विश्वास ढलेको बेला कांग्रेसले आशा जगाउनुपर्छ

56
Shares

जब म विशेष महाधिवेशनको त्यो हलमा उभिएँ, मेरो अगाडि दुईवटा दृश्य थिए । मञ्चमा हाम्रा पाका र श्रद्धेय नेताहरू हुनुहुन्थ्यो, जसले आफ्नो उमेरभन्दा धेरै वर्ष यो देशको प्रजातन्त्रका लागि संघर्षमा बिताउनुभएको छ । अनि तल हलभरि ती नौजवान साथीहरू र पाका कार्यकर्ताहरू हुनुहुन्थ्यो, जो आज पनि एउटा आशा लिएर कांग्रेसको झण्डा मुनि गोलवद्ध हुनुहुन्छ ।

यो उपस्थिति देख्दै गर्दा म भावविह्वल भएँ । तर, यो भावुकतासँगै मेरो काँधमा एउटा गम्भीर जिम्मेवारीको बोध पनि भइरहेको थियो।

२००७ सालभन्दा अगाडिदेखि अस्ति भदौ २३ र २४ गतेसम्म यो माटोका लागि सहादत प्राप्त गर्ने ज्ञात-अज्ञात शहीदहरूप्रति नमन गरिरहँदा मलाई एउटै कुराले पिरोलिरह्यो- के हामीले ती शहीदका सपनासँग न्याय गरिरहेका छौं ? हिजो मात्रै हामीले हाम्रा आदरणीय नेता होमनाथ दाहाल दाइलाई गुमाएका छौं । उहाँहरूको पुस्ताले लडेर ल्याएको यो व्यवस्थामा आज नागरिकहरू किन यति धेरै आक्रोशित छन् ?

धेरैलाई बाहिरबाट हेर्दा लाग्दो हो- कांग्रेसभित्र फेरि झगडा सुरु भयो । कोही मञ्चमा आए, कोही आएनन् । मानिसहरूले यसलाई शक्ति र सत्ताको खिचातानीका रूपमा बुझेका होलान् । तर म प्रष्ट पार्न चाहन्छु- यो शक्तिको संघर्ष होइन । यो त विचारको संघर्ष हो । यो मूल्य र मान्यताको संघर्ष हो । हामीले यो विशेष महाधिवेशन त्यसै आयोजना गरेका होइनौं । जब नागरिकको भरोसा टुट्छ, जब कार्यकर्ताको शिर निहुरिन्छ, तब पार्टीभित्र बहस र मन्थन अनिवार्य हुन्छ ।

हामीले चाहेका थियौं- यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी सभापति आउनुहोस्, कार्यवाहक सभापति आउनुहोस् । उहाँहरूको अनुपस्थितिले हामीलाई खुसी बनाएको छैन, बरु चिन्तित तुल्याएको छ । तर, कोही आउनु वा नआउनुले यो अभियान रोकिँदैन । किनकि कांग्रेस कुनै व्यक्तिको पेवा होइन, यो त गाउँको कुनामा बसेर ‘जय नेपाल’ भन्ने हरेक साधारण सदस्यको साझा घर हो ।

हामीले भदौ २३ र २४ गते सडकमा जे देख्यौं, त्यो केवल एउटा घटना मात्र थिएन । त्यो त नेपाली समाजमा सञ्चित भएको ‘रिस’ को विष्फोट थियो । कतिपयले त्यसलाई घुसपैठ वा आपराधिक उपद्रो भनेर पन्छिन खोज्लान्, तर म भन्छु- त्यो हाम्रो कामप्रतिको असन्तुष्टि थियो । भ्रष्टाचार, कुशासन र बेथिति देख्दा नागरिकको मन कुँडिएको छ ।

राजाको छोरा राजा हुने व्यवस्था फालेर ल्याएको गणतन्त्रमा जब नागरिकहरूले ‘नेपो बेबी’ हरूको राज देख्छन्, तब उनीहरूलाई यो व्यवस्थाप्रति नै वितृष्णा जाग्छ । के हामीले त्यसलाई अनदेखा गर्ने ? के हामी चुपचाप बस्ने ? कांग्रेसजस्तो जिउँदो पार्टीले यति ठूलो जनआक्रोश देख्दा ‘अडिनु’ पर्छ, ‘पछाडि फर्केर’ हेर्नुपर्छ र आफैंभित्र ‘टटोलनु’ पर्छ । हामीले नागरिकको भावनालाई सम्बोधन गर्न सकेनौं भने हाम्रो अस्तित्वको के अर्थ ?

आज जताततै ‘कोल्याप्स अफ ट्रस्ट’ छ । एउटा युवा पासपोर्ट बनाउन जाँदा सास्ती पाउँछ, लाइसेन्स लिन जाँदा वर्षौं कुर्नुपर्छ, अस्पतालमा बेड पाउन भनसुन गर्नुपर्छ । उसको मनमा एउटै कुरा खेल्छ- ‘यो देशमा बस्न सकिँदैन ।’ छोरा क्यानाडा र छोरी अष्ट्रेलिया उड्दै गर्दा एयरपोर्टमा रुने बाबुको आँसु पुछ्ने कांग्रेस हामीले बनाउनु छ ।

हिजो माओवादीको हिंसा र राजाको शासन विरुद्ध ज्यान हत्केलामा राखेर सडकमा आउने तिनै नागरिक हुन् । आज तिनका छोराछोरी हामीसँग किन रिसाए ? हामीले कतै गल्ती गर्यौं कि ? हामीले चुनावमा एउटासँग मिलेर लड्ने र सरकार अर्कोसँग मिलेर बनाउने जुन ‘चालढाल’ देखायौं, त्यसले हाम्रो नैतिकतामाथि प्रश्न उठाएको छ । अब कांग्रेस सुध्रिनु पर्छ, बदलिनु पर्छ ।

म फेरि पनि मेरा श्रद्धेय नेता शेरबहादुर देउवा दाइलाई सम्झन चाहन्छु । तपाईँको यो देशको प्रजातन्त्रका लागि ठूलो योगदान छ । तर समयको मागलाई बुझिदिनुस् । हामीले तपाईँलाई माया नगरेर यो कुरा भनेका होइनौं । तपाईँको सम्मान नघटोस् भनेरै हामीले भनेका हौं- ‘दाइ, अब छाडिदिनुस् । अब मार्ग प्रशस्त गरिदिनुस् ।’ इतिहासले तपाईँलाई सुदूरपश्चिमको एउटा गाउँबाट आएर संघर्ष गरेको नायकका रूपमा सम्झनेछ । तर अबको पुस्तालाई नयाँ नेतृत्व र नयाँ भरोसा चाहिएको छ ।

मैले र विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ नेता र कार्यवाहक सभापतिको घरमा गएर दुई हात जोडेर भनेका छौं- ‘हामीलाई केही चाहिन्न, आउनुस् तपाईँहरू नेतृत्व लिनुस्, तर पार्टीलाई नयाँ ढंगले अगाडि बढाऔं ।’ हामी गणेशमान सिंहका अनुयायी हौं, जसले प्रधानमन्त्रीको पद त्याग्नुभयो । हामी बीपीका कार्यकर्ता हौं, जसले कहिल्यै सिद्धान्तसँग सम्झौता गर्नुभएन । हामीलाई सभापति वा प्रधानमन्त्री बन्ने लोभले यहाँ उभ्याएको होइन, बरु नागरिकप्रतिको जिम्मेवारीले यहाँ ल्याएको हो ।

कहिलेकाहीँ ठूलो युद्ध जित्नका लागि सानातिना लडाइँहरू हार्न पनि तयार हुनुपर्छ । पार्टीलाई ठीक ठाउँमा उभ्याउनका लागि म डढ्न पनि तयार छु । यो विशेष महाधिवेशनबाट हामी एउटा सन्देश दिन चाहन्छौं- कांग्रेस दास र लाशहरूको पार्टी होइन । यहाँ प्रश्नहरू जीवित छन् र जबसम्म प्रश्नहरू जीवित रहन्छन्, तबसम्म समाधानको आशा पनि जीवित रहन्छ ।

भोलिको बन्द सत्रले जे निर्णय गर्छ, मलाई स्वीकार्य छ । तपाईँहरूले नीति बदल्ने भन्नुस् वा नेता बदल्ने भन्नुस्, त्यो तपाईँको अधिकार हो । हामी केवल एउटा यस्तो कांग्रेस बनाउन चाहन्छौं, जसले भन्न सकोस्- ‘हिजो तिम्रो बाआमालाई अधिकार दियौं, अब तिमीलाई भविष्य दिन्छौं ।’

(नेपाली कांग्रेसका महामन्त्री थापाले विशेष महाधिवेशनका क्रममा गरेको सम्बोधनको सम्पादित अंश ।)