
एजेन्सी । डेनमार्क, ग्रीनल्यान्ड र अमेरिकाबीचको वार्ता असफल भएपछि ग्रीनल्यान्डको सुरक्षा बढाउन फ्रान्स, जर्मनी र अन्य युरोपेली देशका सैनिकहरू त्यहाँ पुग्न थालेका छन् ।
फ्रान्सले १५ र जर्मनीले १३ जना सैनिकहरू पठाइसकेका छन् । नर्वे र स्विडनले पनि यसमा सहभागिता जनाइरहेका छन् ।
यस मिसनलाई एक प्रतीकात्मक कार्यको रूपमा ग्रीनल्यान्डमा युरोपेली संघको झण्डा गाड्नका लागि क्षेत्र–पहिचान अभ्यासको रूपमा वर्णन गरिएको छ ।
‘पहिलो फ्रान्सेली सैन्य टोली बाटोमा छ र अरूहरू पनि पछि आउनेछन्,’ फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बुधबार बताए । फ्रान्सेली अधिकारीहरूका अनुसार, देशको पहाडी पैदल सेना एकाइका सैनिकहरू ग्रीनल्यान्डको राजधानी नुक पुगिसकेका छन् ।
फ्रान्सले यो दुईदिने मिसन आवश्यक परेमा युरोपेली संघका सेनाहरू चाँडै परिचालन गर्न सकिन्छ भनेर देखाउने एउटा माध्यम भएको जनाएको छ ।
यसैबीच जर्मनीको रक्षा मन्त्रालयले बिहीबार ग्रीनल्यान्डमा १३ जनाको टोली परिचालन गरिरहेको जानकारी दिएको छ ।
युरोपेली राष्ट्रहरूमा एक प्रकारको हतारो देखिएको छ । विशेषगरी, भेनेजुएलामा अमेरिकाको कदमपछि डोनल्ड ट्रम्पले जे भन्छन्, त्यो वास्तवमै पूरा गर्छन् भन्ने भावना विकास भएको छ । त्यसैले धेरै युरोपेली देशहरूले सेना पठाएका हुन् ।
रुस र चीनको बढ्दो चासोका बीच खनिज स्रोतहरूको उपयोग गर्न अर्ध–स्वायत्त डेनिस क्षेत्र कब्जा गर्ने ट्रम्पको मनसायबारे छलफल गर्न डेनमार्क र ग्रीनल्यान्डका विदेशमन्त्रीहरूले वाशिङटन डीसीमा ह्वाइट हाउसका प्रतिनिधिहरूसँग भेट गरेकै दिन (बुधबार) डेनमार्कले ग्रीनल्यान्डमा आफ्नो सैन्य उपस्थिति बढाउने योजना घोषणा गरेको छ ।
तर, अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भेन्ससँगको भेटपछि दुवै विदेशमन्त्रीहरू वाशिङटनलाई ग्रीनल्यान्ड कब्जा गर्ने सोचबाट रोक्न खासै सफल भएनन् ।
‘हामीले अमेरिकी अडान परिवर्तन गर्न सकेनौं,’ डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले पत्रकारहरूलाई बताए, ‘ग्रीनल्यान्ड कब्जा गर्ने ट्रम्पको इच्छा प्रस्ट छ ।’
ग्रीनल्यान्डकी विदेशमन्त्री भिभियन मोट्जफेल्टले अमेरिकासँग सहयोगका लागि आह्वान गरिन् । तर, ग्रीनल्यान्ड अमेरिकाको स्वामित्वमा हुन चाहन्छ भन्ने नरहेको यसको मतलब उनले स्पष्ट पारिन् ।
डेनमार्कका युरोपेली सहयोगीहरूले ग्रीनल्यान्डमा गरेको सैन्य मिसनले राष्ट्रपति ट्रम्पको योजनामा कुनै फरक नपार्ने ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले पत्रकारहरूलाई बताइन् । ‘युरोपेली सैनिकहरूले राष्ट्रपतिको निर्णय प्रक्रिया वा ग्रीनल्यान्ड प्राप्त गर्ने उहाँको लक्ष्यमा कुनै असर गर्छ जस्तो मलाई लाग्दैन,’ लेभिटले भनिन् ।
ट्रम्पले बुधबार ओभल अफिसमा पत्रकारहरूलाई ग्रीनल्याण्ड साँच्चै आवश्यक रहेको र आफूहरू त्यहाँ नगएमा रुस र चीन त्यहाँ जाने बताए । ‘डेनमार्कले यसमा केही गर्न सक्दैन, तर हामी सबै गर्न सक्छौं,’ उनले थपे ।








प्रतिक्रिया