
काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।
वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजक रहेको पाँच सदस्यीय केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका स्वीकृत गर्दै मतदानको समय निश्चित गरेको हो ।
सार्वजनिक कार्यतालिकाअनुसार नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि १ बजेसम्म मतदान हुनेछ। निर्वाचन प्रक्रिया भने आज दिउँसोदेखि नै सुरु भइसकेको छ ।
तालिकाअनुसार दिउँसो १२:३० बजे प्रथम मतदाता नामावली प्रकाशन गरिएको छ। दिउँसो १:३० बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध र छानबिनको समय तोकिएको थियो भने अपराह्न २ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी छ ।
निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय तोकेको छ। मनोनयन दर्तापछि उम्मेदवारहरूको पहिलो नामावली नेपाली वर्णानुक्रम (देवनागरिक लिपि) अनुसार प्रकाशन गरिनेछ ।
उम्मेदवारीमाथि दाबी–विरोध र त्यसको छानबिन साँझ ७ बजेसम्म सम्पन्न गरी राति ८:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने सूचनामा उल्लेख छ। अन्तिम नामावली प्रकाशन भएलगत्तै राति ९ बजेबाट मतदान प्रक्रिया सुरु हुनेछ।
निर्वाचन समितिले मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ। विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाएसँगै संस्थापन र इतर पक्षका नेताहरू आ–आफ्नो रणनीति बनाउन र आन्तरिक छलफलमा तीव्र रूपमा सक्रिय भएका छन्।










प्रतिक्रिया