लगातार निक्षेपको ब्याजदर घटाउँदै बैंकहरू, माघमा कुन बैंकको ब्याजर कति ?


काठमाडौं । माघका लागि पनि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । बैंकहरूमा निक्षेप लगातार बढिरहेको छ । तर, कर्जाको मागमा सुधार हुन नसक्दा अधिक तरलताको चाप लगातार बढ्दै जाँदा बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर लगातार घटाउँदै लगेका छन् ।

२० वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदरको औसत नै ४.६८ प्रतिशतमा झरेको छ । पुसमा यस्तो औसत ४.८५ प्रतिशत रहेकोमा पुसको तुलनामा माघमा ०.१६ प्रतिशत बिन्दुले घटेको हो ।

२० मध्ये १२ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । बाँकीले यथावत राखेका हुन् । वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत नै ४.६८ प्रतिशतमा सीमित भएको छ ।

नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्न स्थायी निक्षेप सुविधाको लागि बचतको न्यूनतम ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरभन्दा कम दिने बैंकले उक्त सुविधा नपाउने व्यवस्था गरेको छ । सोही कारण बैंकहरूले बचतको ब्याजदर घटाउन पाएका छैनन् । सोही कारण कोषको लागत कम गर्न मुद्दती निक्षेपको ब्याजदर नै घटाउँदै लगेका हुन् ।

व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदरबीचको अन्तर १ प्रतिशत बिन्दु कायम गर्नुपर्ने व्यवस्था खारेज गरेपछि संस्थागत निक्षेपको ब्याजदरको क्याप हटेको छ । जसले गर्दा बैंकहरूलाई व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाउने बाटो खुलेको हो ।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि निजी क्षेत्रको मनोबल झनै कमजोर भएको छ । जसले गर्दा ३ वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलता बिस्तारै सुधार हुने अपेक्षा गरिएकामा तत्कालका लागि मनोबल कमजोर भएकाले उत्साह नदेखिँदा बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका हुन् । गत असार–साउनतिर कर्जाको मागमा सुधार हुने अवस्था देखिए पनि जेनजी मुभमेन्टपछि फेरि कर्जाको मागमा सुस्तता देखिएको हो ।

निक्षेप लगातार बढेको तर कर्जाको माग नबढेको र तत्काल बढ्ने अवस्था नदेखिएपछि बैंकहरूले माघको लागि प्रकाशन गरेको ब्याजदर थप घटाएका हुन् । बैंकहरूसँग साढे १२ खर्बभन्दा बढी लगानीयोग्य स्रोत छ भने करिब ९ खर्ब रुपैयाँ अधिक तरलता भएपछि राष्ट्र बैंकले प्रशोचन गरेको अवस्था छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले अपेक्षा गरेअनुसार कर्जा विस्तार भए पनि करिब ६ खर्ब मात्रै कर्जा विस्तार हुन सक्छ । तर, त्यसभन्दा बढी तरलता केन्द्रीय बैंकले खिचेको अवस्था भएकोले कर्जाको मागमा अपेक्षित सुधार नभएसम्म ब्याजदर बढाउनुभन्दा लागत घटाउनुपर्ने अवस्था रहेको बैंकरहरू बताउँछन् । आर्थिक वर्षको ६ महिना सकिँदा डेढ खर्ब मात्रै कर्जा विस्तार भएको छ ।

२० मध्ये ७ वटा वाणिज्य बैंकहरूको मात्रै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत वा सोभन्दा माथि रहेको छ । धेरैजसो बैंकले ५ वा १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा मात्रै अधिकतम ब्याजदर प्रस्ताव गरेका छन् । जसको औसत ब्याजदर नै ४.६८ प्रतिशतमा झरेको हो । ६ महिना वा १ वर्षभन्दा कम अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ प्रतिशतभन्दा पनि तल छ ।

गभर्नर डा. विश्वनाथ पौडेलले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिमार्फत नीतिगत दरहरू घटाएका थिए । उनले विशेष गरी ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दर ०.२५ प्रतिशत बिन्दुले घटाएर २.७५ प्रतिशत बनाएका थिए । जसले बैंकहरूलाई ब्याजदर घटाउन थप प्रोत्साहन गरेको हो । उनले नीतिगत दर र बैंकदर समेत घटाएका थिए ।

हाल सञ्चालनमा रहेका २० मध्ये ग्लोबल आईएमई बैंकले मात्रै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.५ प्रतिशत प्रस्ताव गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले माघमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ४.३६ प्रतिशत मात्रै ब्याजदर दिने भएको छ । व्यक्तिगत मुद्दती निक्षेपमा नेपाल बैंकले अधिकतम ५.१ प्रतिशत ब्याजदर प्रस्ताव गरेको हो ।

हिमालयन, राष्ट्रिय वाणिज्य, एनआईसी एशिया, एनएमबी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर माघको लागि ५ प्रतिशत प्रस्ताव गरेका छन् । पुसमा ५.५ प्रतिशत रहेको हिमालयन बैंकले माघमा ०.५ प्रतिशत बिन्दुले घटाएर ५ प्रतिशत बनाएको हो ।

सिद्धार्थ बैंकले पुसमा ५ प्रतिशत दिएको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर माघमा ४.५५ प्रतिशतमा घटाएको छ । त्यस्तै सानिमा बैंकले ४.७५ प्रतिशतबाट ०.२ प्रतिशत बिन्दुले घटाएर ४.५५ प्रतिशत ब्याजदर बनाएको हो । प्रभु बैंक र नबिल बैंकको भने पुसमा ४.५५ प्रतिशत रहेकोमा माघमा पनि ४.५५ प्रतिशत नै छ ।

यस्तै माछापुच्छ्रे बैंकले पुसमा ५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर माघमा घटाएर ४.५ प्रतिशत बनाएको हो । लक्ष्मी सन्राइज बैंकले ४.७५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत बनाउँदा कुमारी बैंकले ४.५३ प्रतिशतबाट घटाएर ४.४३ प्रतिशत बनाएको हो ।

माघमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशत दिने बैंकहरूमा एभरेष्ट, नेपाल एसबिआई, प्राइम र कृषि विकास छन् । एभरेष्टले पुसको ४.७५ प्रतिशतबाट घटाएर ४.४ प्रतिशत बनाएको हो ।

नेपाल एसबिआई बैंकले पुसको ४.५५ प्रतिशतबाट घटाएर माघमा ४.५ प्रतिशत बनाउँदा प्राइमले पुसको ४.५५ प्रतिशतबाट घटाएर माघमा ४.४ प्रतिशत बनाएको हो । कृषि विकास बैंकले पनि ४.५५ प्रतिशतबाट नै माघमा ४.४ प्रतिशतमा घटाएको हो ।

माघमा सबैभन्दा कम भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर ४.३६ प्रतिशत छ । बैंकले पुसमा ४.६ प्रतिशत प्रकाशित गरेकोमा माघमा घटाएको हो ।