
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ताका लागि आज साँझ ६:३० देखि ७:३० बजेसम्मको समय तोकिएको छ ।
निर्वाचन समितिका संयोजक सीताराम केसीले निर्धारित एक घण्टाको समयभित्रै उम्मेदवारी दर्ता गरिसक्नुपर्ने र समय थप नहुने जानकारी दिएका छन् ।
निर्वाचन समितिले मतदानसहितको परिमार्जित कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । संयोजक केसीका अनुसार आज राति मतदान हुने छैन र भोलि बिहानैदेखि निर्वाचनका बाँकी प्रक्रिया अघि बढाइनेछ । ‘साँझ साढे ७ बजेपछि मनोनयनको समय थपिने छैन,’ उनले भने, ‘भोलि बिहानबाट कार्यक्रमहरूलाई निरन्तरता दिन्छौँ ।’
यता, महाधिवेशनको बन्दसत्र विगत ९ घण्टादेखि निरन्तर जारी छ । बिहानदेखि चिया र खानाका लागि समेत विश्राम नगरी बन्दसत्र सञ्चालन गरिएको सचिवालयले जनाएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सत्रको सुरुदेखि नै बन्दसत्रमा सहभागी छन् ।
बन्दसत्र अझै करिब दुई घण्टा चल्ने र सहभागीहरूबाट आएका सुझावहरूलाई दस्ताबेजमा समेट्ने कार्य भइरहेको छ । आज साँझ दुवै महामन्त्रीले सम्बोधन गरेपछि मात्रै बन्दसत्र समापन हुने र त्यसपछि निर्वाचन प्रक्रियाको नयाँ कार्यतालिका कार्यान्वयनमा आउने बताइएको छ ।








प्रतिक्रिया