तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने


काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु र कुहिरो रहनुका साथै बाँकी तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।