
काठमाडौं । जेनजी आन्दोलनबाट नेपालको भौतिक पूर्वाधारमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको ४.३० प्रतिशत क्षति भएको छ ।
भदौ २३ र २४ गते भएको उक्त आन्दोलनमा सरकारी, निजीसहितका सार्वजनिक सम्पत्तिमा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँको क्षति भएको सरकारी प्रतिवेदनले औंल्याएको छ ।
यो क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १.३८ प्रतिशत र चालु आर्थिक वर्षको बजेटको ४.३० प्रतिशत हो । कुल क्षति रकम मध्ये सरकारी र सार्वजनिक क्षेत्रमा ५३ प्रतिशत, निजी क्षेत्रमा ४० प्रतिशत र सामुदायिक तथा अन्य क्षेत्रमा ७ प्रतिशत अंश रहेको छ । जेनजी आन्दोलनबाट बागमती प्रदेश सबैभन्दा धेरै प्रभावित भएको छ ।
आन्दोलनको क्रममा कुल २,६७१ भवन क्षतिग्रस्त भएका छन्, जसमध्ये ७९.८ प्रतिशत सार्वजनिक भवन रहेका छन् । भवनमा ३९ अर्ब ३१ करोड ७५ लाख, सवारी साधनमा १२ अर्ब ९३ करोड ६१ लाख, अन्य भौतिक सम्पत्तिमा २० अर्ब ३६ करोड ४० लाख नगद तथा बहुमूल्य वस्तुमा २ अर्ब ८१ करोड ३४ लाख र बाँकी रकम ९ अर्ब २ करोड ६७ लाख रुपैयाँ अन्य अस्थायी सम्पत्ति तथा निजी सम्पत्तिमा क्षति भएको विवरण प्राप्त भएको छ ।
सार्वजनिक क्षेत्रमा कुल ४४ अर्ब ९३ करोड ७३ लाखको भौतिक क्षति भएको छ । यस मध्ये नेपाल सरकारले ६६ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत, स्थानीय तहले २१.८ प्रतिशत र सार्वजनिक संस्थानले २.२ प्रतिशत क्षति व्यहोरेका छन्।
सार्वजनिक क्षेत्रमा भएको कुल क्षति रकमको ४४.७ प्रतिशत भवनमा, २.६ प्रतिशत सवारी साधनमा २३.२ प्रतिशत अन्य भौतिक सम्पत्तिमा र २९.५ प्रतिशत अन्य अस्थायी तथा निजी सम्पत्तिमा रहेको देखिन्छ।
प्रदेशगत रुपमा हेर्दा कुल भौतिक क्षति रकमको सबैभन्दा धेरै क्षति रकम (६६.५ प्रतिशत) बाग्मती प्रदेशमा रहेको छ । भवनतर्फको कुल रकमको ७४% र सवारी साधनको कुल रकमको ५८% पनि बागमती प्रदेशमा नै रहेको देखिन्छ।
निजीक्षेत्रमा भएको कुल ३३ अर्व ५४ करोड ८७ लाख क्षति भएको छ । निजी क्षेत्र तर्फ निजी प्रतिष्ठान र घरपरिवारमा भएको क्षती समाबेश गरिएको छ । यस मध्ये निजी प्रतिष्ठानमा रू. २७ अर्ब ४९ करोड ३ लाख ( ८१.९ प्रतिशत), घरपरिवारमा रू. ६ अर्ब ५ करोड ८४ लाख (१८.१ प्रतिशत) क्षति भएको सरकारी प्रतिवेदनमा उल्लेख छ ।
सामुदायिक तथा अन्य क्षेत्रमा रू. ५ अर्ब ९७ करोड १७ लाख क्षति भएको छ। सामुदायिक तथा अन्य क्षेत्रतर्फ राजनीतिक दलका कार्यालय, सामुदा संघ संस्थाका संरचना तथा सम्पत्तिको क्षति समावेश गरिएको छ । समग्र भौतिक क्षति मध्ये सामुदायिक तथा अन्य क्षेत्रमा ७ प्रतिशत क्षति भएको देखिन्छ।

आन्दोलनको क्रममा उत्पन्न परिस्थितिका कारण वस्तु तथा सेवा उत्पादनमा रु. १३ अर्ब ८७ करोड ५६ लाखको नोक्सानी पुर्याएको देखिन्छ । रोजगारीतर्फ २,९९९ व्यक्तिको रोजगारीमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ, जसमध्ये २, ३५३ जनाले पूर्ण रूपमा रोजगारी गुमाएको देखिन्छ।
पुनर्निर्माण कार्ययोजना अनुसार सार्वजनिक क्षेत्रमा क्षति भएका भवनको पुनर्निर्माणरमर्मत र सवारी साधन तथा अन्य भौतिक वस्तुहरुको खरिद र मर्मतका लागि कुल ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
भवनको पुनर्निर्माणतर्फ १९ अर्ब ९८ करोड ९८ लाख, सवारी साधनको खरिदरमर्मततर्फ ६ अर्ब १६ करोड ८० लाख र अन्य भौतिक बस्तुका खरिद तथा मर्मतका लागि १० अर्ब १४ करोड ४२ लाख रुपैयाँ अनुमान गरिएको छ ।








प्रतिक्रिया