सभापतिमा गगनको मात्रै उम्मेदवारी, विश्व र प्रदीपले के गरे ?


काठमाडौं । नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ ।

यसै क्रममा सभापति पदमा गगन थापाको एकल उम्मेदवारी परेको छ भने विश्वप्रकाश शर्माले उपसभापति, महामन्त्री पदमा प्रदीप पौडेलले मनोनयन दर्ता गराएका छन् ।

बुधबार बिहान सहमतिको प्रयासस्वरुप सभापति शेरबहादुर देउवासँग थापा र शर्माले वार्ता गरेका थिए । तर, उक्त वार्ता सफल हुन नसकेपछि दुई नेता यतिबेला कानुनविद्हरूसँगको परामर्शमा जुटेका छन् ।

यसैबीच, निर्वाचन समितिले नेतृत्व चयनलाई सर्वसम्मत बनाउने अधिकतम प्रयासस्वरूप उम्मेदवारी दर्ताकै क्रममा नयाँ रणनीति अपनाएको छ । मनोनयन दर्ता गर्न आउने आकांक्षीहरूलाई ‘आवश्यक परेको खण्डमा उम्मेदवारी फिर्ता लिन तयार छु’ भन्ने मन्जुरीनामा फाराममा समेत हस्ताक्षर गराइएको छ ।

निर्वाचन समितिका एक सदस्यका अनुसार, मतदानको स्थिति नबनोस् र हलले सहमतिको म्याण्डेट दिएमा त्यसलाई कार्यान्वयन गर्न कानुनी बाधा नहोस् भन्नका लागि यो उपाय अपनाइएको हो ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार दर्ता भएका उम्मेदवारहरूको नामावली आज दिउँसो १ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।