
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विभिन्न राजनीतिक दलहरूसँग आफ्नो पार्टी एकीकरण हुन लागेको भन्ने चर्चाको खण्डन गरेका छन् । पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा उज्यालो नेपाल पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुन लागेको चर्चापछि घिसिङले यस्तो स्पष्टीकरण दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै घिसिङले नेपाल कम्युनिस्ट पार्टी लगायतका अन्य दलहरूसँग एकीकरण हुन लागेको भन्ने समाचारहरू पूर्ण रूपमा भ्रामक, असत्य र निराधार रहेको बताएका छन् ।
अध्यक्ष घिसिङले भनेका छन्, ‘म अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र मेरो नाम जोडेर अन्य पार्टीहरू, विशेषगरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो ।’
उनले उज्यालो नेपाल पार्टी कुनै पनि अन्य शक्तिसँग समाहित नहुने र आफ्नै मौलिक नीति, सिद्धान्त र एजेन्डाका आधारमा अघि बढ्ने स्पष्ट पारेका छन् ।
‘उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरी अघि बढ्ने स्पष्ट जानकारी गराउन चाहन्छु,’ घिसिङले उल्लेख गरेका छन् ।
पार्टीको बढ्दो प्रभावका बीच यस्ता गलत सूचना फैलाएर भ्रम सिर्जना गर्न खोजिएको भन्दै उनले आफ्ना नेता, कार्यकर्ता र आम नागरिकलाई यस्ता प्रायोजित समाचारको विश्वास नगर्न अनुरोध गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङ नेकपासँगै सहकार्यमा आउने विश्वास गरेका थिए । मंगलबार पत्रकार भेटघाटमा प्रचण्डले साथीहरुले विभिन्न तहमा कुलमानसँग छलफल र सम्वाद गरिरहेको बताएपछि कुलमान नेकपा जान लागेको चर्चा चलेको थियो ।








प्रतिक्रिया