चुनावअघि विशेष महाधिवेशनको पक्षमा देउवा पक्षकै ३० केन्द्रीय सदस्य, गरे अपिल

1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी आम निर्वाचनअघि नै पार्टीको नेतृत्व परिवर्तन र रूपान्तरणको बहस चर्किएको छ ।

पार्टी सभापति शेरबहादुर देउवानिकट मानिने ३० जना केन्द्रीय सदस्यहरूले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि नै विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएर नेतृत्वलाई संवादका लागि अपिल गरेका छन् ।

शनिबार बेग्लै भेला गर्दै देउवा पक्षीय नेताहरूले पार्टीलाई निर्वाचनमा जनताको विश्वसनीय र भरोसायोग्य बनाउन ‘विशेष महाधिवेशन’ पक्षधरसँग तत्काल संवाद थाल्न आग्रह गरेका हुन् । यसअघि नै महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै पार्टीमा लिखित निवेदन दर्ता गराइसकेका छन् ।

संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले भनेका छन्, ‘महाधिवेशन प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ होमिन संवाद र सहमति आवश्यक छ । बृहत् एकताका साथ कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न हामी नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं ।’

यसरी अपिल गर्नेहरूमा राजेन्द्र केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, र धना खतिवडा रहेका छन् ।

त्यस्तै अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की र चीनकाजी श्रेष्ठलगायतका नेताहरू पनि निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने पक्षमा देखिएका हुन् ।

यी नेताहरूले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि यसअघि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर ध्यानाकर्षण समेत गराइसकेका छन् ।

कांग्रेसमा संस्थापन पक्षको एउटा तप्काको असन्तुष्टिबीच महामन्त्रीहरूको आह्वानमा आगामी पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी भइरहेको छ । सोही सन्दर्भमा आज बानेश्वरमा भेला भएका देउवा पक्षका यी सदस्यहरूले परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ दृष्टिकोणका साथ निर्वाचनमा जानुको विकल्प नभएको निष्कर्ष निकालेका छन् ।

सभापति देउवा पक्षकै अन्य केही केन्द्रीय सदस्यहरूले भने चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन्, जसका कारण संस्थापन पक्षभित्रै पनि दुई धार स्पष्ट देखिएको छ ।