
काठमाडौं । सोलु हाइड्रोपावरले पुस २९ गतेदेखि सर्वसाधारणका लागि ८२ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुला गर्दैछ । कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ निष्काशन गरी बाँडफाँड पनि गरिसकेको छ । अब दोस्रो चरणमा सर्वसाधारणका लागि खुला गर्न लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशतले हुने प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता आईपीओ जारी गर्न नेपाली धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत गराएको थियो ।
जसमध्ये पहिलो चरणमा जारी पुँजीको १० प्रतिशतले हुने १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता सेयर आयोजना प्रभावित क्षेत्र साखुखुम्बुका स्थानीयका लागि निष्कासन गरिसकेको छ । यस्तै सर्वसाधारणलाई जारी पुँजीको १० प्रतिशत नै अर्थात् १ अर्ब बराबरको १ करोड कित्ता सेयर जारी गर्नेछ । यसमध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता (१० करोड रुपैयाँ बराबरको) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन भइसकेको छ।
यसैगरी सर्वसाधारणलाई निष्कासन हुने १ करोड कित्ता सेयरमध्ये ५ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ३ लाख कित्ता सेयर कर्मचारीका लागि छुट्याएर बाँकी रहेको ८२ लाख कित्ता सेयर (८२ करोड रुपैयाँ बराबरको) सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो । उक्त सेयर पुस २९ गते (मंगलबार)देखि निष्कासन हुँदैछ ।
कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।
कस्तो कम्पनी हो सोलु हाइड्रो ?
सोलु हाइड्रोपावरले सोलुखुम्बु जिल्लाको सोलु खोलामा ८२ मेगावाट क्षमताको ‘तल्लो सोलु जलविद्युत आयोजना’ निर्माण गरी सञ्चालनमा ल्याएको छ । उक्त परियोजना नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिताको ठूलो मध्येको एक आयोजना हो ।
आयोजनाबाट उत्पादन भएको विद्युत तिङ्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरिएको छ । सो सबस्टेसनबाट यसअघि नै सोलु दूधकोशी, अपर सोलु, मिड सोलु र बेनी जलविद्युत आयोजनामा उत्पादिन विद्युत राष्ट्रिय प्रणालीमा जोडिएका छन् ।
२०६७ जेठ २६ गते एसेल–क्लिन सोलु हाइड्रोपावर प्राइभेट लिमिटेडका रूपमा कम्पनी दर्ता भएको थियो । कम्पनीले आयोजना सञ्चालनका लागि २०७० चैत ५ गते नेपाल सरकार, ऊर्जा मन्त्रालयबाट अनुमतिपत्र पाएको थियो । जसको म्याद २१०६ चैत्र ४ गतेसम्म बहाल रहनेछ ।
सुरुमा यो आयोजना भारतीय कम्पनी एसेल इन्फ्राप्रोजेक्ट्स लिमिटेडको मुख्य लगानीमा ‘एसेल–क्लिन सोलु हाइड्रोपावर प्रालि’ को नाममा दर्ता भएको थियो । तर, २०७२ चैत्र २ गते मात्र नाम परिवर्तन गरेर सोलु हाइड्रोपावर लिमिटेड बनाइयो ।
पछि व्यवस्थापन र स्वामित्वमा परिवर्तन भएपछि २०७९ असार २९ मा यो पूर्ण रूपमा नेपाली लगानीकर्ताहरूको हातमा आयो र यसलाई प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण गरी ‘सोलु हाइड्रोपावर लिमिटेड’ नामाकरण गरियो ।
आयोजनाको निर्माण कार्य २०७२ तिरबाट सुरु भएको थियो । तर, निर्माणको अन्तिम चरणमा पुग्दा ठूलो पहिरोले पेनस्टक पाइप लगायतका महत्त्वपूर्ण संरचनामा क्षति पु¥यायो । त्यसबेला कम्पनीले आर्थिक नोक्सानी व्यहोर्नुपरेको थियो ।
अन्ततः कम्पनीले २०८२ साल साउन ४ गते आयोजनाको निर्माण कार्य सम्पन्न गरी उत्पादन सुरु गरको छ ।
विद्युत उत्पादनका लागि २०७० अनुमती पाएको कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग सोही वर्ष विद्युत खरिद बिक्री सम्झौता गरेको थियो । तर, निर्माण कार्य सम्म्पन नभएपछि उत्पादन सुरु हुन सकेन र पटक–पटक सम्झौता संशोधन गरियो ।
प्राधिकरणसँगको सम्झौता पाँच पटक संशोधन भइसकेको कम्पनीले जनाएको छ ।
प्रारम्भिक सम्झौता अनुसार व्यापारिक विद्युत उत्पादन सुरु गर्ने मिति २०७५ साउन १ गते तोकिएको थियो, जुन पछि संशोधन गरेर २०७८ फागुन ०२ सम्मलाई कायम गरियो । उक्त मिति नाघिसकेकोले थपका लागि कम्पनीले २०८० भदौ १९ मा नेपाल विद्युत प्राधिकरण समक्ष निवेदन पेश गरेको थियो । कम्पनीले २०८२ साउन २४ गतेदेखि व्यापारीक उत्पादन सुरु गरेको छ ।
कम्पनीले सोलुखुम्बु जिल्लास्थित सोलु दुधकुण्ड नगरपालिकाको सोलु खोलाको पानी उपयोग गरी ८२ मे.वा. क्षमताको तल्लो सोलु जलविद्युत आयोजना निर्माण कार्य सम्पन्न गरी गत साउनबाट व्यवसायीक उत्पादन सुरु गरेको हो ।
२०७० मा कम्पनी र प्राधिकरणबिच भएको सम्झौता अनुसार आयोजनाबाट उत्पादन भएको सम्पूर्ण विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ ।
आयोजनामा करिब ५ किलोमिटर लामो सुरुङ खनिएको छ ।
८२ मेगावाट क्षमताको उक्त आयोजना रन–अफ–रिभर प्रविधिमा आधारित छ । उत्पादित विद्युतलाई सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्गला सबस्टेसनमा जोडिएको छ ।
लागत र लगानीकर्ता
रन–अफ–रिभर प्रविधिमा आधारित यस आयोजनाको कुल लागत करिब १६ अर्ब ३० करोड रुपैयाँ रहेको छ । प्रति मेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.६८ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १२.०९ वर्ष रहेको छ । आयोजनाको नेट प्रिजेन्ट भ्यालु ४ अर्ब ४३ करोड रुपैयाँ र इन्टर्नल रेट अफ रिर्टन ११.६३ प्रतिशत छ ।
आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग गरेको खरिद बिक्री सम्झौता अनुसार सुख्खायाममा प्रतियुनिट सुरुमा ८ रुपैयाँ ४० पैसा र आयोजना हस्तान्तरण गर्ने समयसम्म पुग्दा ९ रुपैयाँ ६६ पैसासम्म पुग्नेछ । त्यस्तै वर्षायाममा ४ रुपैयाँ ८० पैसाबाट ५ रुपैयाँ ५२ पैसासम्म पुग्नेछ ।
सुख्खा याम पुसदेखि चैतसम्म र वैशाखदेखि मंसिरसम्म वर्षायाम हुनेछ । सुख्खा याममा उत्पादन सुरु भएको पहिलो महिनादेखि १२ महिनासम्म प्रतियुनिट ८ रुपैयाँ ४० पैसा, १३ महिनादेखि २४ औं महिनासम्म ८ रुपैयाँ ६५ पैसा, २५ औं महिनादेखि ३६ औं महिनासम्म ८ रुपैयाँ ९० पैसा, ३७ औं महिनादेखि ४८ औं महिनासम्म ९ रुपैयाँ १६ पैसामा विद्युत खरिदबिक्री सम्झौता भएको छ । त्यस्तै ४९ औं महिनादेखि ६० औं महिनासम्म ९ रुपैयाँ ४१ पैसा र ६१ औं महिनादेखि सम्झौता अवधिसम्म ९ रुपैयाँ ६६ पैसामा खरिदबिक्री सम्झौता भएको छ ।
यस्तै वर्षायाममा उत्पादन सुरु भएको मितिदेखि १२ महिनासम्म प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा विद्युत खरिदबिक्री सम्झौता भएको छ । यस्तै १३ औं महिनादेखि २४ औं महिनासम्म प्रतियुनिट ४ रुपैयाँ ९४ पैसा, २५ औं महिनादेखि ३६ औं महिनासम्म ५ रुपैयाँ ९ पैसा, ३७ औं महिनादेखि ४८ औं महिनासम्म ५ रुपैयाँ २३ पैसा, ४९ औं महिनादेखि ६० औं महिनासम्म ५ रुपैयाँ ३८ पैसा र ६१ औं महिनादेखि सम्झौत अवधिसम्म प्रतियुनिट ५ रुपैयाँ ५२ पैसामा विद्युत खरिद बिक्री सम्झौता भएको छ ।
कम्पनीमा हाल ९५ जना संस्थापक सेयरधनी रहेका छन् । कम्पनीको नेतृत्वमा नेपालका प्रतिष्ठित व्यावसायिक घरानाहरू रहेका छन् । गोविन्द लाल संघाई, नितेश अग्रवाल र रामचन्द्र संघाईजस्ता विद्युत, बैंक तथा वित्तीय क्षेत्र, स्वास्थ्य, शिक्षा, व्यापार–व्यवसाय तथा व्यवस्थापन क्षेत्रमा लामो अनुभव रहेका व्यक्तिहरूको मुख्य सेयर हिस्सा रहेको छ । ९५ मध्ये १ प्रतिशतभन्दा बढी सेयर हुने सेयरधनीको संख्या २४ रहेका छन् ।
कम्पनीमा गोविन्द लाल संघाईको सबैभन्दा धेरै ८.१६ प्रतिशत सेयर हिस्सा रहेको छ । यस्तै रामचन्द्र संघाईको ४.९३ प्रतिशत, वीरेन्द्र कुमार संघाईका ४.९२ प्रतिशत, आदित्य संघाईको ४.४४ प्रतिशत हिस्सा सेयर छ । त्यस्तै अनुप अग्रवालको ४.१३ प्रतिशत सेयर हिस्सा हुँदा विशाल अग्रवालको ४.११ प्रतिशत सेयर छ । सुवास चन्द्र संघाईको ४.०८ प्रतिशत, हर्ष वर्दन संघाईको ४.०८ प्रतिशत, निकुञ्ज अग्रवालको ३.९१ प्रतिशत, पुरुषोतमलाल संघाईको ३.६९ प्रतिशत, अनुज राठीको ३.३४ प्रतिशत र शैलेश संघाईको ३.२४ प्रतिशत सेयर हिस्सा रहेको छ ।
यस्तै नितेश अग्रवालको ७.०९ प्रतिशत, सकेत संघाईको ३.२२ प्रतिशत, अर्पित अग्रवालको ३.०४ प्रतिशत, बिन्दबासिनी ग्लोबल प्रालिको २.९० प्रतिशत, अशोक कुमार अग्रवालको २.५६ प्रतिशत सेयर हिस्सा रहेको छ । यस्तै शालिमार इन्भेस्टमेन्ट कम्पनी प्रालिको २.४६ प्रतिशत, अनुपम राठीको १.८८ प्रतिशत, विरेन्द्र राठीको १.७८ प्रतिशत, तुल्सीराम अग्रवालको १.१६ प्रतिशत, आलोक राठीको १.०७ प्रतिशत, अमित कुमार बेगानीको १.०२ प्रतिशत सेयर हिस्सा छ । त्यस्तै सिद्धान्त बेगानीको १.०२ प्रतिशत सेयर रहेको कम्पनीको विवरणपत्रमा उल्लेख छ ।
कम्पनीको कुल सेयरमध्ये ८० प्रतिशत हिस्सा संस्थापक सेयरधनीको (८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता सेयर) छ ।
कम्पनीले आफ्नो व्यावसायीक उत्पादन गत साउनबाट मात्रै सुरु गरेको हो । सोही कारण कम्पनीको वास्तविक वित्तीय विवरण विश्लेषण गर्न सकिने देखिँदैन । तर, आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरणमा विद्युत बिक्री आम्दानीबाट चालु आर्थिक वर्षमा २ अर्ब १२ करोड ५३ लाख रुपैयाँ आम्दानी हुने उल्लेख गरेको छ । त्यस्तै आगामी आर्थिक वर्ष २०८३/८४ मा २ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ र आर्थिक वर्ष २०८४/८५ मा २ अर्ब ५३ करोड ९४ लाख रुपैयाँको विद्युत विक्री हुने प्रक्षेपित वित्तीय विवरणमा भनिएको छ ।








प्रतिक्रिया