५ महिनामै भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स ‍

63
Shares


काठमाडौं । चालु आर्थिक वर्षका ५ महिनामै ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

शुक्रबार केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै मंसिरसम्म ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको जनाएको छ ।

जुन गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ३५.६ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ को पहिलो ५ महिनामा रेमिट्यान्स ४.७ प्रतिशतले मात्रै बढेको थियो । २०८२ मंसिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

२०८१ मंसिरमा १ खर्ब १८ अर्ब ७९ करोड मात्रै रेमिट्यान्स आएको थियो ।

चालु आर्थिक वर्षको मंसिरसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो । यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ४३ करोड थियो ।

रेमिट्यान्स निरन्तर बढे पनि चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । अघिल्लो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्च भए पनि गत आर्थिक वर्षमा केही घटेको हो ।

चालु आर्थिक वर्षको मंसिरसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ पुगेको छ ।

पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संख्या १ लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ३५ हजार ४२५ थियो ।