स्टार्ट अप ‘जिरो टु हिरो’अन्तर्गत चार आइडिया छनोट


काठमाडौं । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पोकै सन्दर्भमा आयोजित थिमेटिक सेसनमा प्रस्तुत भएमध्ये चार उत्कृष्ट आइडिया छनोटमा परेका छन् ।

सङ्घले सञ्चालन गरेको बुट क्याम्पबाट छनोट भएका अन्तिम १५ बाट छानिएका १३ मध्ये चार वटालाई निर्णायकले उत्कृष्ट ठहर गरेका हुन् ।

छनोट भएका उनीहरूले अब आइडिया स्टुडियो सिजन नौमा सिधा प्रवेश पाएका छन् ।

सङ्घले आह्वान गरेपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १० जिल्लाबाट ५२ आइडिया दर्ता भएको र क्याम्पमा सहभागी भइ अन्तिम १५ छनोट गरिएको जनाएको छ ।

विराट एक्स्पो स्थलमा दैनिक आयोजना भइरहेको थिमेटिक सेसनकै क्रममा आइडिया पिच गरेका मध्ये विष्णु पोखरेल, जीवन कुसवाहा, भिजन प्रताप खत्री र आयुष आचार्यले पिच गरेका आइडिया उत्कृष्ट ठहर गरिएका हुन् ।

उनीहरूको आइडियालाई उद्यमशीलता विकाससँगै व्यवसायमा रुपान्तरण गर्न सङ्घले समन्वकारी भूमिका निर्वाह गर्ने अध्यक्ष अनुपम राठीले बताए ।