
काठमाडौं । इरानमा बढ्दो महँगी, मुद्रास्फीति र बेरोजगारीबाट आजित भएका जनताले डिसेम्बर महिनाको अन्त्यबाट सुरु गरेको विरोध प्रदर्शन चर्कंदै गएको छ ।
विगतमा पनि सरकारविरोधी आन्दोलनहरू हुने गरेका थिए तर ती कुनै निष्कर्षमा नपुगिकन टुंगिने गरेका थिए । यसपालिको आन्दोलनले सार्थक परिवर्तन ल्याउने आशा इरानीहरूले गरेका छन् ।
पहिलेको भन्दा फरक रूपमा यसपालि इरानीहरूले धर्मतन्त्र (थियोक्रेसी) लाई हटाउने माग गरिरहेका छन् । उनीहरू इस्लामी गणतन्त्रको झण्डाको साटो पुरानो सूर्य र सिंह अंकित झण्डा बोकेर प्रदर्शन गरिरहेका छन् ।
इरानी शासनले धार्मिक उन्माद, दमनकारी सुरक्षा संयन्त्र र क्षेत्रीय प्रोक्सीहरूको रणनीतिक प्रयोगको संयोजन मार्फत सत्तामा आफ्नो पकड कायम राख्दै आएको छ । तर, सन् १९७९ मा इस्लामी क्रान्तिको बलमा सत्तामा आएको आयातोल्लाहको शासनले इरानी जनताको आक्रोशको सबभन्दा ठूलो लहरको सामना गरिरहेको छ । अहिलेको अशान्ति कुनै आकस्मिक विस्फोट नभई वर्षौंदेखि सञ्चित गुनासोहरूको पराकाष्ठा हो ।
सन् २००९ को ग्रीन मुभमेन्टदेखि सन् २०२२ को ‘महिला, जीवन, स्वतन्त्रता’ विरोध प्रदर्शनसम्म आउँदा इरानी जनताले पटक–पटक दमनकारी धर्मतन्त्रलाई अस्वीकार गरेको संकेत दिएका छन् । तर, अहिलेको विरोध प्रदर्शनको वजन फरक छ ।
अघिल्ला विरोध प्रदर्शनहरूमा इरानी शासन आन्तरिक दमनलाई जायज ठहराउन बाह्य जोखिमहरूको डर देखाउँदै राष्ट्रका लागि एक्यबद्धता (र्याली अराउन्ड द फ्ल्याग) को प्रभावमा भर पर्ने गरेको थियो । तर, गत जुन महिनामा इजरायलविरुद्ध १२ दिनसम्म चलेको युद्धले इरानी शासकहरूको बहानालाई कमजोर बनाइदिएको छ ।
त्यतिखेर इजरायलले गरेको हवाई आक्रमणले इरानका आणविक भट्टीहरू मात्र नभई इस्लामिक रिभोलुशनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमान्ड सेन्टर र महत्त्वपूर्ण पूर्वाधारहरूलाई पनि निशाना बनाएको थियो । त्यतिखेर ६ जना वरिष्ठ सैन्य कमान्डरहरू एक चिहान भएका थिए ।
इरानका क्षेप्यास्त्र प्रतिरोधी प्रणालीहरूले इजरायललाई आकाशमा प्रभुत्व कायम गर्नबाट रोक्न सकेको थिएन । अझ, त्यसमाथि अमेरिकाले अपरेशन मिडनाइट ह्याम्मर अन्तर्गत इरानका आणविक भट्टीमा बंकर बस्टर बम र क्षेप्यास्त्रहरू प्रहार गरेर इरानको सामरिक क्षमतामा विशाल क्षति गराएको थियो ।
त्यस युद्धले इरानी शासनको कमजोरीलाई उजागर गरिदियो । इरानी जनता राज्यले आधारभूत सुरक्षा प्रदान गर्न नसकेको देख्दा वा क्षेत्रीय प्रभुत्वको भ्रम पनि कायम राख्न नसकेको देख्दा थप विरक्तिएका छन् ।
इरान वर्षौंदेखिको पश्चिमी प्रतिबन्ध र भ्रष्टाचारले पहिलेदेखि नै जर्जर छ । इरानीहरू अब सुधारको माग मात्र गरिरहेका छैनन् । उनीहरू जनताप्रति अनुत्तरदायी शासकविरुद्ध प्रतिक्रिया दिइरहेका छन् ।
अहिलेका विरोध प्रदर्शनहरूले वास्तवमै इरानी शासनलाई ढाल्न सक्ने वा नसक्ने कुरा आन्तरिक र बाह्य कारकहरू दुवैमा भर पर्छ । इरान सन् १९७९ पछिको समयको तुलनामा अहिले बढी अस्थिर छ ।
तर, आधुनिक निरंकुशतालाई ढाल्न जनपरिचालन मात्र पर्याप्त हुँदैन । यसका लागि सुरक्षाबल भित्र विग्रह र व्यावहारिक वैकल्पिक नेतृत्वको आवश्यकता पर्छ । अहिले इरानी शासनलाई समर्थन गरिरहेका परम्परागत आधारहरू क्षीण हुँदै गइरहेका छन् ।
आईआरजीसी र बासिज मिलिसियाले मनोबलको संकट झेलिरहेका छन् । यी सुरक्षा बलका धेरैजसो तल्लो तहका कर्मचारीहरू आर्थिक पतनबाट सबैभन्दा बढी प्रताडित वर्गबाट आएका हुन् ।
माथिल्लो तहका अधिकारीहरू आत्मसंरक्षणका लागि सत्ताप्रति वफादार रहे पनि निरन्तर आन्तरिक दमन र हालैको सैन्य पराजयको अपमानले सुरक्षा संयन्त्रमा दरार उत्पन्न गरेको छ । तर, इस्लामी शासनको अक्षुण्णताबाट शक्ति प्राप्त गरिरहेको भएर सुरक्षाबलले दमन बढाइरहेको छ ।
विरोध प्रदर्शनको आकार बढ्दै गयो भने इरानी सुरक्षाबल जनताको पक्षमा उभिन सक्छ । सुरक्षा बलले लत्तो छोड्दा क्रान्तिहरू सफल हुने गर्छन् ।
अमेरिका र इजरायलको बाह्य दबाबले यस खेलमा निर्णायक तर विवादास्पद भूमिका खेलिरहेको छ । अमेरिकाको अधिकतम दबाब अभियानले विगतमा इरानी शासनको व्यवहार परिवर्तन गर्न असफल भएकाले आलोचना गरिएको थियो ।
अहिले अमेरिकाले इरानी शासनलाई रणनीतिक थकान (स्ट्राटेजिक फटिग) गराउने नीतिमा परिणत भएको छ ।
आईआरजीसीको क्षमतालाई कमजोर बनाउने गरी लक्षित सैन्य आक्रमण र कडा प्रतिबन्धहरूको संयोजन गरेर अमेरिका र इजरायलले प्रभावकारी रूपमा इरानी शासनको शक्तिप्रदर्शन क्षमता कमजोर बनाइदिएका छन् ।
यस दबाबले इरानी शासकका विकल्पहरूलाई साँघुरो बनाइदिन्छ । पश्चिम एसियामा इरानी प्रोक्सीहरूलाई कमजोर बनाउँदा तेहरानले तिनीमाथि थप लगानी गर्नुपर्ने बाध्यता छ ।
इरानी शासकले गरिबहरूलाई खाद्यान्नमा अनुदान दिन वा प्रहरीलाई तलब खुवाउन खर्च गर्नुपर्ने पैसा लेबननमा हिज्बोल्लाह प्रोक्सीलाई खर्च गरिरहनु परेको छ । त्यसले इरानी जनतालाई शासनप्रति थप आक्रोशित बनाएको छ ।
तर, बाह्य दबाब दुईधारे तरबार भएको इतिहासले सिकाउँछ । इरानी शासकले आफूलाई पश्चिमले घेराबन्दी गरेको भाष्य पेश गर्ने गरेको छ र त्यो एक हदसम्म सत्य हो ।
हुन पनि अमेरिकाले इरानी शासनलाई हटाउने उद्देश्यका साथ रणनीतिक रूपमै आर्थिक प्रतिबन्ध र नाकाबन्दीको नीति अपनाइरहेको हो । सन् २००९ मा अमेरिकी संस्थापनसँग नजिक रहेको थिंकट्यांक ब्रूकिङ्स इन्स्टिच्युशनको द सबान सेन्टर फर मिडल ईस्ट पोलिसीले प्रकाशन गरेको विश्लेषणात्मक रिपोर्ट ‘ह्विच पाथ टु पर्सियाः अप्शन्स फर ए न्यु अमेरिकन स्ट्राटेजी टुवर्ड इरान’ मा इरानी शासनलाई फकाउने नत्र आर्थिक र इजरायलको सहायतामा सैन्य दबाबमार्फत झुकाउने उपाय अपनाउनुपर्ने सुझाव दिएको थियो । अहिले त्यसको कार्यान्वयन भइरहेको हो ।
अमेरिकाले चर्को आर्थिक प्रतिबन्ध लगाएकाले इरानको अर्थतन्त्र उठ्न नसकेको कुरा इरानी जनताले राम्ररी बुझेका छन् । तर, त्यसको आडमा इरानी शासनले जनतालाई आधारभूत सेवासुविधा उपलब्ध गराउन नसकेकोमा उनीहरु आक्रोशित भएका हुन् । अहिले तेहरानमा खानेपानीको चरम अभाव भएको अवस्थामा इरानी शासनले न्यायोचित वितरण गराउन नसकेको गुनासो व्यापक छ । शासकका परिवारले पानी पाउँदा आमजनता त्यसबाट वञ्चित भएका छन् ।
त्यसैले क्रान्तिमा सहयोग पुर्याउने गरी बाह्य दबाब सफल हुनका लागि इरानी जनताले यसलाई राष्ट्रमाथिको आक्रमणको रूपमा नभई आफ्नो देशलाई बन्धक बनाइरहेको भ्रष्ट अभिजात वर्गमाथिको प्रहारका रूपमा बुझ्नुपर्ने स्थिति निर्माण गर्नु जरुरी छ । ट्रम्पले खुलमखुला रुपमा आफूहरु सहयोग गर्न तयार रहेको भन्दै इरानीहरुलाई सरकारी निकाय कब्जा गर्न उक्साउनु खासै गतिलो रणनीति हैन ।
इरानी शासनको अस्तित्व ऐतिहासिक रूपमा उसको रणनीतिक गहिराइ (स्ट्राटेजिक डेप्थ) सँग जोडिएको छ । अर्थात्, पश्चिम एसियामा प्रतिरोधको अक्ष (एक्सिस अफ रेजिस्टेन्स) भनेर अनौपचारिक रूपमा चिनिने प्रोक्सीहरूको सञ्जालले इरानलाई रणनीतिक गहिराइ दिएको छ ।
विगतमा संकट आउँदा लेबननमा हिजबुल्लाह, यमनमा हूती, प्यालेस्टाइनमा हमास र इराकमा विभिन्न मिलिसियाहरूले इरानको सुरक्षाकवचको रूपमा काम गर्थे । त्यस अवस्थामा इरानका शत्रुहरूलाई धेरै मोर्चाहरूमा लड्न बाध्य बनाउँथ्यो ।
तर, आज यी प्रोक्सीहरू आफैं अस्तव्यस्त अवस्थामा छन् । इजरायलले शिया आर्क भनिने उक्त सञ्जालमाथि आक्रमण गरेर निकै कमजोर बनाइदिएको छ ।
बाह्र दिने युद्धमा इजरायलले प्रोक्सी नेतृत्वको अन्त्य गर्न र तेहरानबाट हुने सैन्य सहयोगको मार्ग अवरुद्ध गर्नका लागि व्यवस्थित अभियान चलाएको थियो ।
हिजबुल्लाह विगतमा इरानको विदेशनीतिको मुख्य हतियार थियो । तर, ऊ अहिले लेबननमा आफ्नै आन्तरिक राजनीतिक चुनौती र द्वन्द्वको समयमा भएको ठूलो भौतिक क्षतिका कारण कमजोर छ ।
प्रोक्सीहरू अब आयातोल्लाहको उद्धारमा आउन सक्ने अवस्थामा छैनन् । वास्तवमा भन्ने हो भने तिनीहरू अहिले इरानका लागि बोझ बनेका छन् । तिनले कुनै रक्षात्मक उपयोगिता बिना नै अन्तर्राष्ट्रिय आक्रमणलाई निम्त्याइरहेका छन् ।
इरान र भेनेजुएला वामपन्थीहरूका लागि साम्राज्यवादविरुद्धको संघर्षमा परोक्ष रूपमा संलग्न हुने माध्यम बनेका छन् । तर, विडम्बना नै भन्नुपर्छ साम्राज्यवादविरुद्ध संघर्ष गरिरहेका भन्ने राज्यहरू आफ्नै जनताविरुद्ध हिंसा र दमनमा उद्यत छन्
तेहरानले आफ्ना शत्रुहरूका वरिपरि बनाएको आगोको घेरा (रिङ अफ फायर) निभ्दै गइरहेको छ । त्यसले धर्मतन्त्रको नेतृत्वलाई एक्लो र असुरक्षित बनाइदिएको छ । तर, यति हुँदाहुँदै पनि इरान कमजोर छैन । हतियार केन्द्रहरू ध्वस्त भए पनि इरानसँग अहिले २ हजार जति क्षेप्यास्त्रहरू प्रहार गर्ने तयारी अवस्थामा रहेको बताइन्छ । त्यसबाहेक इरानले आणविक हतियार बनाउनका लागि युरेनियम संवर्धन पनि अन्तिम चरणमा पुर्याएको रिपोर्टहरू पनि सार्वजनिक भएका छन् ।
यस उथलपुथलको बीचमा कतिपय वामपन्थी बुद्धिजीवीहरूले पश्चिमी दर्शनको एउटा विवादास्पद अध्यायलाई पुनरवलोकन गरिरहेका छन् । सन् १९७९ को इस्लामिक क्रान्तिमा फ्रान्सेली दार्शनिक मिशेल फुकोले इरानको भ्रमण गरेपछि ‘स्पिरिट अफ ए स्पिरिटलेस वर्ल्ड’ (आत्माविहीन संसारको आत्मा) सहितका लेखहरूको श्रृंखला लेखे । त्यसमा उनले इस्लामी क्रान्तिलाई ‘राजनीतिक आध्यात्मिकताको अभिव्यक्ति’ को रूपमा प्रशंसा गरे ।
उनले इरानी राजाविरुद्धको जनआन्दोलनमा पश्चिमको धर्मनिरपेक्ष तर्कवादको अस्वीकार र अस्तित्वको नयाँ मार्गको खोजी देखेका थिए । तर, आयातोल्लाहको उदयको प्रकृतिबारे फुको दुःखद रूपमा गलत साबित भए ।
जानेत अफारी र केभिन एन्डरसनले ‘फुको एन्ड द इरानी रिभोलुसन’ नामक आलोचनात्मक कृतिमा विस्तृत रूपमा व्याख्या गरेझैं फुकोले इरानका नारीवादी र धर्मनिरपेक्षतावादीहरूको चेतावनीलाई बेवास्ता गरेका थिए । उनीहरूले आयोतोल्लाह अली खोमेनीको दृष्टिकोण स्वतन्त्रताको नभई अधिनायकवादको एउटा नयाँ र झन् बढी दमनकारी रूप हो भन्ने कुरा बुझेका थिए ।
हुन पनि इरानका इस्लामी शासकहरूले नारीलाई हिजाब लगाउन र अन्य धार्मिक कट्टरपन्थ अपनाउनका लागि बाध्य बनाउने गश्त–ए–इर्शाद नामक धार्मिक प्रहरी बनाएर चरम दमन गर्ने गरेका छन् । महिलाको गरिमामाथि उनीहरूको प्रहारको र भौतिक हिंसाका कारण माहसा अमिनीको मृत्युको विरोधमा सन् २०२२ मा विशाल विरोध प्रदर्शनहरू हुने गरेका थिए ।
वास्तवमा फुकोले पश्चिमी मार्क्सवाद र उदारवादको असफलताबाट निराश भएकाले आफूले पूर्ण रूपमा नबुझेको आन्दोलनमा आमूल विकल्पको आफ्नै चाहनाहरू प्रक्षेपण गरेका हुन् । तर, उनले प्रशंसा गरेको राजनीतिक आध्यात्मिकता पितृसत्तात्मक धर्मतन्त्रको खाका थियो भन्ने कुरा उनले देख्न सकेनन् । आफ्नै क्रान्तिकारी योद्धाहरूलाई मृत्युदण्ड दिने र सुनियोजित रूपमा महिलाहरूको अधिकार खोस्ने धर्मतन्त्रलाई फुकोले रोमान्टिसाइज गरिदिए ।
अहिले कतिपय वामपन्थीहरूले इरानमा भइरहेका विरोध प्रदर्शनहरूलाई साम्राज्यवादविरोधी लेन्सबाट हेरिरहेका छन् । फुकोले विगतमा गरेको गल्तीबाट उनीहरूले पाठ सिक्नु जरुरी छ ।
पश्चिमी हस्तक्षेपको विरोध गर्दै गर्दा तेहरानको शासन क्रूर निरंकुशता हो र उसले आफ्ना जनताको जनादेश पहिले नै गुमाइसकेको छ भन्न सक्नुपर्छ । अहिले भइरहेको क्रान्तिले फुकोको परिकल्पनामा रहेको राजनीतिक आध्यात्मिकता खोजिरहेको छैन । यसले त आधारभूत मानवअधिकार, धर्मनिरपेक्ष शासन र आधुनिक संसारसँग जोडिने परिस्थितिको निर्माण खोजिरहेको छ ।
खासमा इरानमा भइरहेको विरोध प्रदर्शनलाई अवमूल्यन गर्ने वामपन्थी सोचले भद्दा मार्क्सवादी–लेनिनवादी विश्वासलाई प्रतिनिधित्व गर्छ । त्यस सोचले दल–राज्य (पार्टी स्टेट) नै वास्तवमा जनताको वैध प्रतिनिधि हो भन्छ । त्यसैले पार्टी–राज्य विरुद्धका कुनै पनि विरोध प्रदर्शनहरूलाई तिनीहरूले व्यापक जनआन्दोलनको स्वरूप ग्रहण गरे पनि प्रतिक्रान्तिकारी भन्दै खारेज गरिदिन्छ ।
इरानी शासनको ढोङ शायद सबैभन्दा ठूलो जोखिम हो । अभिजात वर्गका छोराछोरी (नेपोबेबीज) ले पश्चिमी विलासी जीवनशैली अपनाएको र साधारण जनताका छोराछोरीले विरोध प्रदर्शनमा गोली खानुपरेको देख्दा इरानी शासनको आधारमाथि प्रश्न उठेको छ
इरानमा बहुदलीय लोकतन्त्र छैन, सन् १९८७ मा पार्टीहरूमाथि प्रतिबन्ध लगाइएको थियो । त्यहाँ कन्जर्भेटिभ र सुधारवादी गुट मात्र छन् । त्यसबाट जसले जिते पनि आयातोल्लाहको खटनपटन मान्नुपर्ने हुन्छ । यो ठ्याक्कै सोभियत संघ र अन्य कम्युनिस्ट मुलुकको दल–राज्य जस्तै देखिन्छ । चीनमा पनि कम्युनिस्ट पार्टीको एकदलीय शासन छ तर त्यहाँ जनतालाई व्यापक आर्थिक स्वतन्त्रता दिइएकाले विद्रोहको सम्भावना छैन ।
इरानमा चाहिँ राजनीतिक छनोटको स्वतन्त्रता र आर्थिक स्वतन्त्रता दुवैको अभाव रहेकाले जनतामा आक्रोश छाएको हो ।
अहिले वामपन्थीहरूमा एक्यबद्धताको केन्द्र परिवर्तन भएको छ । त्यो केन्द्र जनविरोध र लोकतान्त्रिक आन्दोलनहरूबाट हटेर दमनकारी तथा प्रतिक्रियावादी राज्यतर्फ सरेको छ ।
पश्चिमका विद्रोही आदर्शवादी वामपन्थीहरूलाई आकर्षित गर्नका लागि इरानको अमेरिका र पश्चिमविरोधी अडान पर्याप्त छ । उनीहरू ती राज्यलाई आफ्नै असन्तुष्टिको अभिव्यक्तिका रूपमा हेर्छन् ।
इरान र भेनेजुएला वामपन्थीहरूका लागि साम्राज्यवादविरुद्धको संघर्षमा परोक्ष रूपमा संलग्न हुने माध्यम बनेका छन् । तर, विडम्बना नै भन्नुपर्छ साम्राज्यवादविरुद्ध संघर्ष गरिरहेका भन्ने राज्यहरू आफ्नै जनताविरुद्ध हिंसा र दमनमा उद्यत छन् । शासन सुधारको माग राख्ने जनतालाई पश्चिमी साम्राज्यवादको गोटी भनेर अवमूल्यन गर्ने गरिएको छ ।
इरानी शासनले पनि आफ्नो अस्तित्व बचाउनका लागि चरम हिंसा प्रयोग गरिरहेको छ । हाल भएका हिंसामा २ हजारभन्दा बढीको ज्यान गइसकेको ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी (एचआरएएनए) नामक मानवअधिकार संस्थाले जनाएको छ ।
इरानी राजाका छोरा रेजा पहलवीले विदेशमा बसेर विरोध प्रदर्शनकारीहरूलाई उक्साइरहेको भए पनि इरानलाई बचाउन उनी सक्षम नरहेको विश्लेषकहरू बताउँछन्
मानवअधिकार उल्लंघन गरेर शासन टिकाएका राजाले सन् १९७९ मा जनतालाई मार्ने हिम्मत गुमाएर देश छोडेका थिए । तर, इरानको बहालवाला नेतृत्वले आफ्नो अस्तित्वलाई ईश्वरीय जनादेशको रूपमा हेर्छ । उनीहरू आफूलाई साँचो आस्थावान ठान्छन् र यस मुठभेडका लागि ४० वर्षदेखि तयारी गर्दै आएका छन् ।
यसले वर्तमान विरोध प्रदर्शनलाई विगतको तुलनामा थप खतरनाक बनाएको छ । आफू सत्ताच्युत भएमा सुखद निर्वासनको अवसर नपाउने इरानी शासकहरूलाई थाहा छ (कतिपयले चाहिँ इरानी शासकहरू रुसतर्फ भाग्ने तयारी गरिरहेको पनि भनेका छन्) । त्यसैले उनीहरू सम्भवतः अन्तिमसम्म लड्नेछन् । त्यस अवस्थामा विरोध प्रदर्शनलाई लामो र रक्तपातपूर्ण गृहयुद्धमा परिणत गर्न सक्छ ।
यति हुँदाहुँदै पनि इरानी शासनको संरचनात्मक कमजोरीहरू छताछुल्ल भएका छन् । अर्थतन्त्र दबाबमा परेको मात्र नभई ध्वस्त नै भएको छ । इरानी रियाल लगभग मूल्यहीन भएको छ र देशका युवाहरूको प्रतिभा पलायन (ब्रेन ड्रेन) अभूतपूर्व स्तरमा पुगेको छ । आफ्ना युवाहरूलाई भविष्य दिन नसक्ने र बदलामा नैतिकता प्रहरी र युद्धको धम्की मात्र दिने शासक अनिश्चितकालसम्म टिक्न सक्दैन ।
इरानी शासनको ढोङ शायद सबैभन्दा ठूलो जोखिम हो । अभिजात वर्गका छोराछोरी (नेपोबेबीज) ले पश्चिमी विलासी जीवनशैली अपनाएको र साधारण जनताका छोराछोरीले विरोध प्रदर्शनमा गोली खानुपरेको देख्दा इरानी शासनको आधारमाथि प्रश्न उठेको छ । सामान्य महिलालाई हिजाबमा छोपिन लगाउने इरानी शासनका अभिजात वर्गका महिला र युवती चाहिँ पश्चिमी परिधानमा घुमिरहेका तस्बिरले सामाजिक सञ्जालमा आक्रोश जन्माएका छन् ।
अमेरिका र इजरायलले इरानी शासनलाई ढाल्ने परिस्थिति सिर्जना गर्न त सक्छन् तर स्वयम् इरानी जनताले मात्र यो काम पूरा गर्न सक्छन् । अमेरिकाले इरानमाथि सैन्य आक्रमण गर्नु प्रत्युत्पादक हुनेछ किनकि त्यसले सरकारसमर्थक र सरकारविरोधी इरानी दुवै थरीलाई बाह्य शक्तिविरुद्ध एकजुट हुन उत्प्रेरित गर्नेछ । अन्तर्राष्ट्रिय समुदायले इरानी जनतालाई सूचनामा पहुँच दिलाउनका लागि इरानी शासनको इन्टरनेट ब्ल्याकआउटलाई तोड्ने र विपक्षीहरूलाई कूटनीतिक मान्यता प्रदान गर्ने कुरामा ध्यान केन्द्रित गरेमा विरोधको गतिलाई रोक्न असम्भव हुन सक्छ ।
इरानी शासनसँग अझै पनि बन्दुकको बल छ तर उसले आम जनताको विश्वास गुमाएको छ । अहिले बहुसंख्यक इरानी जनता सरकारको शक्तिको भ्रमबाट मुक्त छन्
प्रोक्सीहरूलाई प्रभावहीन बनाएर र आईआरजीसीको सैन्यशक्तिलाई कमजोर तुल्याएर इजरायल र अमेरिकाले इरानी शासनका ध्यान भड्काउने हतियारहरू हटाइदिएका छन् । आयातोल्लाह अब विदेशी युद्धको ढाल वा आफ्ना क्षेत्रीय मिलिसियाहरूको मद्दत बिना आफ्नै जनताको सामना गर्न बाध्य छन् । युद्धका लागि आफूहरू तयार रहेको भनी उद्घोष गरेका इरानीहरू अमेरिकासँग कुराकानी गर्न पनि लचिलोपन देखाइरहेका छन् । प्रोक्सीहरू कमजोर भएकाले नै यो लचिलोपन देखिएको हो ।
इरानी राजाका छोरा रेजा पहलवीले विदेशमा बसेर विरोध प्रदर्शनकारीहरूलाई उक्साइरहेको भए पनि इरानलाई बचाउन उनी सक्षम नरहेको विश्लेषकहरू बताउँछन् । पहलवी संक्रमणकालीन शासन चलाउने व्यक्तित्वको रूपमा उभिन सक्दैनन् । उनले त्यसो गर्ने प्रयास गरेछन् भने इरान र उनैका लागि सम्भवतः एक विपत्ति हुनेछ । उनी नाम मात्रका इरानी हुन् । झण्डै ५० वर्ष अमेरिकामा बसेका उनले निर्वासनका वर्षहरूमा उनले थोरै मात्र उपलब्धि हासिल गरेका छन् ।
पहलवीले विदेशमा एक सुसंगत विपक्षी आन्दोलन त मुस्किलले चलाउन सकिरहेका छन् भने इराक र अफगानिस्तानको बीचमा रहेको अस्थिर, जातीय र धार्मिक रूपमा विविधतापूर्ण देशको शासन सञ्चालन गर्ने त टाढाको कुरा हो ।
जे होस्, इरानमा हाल भइरहेको विरोध प्रदर्शनले इस्लामी गणतन्त्रको स्थापनादेखिकै सबैभन्दा ठूलो खतरा तेर्स्याएको छ । इरानी शासन विनाशकारी युद्धले कमजोर भएको छ, उसका प्रोक्सीहरू प्रभावहीन छन् र उसको आन्तरिक वैधानिकतामा गम्भीर प्रश्न उठेको छ ।
इरानी शासनसँग अझै पनि बन्दुकको बल छ तर उसले आम जनताको विश्वास गुमाएको छ । अहिले बहुसंख्यक इरानी जनता सरकारको शक्तिको भ्रमबाट मुक्त छन् । धर्मतन्त्रबाट वास्तविक लोकतन्त्रतर्फको संक्रमण कठिन र हिंस्रक हुनेछ । तर, आयातोल्लाहको शासनबाट मुक्तिको मार्ग देखिन थालेको छ । ढिलोचाँडो त्यो परिवर्तन देख्न सकिनेछ ।








प्रतिक्रिया