिम एसियामा व्यर्थै तनाव सिर्जना हुने भनी अमेरिकाका अरबी साझेदारहरूले सम्झाएका छन् । वास्तवमा वाशिङटन र तेहरानबीचको तनाव चरम विन्दुमा पुग्दा कतारले मध्यस्थता गर्ने गरेको थियो । तर, गत मंगलबार कतारको साटो पाकिस्तानले मध्यस्थता गरेको छ ।

अमेरिकाले पाकिस्तानलाई इरानमाथि कुनै आक्रमण नहुने भन्दै संयम अपनाउनका लागि आग्रह गरेको सन्देश दिनका लागि मंगलबार बिहान आग्रह गरेको थियो । विशेषगरी, एरफान सोल्तानीलाई इरानले मृत्युदण्ड दिन लागेकोमा त्यसलाई रोक्दा मात्र अमेरिकाले आक्रमण नगर्ने सन्देश इरानी शासकहरूलाई दिइएको थियो ।

अमेरिकाले इरानलाई आश्वस्त पारेको केही घण्टाभित्रै विश्वको डर मापन गर्ने सबैभन्दा संवेदनशील यन्त्र मानिने विश्वव्यापी वित्तीय बजारले यसमा प्रतिक्रिया दियो । ब्रेन्ट क्रुड (कच्चा तेल) को मूल्य पश्चिम एसियामा भयानक युद्ध हुने डरले गर्दा बढिरहेको थियो । तर, त्यो २.५ प्रतिशतले घट्यो ।

क्षेत्रीय युद्धको तत्कालिन खतरा टर्यो । यो कुनै शान्ति सम्झौताद्वारा नभई सुनियोजित आर्ट अफ द डिलबाट सम्भव भयो । पूर्ण विनाशको धम्की देखाएर मौन रूपमा तनाव कम गरियो ।

इस्लामाबाद च्यानलको महत्त्व बुझ्नका लागि मंगलबार बिहान १ बजेको सन्देशभन्दा ७२ घण्टा अघिको समयलाई हेर्नुपर्छ । रोयटर्स र द गार्डियन लगायतका विश्वव्यापी सञ्चारमाध्यमहरूले अमेरिकी वायुशक्तिको ठूलो परिचालनको खबर दिइरहेका थिए । हिन्द महासागरमा रहेको अमेरिकी सैन्य आधार इलाका डिएगो गार्सियामा सबैको ध्यान केन्द्रित थियो ।

भूउपग्रहीय तस्बिरहरूले ६ वटा बी–२ स्पिरिट स्टेल्थ बमवर्षक विमानहरू त्यहाँ आइपुगेको पुष्टि गरे । त्यो अमेरिकाको युद्धका लागि तयार स्टेल्थ फ्लीट (रेडारले पत्ता नलगाउने विमानहरूको बेडा) को झन्डै आधा हिस्सा हो । यी विमानहरू प्रदर्शनका लागि मात्र राखिएका हुँदैनन् । यिनीहरू इरानको पहाडभित्र गहिरो गरी लुकाइएको फोर्दो इन्धन प्रशोधन केन्द्रसम्म पुग्न सक्ने ३० हजार पाउन्ड तौलको बंकर बस्टर (जीबीयू–५७) बोक्न सक्ने विमान हुन् ।

त्यसै समयमा इजरायलको राजधानी तेल अभिभबाट आएका रिपोर्टहरूले इजरायलको विङ अफ जायन (अमेरिकाको एयर फोर्स वन जस्तै) विमानलाई ग्रीसतिर सारिएको संकेत गरे । ठ्याक्कै यस्तै प्रवृत्ति पोहोर साल जुन २०२५ को तनावपूर्ण समयमा देखिएको थियो । हरेक सैन्य संकेतले युद्धको संकेत गरिरहेका थिए । तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने डर उत्पन्न भएको थियो ।

यो तनाव कम गर्ने प्रक्रियामा मध्यस्थकर्ताको छनोट आश्चर्यजनक थियो । दशकौंदेखि कतारले पश्चिम एसियाको तटस्थ मध्यस्थकर्ताको रूपमा आफूलाई उभ्याउँदै आएको छ । तर, तटस्थताको सार्वजनिक मूल्य चुकाउनुपर्ने हुन्छ । कतारको मध्यस्थता धेरै चर्चामा रहन्छ र मिडियाको निगरानीमा पर्छ ।

अल जजीराले उल्लेख गरेअनुसार, इस्लामाबाद र तेहरानबीचको सम्बन्ध जटिल भए पनि मौलिक रूपमा गहिरो छ । यी दुई राष्ट्रबीच ९५९ किलोमिटर लामो साझा सीमा छ । अझ महत्त्वपूर्ण कुरा, पाकिस्तानको गुप्तचर निकाय (आईएसआई) र इरानको इस्लामिक रिभोलुशनरी गार्ड कर्प्स (आईआरजीसी) बीचको सञ्चार दुवै देशका बहालवाला सरकार बन्नुभन्दा पहिलेदेखिकै हुन् ।

भूगोलले सञ्चारको अनिवार्यता सिर्जना गर्छ । प्रमाणित गर्न नसकिने वा अस्वीकार गर्न मिल्ने (प्लजिबल डिनायबिलिटी) स्थिति कतारले दिन नसक्ने कुरा पाकिस्तानले दिन्छ । बिहान १ बजे इस्लामाबादमार्फत सन्देश पठाएर वाशिङटन र तेहरान दुवैले आफ्नो इज्जत जोगाउने बाटो अपनाए ।

यसो गरेपछि इरानी मुल्लाहरूलाई कडा शक्ति प्रयोग गरेर तह लगाएको भनी ट्रम्पले आफ्ना समर्थकहरूलाई भन्न पाए । आफ्नो रणनीतिक धैर्य र सैन्य तयारीले अमेरिकालाई तर्साएको इरानले आफ्ना जनतालाई भन्न पायो । इस्लामाबाद च्यानलको संरचनाले दुवै पक्षलाई आफ्नै भाष्य कायम राख्न मद्दत गर्छ ।

सैन्यशक्तिको प्रदर्शनले आक्रमण गराउँछ नै भन्ने थिएन । ब्लुमबर्ग र फाइनान्सियल टाइम्सका भूराजनीतिक विश्लेषकहरूले उल्लेख गरेझैं, यो त सम्झौताका लागि आवश्यक लेभरेज (दबाब) थियो ।

ट्रम्पले बी–२ विमान प्रयोग गर्ने आफ्नो इच्छाशक्ति पहिले नै प्रमाणित गरिसकेका थिए । जुन महिनामा उनले सातवटा बी–२ र १४ वटा बंकरबस्टर प्रयोग गरी इतिहासकै ठूलो प्रहारको अनुमति दिएका थिए । आफूले आक्रमण गर्न सक्ने कुरा स्थापित गरिसकेका ट्रम्पलाई वास्तवमै आक्रमण गरिरहनु परेन । डिएगो गार्सियाको धावनमार्गमा रहेका अमेरिकी बमवर्षक विमानहरू ब्याकच्यानलमार्फत भइरहेको वार्ताका लागि सबैभन्दा ठूलो दबाब थिए ।

ट्रम्पले आफू जति सजिलै आक्रमण गर्न सक्छु, त्यति नै सजिलै संयम पनि अपनाउन सक्छु भन्ने कुरा प्रमाणित गरेर अमेरिकाको आक्रामक छविलाई पुनर्परिभाषित गरेका छन् ।

भौतिक आक्रमणको खतरा टरे पनि इरानमाथिको आर्थिक कसीकसाउ प्रक्रिया अझ तीव्र भएको छ । ट्रम्पको रणनीतिको वास्तविक चातुर्य र कठोरता यसैमा देखिन्छ ।

कच्चा तेलको मूल्य ६०.११ डलरमा झरेपछि बजारका लगानीकर्ताहरूले ट्रम्पको चाल बुझे । तनाव कम हुनुको अर्थ इरानका लागि घाटा थियो । इरानका लागि तेलको मूल्य घट्नु भनेको कुनै क्षेप्यास्त्र आक्रमणभन्दा बढी हानिकारक हुन्छ ।

हालको अनुमान अनुसार, मूल्यमा आएको यस गिरावटले इरानको कुल राज्य राजस्वको १० देखि १५ प्रतिशत हिस्सा गुम्नेछ । पहिलेदेखि नै आर्थिक संकट र जनविद्रोह झेलिरहेको शासनका लागि यो आम्दानीको क्षति विनाशकारी छ । ट्रम्प प्रशासनको नजरमा मूल्यको दबाबले गर्ने काम टोमाहक क्षेप्यास्त्रले समेत गर्न सक्दैन । यसले कुनै युद्ध नगरिकन इरानी सैन्यबलको आर्थिक स्रोतलाई सुकाइदिन्छ ।

इरानसँगको यो खेल रणनीतिको एउटा पाटो मात्र हो । अर्को पाटो इरानका बाँकी सहाराहरू चीन र भारत हुन् ।

इरानसँग व्यापार जारी राख्ने देशहरूमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएर वाशिङटनले बेइजिङ र नयाँ दिल्लीका लागि ७० अर्ब डलरको जोखिम सिर्जना गरिदिएको छ । वाल स्ट्रीट जर्नलले हाइलाइट गरेझैं इरानको सबैभन्दा ठूलो तेल खरिदकर्ता चीनले अब कि त सस्तो इरानी तेल किन्ने, कि त अमेरिकाको विशाल बजारमा आफ्नो पहुँच सुरक्षित राख्नेमध्ये एक छनोट गर्नुपर्ने हुन्छ ।

यो आर्थिक संरचनाले इरानमाथिको घेराबन्दीलाई पूर्ण बनाउँछ । इरानी मुद्रा रियाल लगातार ओरालो लागिरहेको छ र जनता सडकमा छन् । बमहरू खसिरहेका छैनन् र तिनको आवश्यकता पनि छैन । वाशिङटनको हिसाबकिताबमा जुन शासनले आफ्ना सिपाहीलाई तलब दिन सक्दैन वा जनतालाई खुवाउन सक्दैन, त्यो शासन पहिले नै हारिसकेको छ ।

यस साताका घटनाहरूले पश्चिम एसियाको कूटनीतिक नियमहरूलाई पुनर्लेखन गरिदिएका छन् । इस्लामाबाद सन्देशले सन् २००० को दशकको फरेभर वार्सबाट टाढा हटेर अधिकतम दबाब र अधिकतम लाभको नयाँ मोडलतर्फको यात्रालाई संकेत गरेको छ ।

अमेरिकाले बी–२ बमवर्षक विमानहरूमार्फत इरानलाई ध्वस्त पार्ने अपेक्षा संसारले गरिरहेको थियो । तर, त्यसको साटो मनोवैज्ञानिक युद्धको एक उत्कृष्ट नमूना देख्न पाइयो । इरानसँग पाकिस्तानको अनुपम भौगोलिक र गुप्तचर सम्बन्धलाई प्रयोग गरेर ट्रम्पले विश्वलाई विनाशको डिलमा पुग्नबाट जोगाए र साथसाथै इरानको आर्थिक घेराबन्दीलाई अझ कसिलो बनाए ।

बजार शान्त भएर इजरायली विमानहरू घर फर्केपछि सन्देश स्पष्ट भएको छ । आर्ट अफ द डिल घरजग्गा वा व्यापारिक सम्झौताका लागि मात्र नभई विश्वव्यापी द्वन्द्व व्यवस्थापन गर्ने प्राथमिक माध्यम बनेको छ ।

अमेरिकीहरूले विजयी हुनका लागि युद्ध सुरु गर्नुपरेन । उनीहरूले युद्धको धम्कीलाई उपयोग गरेर युद्ध नै गर्न नपर्ने कुरा सुनिश्चित गरेका छन् ।