
काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको एक अध्ययनअनुसार नेपालका विभिन्न सहरहरूको तुलनामा काठमाडौंमा खाद्यान्नको मूल्य महँगो देखिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंसिर महिनामा गरेको मूल्य विश्लेषणले विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढी र काठमाडौंको बजार मूल्य विश्लेषण गर्दा अधिकांश खाद्यान्नको भाउ काठमाडौंमा सबैभन्दा धेरै रहेको भेटिएको हो ।
विभागका महानिर्देशक रोशन ज्ञवालीले दुई–तीन वर्षदेखि रोकिएको मूल्य विश्लेषण कार्य सुरु गरिएको जानकारी दिए ।
‘तथ्यांक अधिकृतको दरबन्दी अभावमा दुई–तीन वर्षदेखि मूल्य विश्लेषण कार्य रोकिएको रहेछ, अहिले सुरु गरिएको छ,’ उनले भने, ‘प्रारम्भमा वाणिज्य कार्यालय रहेको क्षेत्रबाट मूल्य विवरण मगाएर विश्लेषण गर्ने काम भइरहेको छ ।’
विभागले गरेको विश्लेषणमा काठमाडौंमा अन्यत्रबाट ढुवानी गरी खाद्यान्न आपूर्ति गर्नुपर्ने भएकाले तुलनात्मक रूपमा मूल्य धेरै पर्ने गरेको भेटिएको हो ।
चामल, दाल, तेल, सुजी, मैदा, आँटा, चिउरा, केराउ, राज्मालगायतका ३० भन्दा बढी खाद्यान्नको भाउ संकलन गरेर विभागले मूल्य विश्लेषण गरेको हो ।
अध्ययनअनुसार अन्डाको भाउ धनगढीमा सबैभन्दा धेरै २३ रुपैयाँ र सबैभन्दा कम वीरगन्जमा १२ रुपैयाँ प्रतिगोटा रहेको छ । भैरहवा, नेपालगन्ज र काठमाडौंमा समान प्रतिगोटा १९ र विराटनगरमा २० रुपैयाँ रहेको विभागले जनाएको छ ।
खसीको मासुको औसत मूल्य प्रतिकिलो १२ सय काठमाडौंमा रहेको र अन्य सहरमा कम रहेको विभागको विश्लेषण छ ।
मंसिरमा बोइलर कुखुराको भाउ धनगढीमा सबैभन्दा धेरै चार सय रुपैयाँ रहेको थियो । त्यस्तै, नेपालगन्जमा तीन सय ९०, भैरहवामा तीन सय ६०, विराटनगरमा तीन सय ५०, काठमाडौंमा तीन सय २५ र वीरगन्जमा तीन सय २० रहेको विभागको तथ्यांक छ ।








प्रतिक्रिया